धनकुटा / सुख्खा मौसम लागेसँगै आगलागी र डढेलोको घट्नामा वृद्धि हुने गरेका छन् । यो मौसममा बढी आगलागी र डढेलोको घट्ना बृद्धि हुँदा पनि सम्बन्धित पक्षबाट न्यूनिकरणमा खासै ध्यान दिएको पाइदैन
२०७९ सालको फागुन र चैत्र महिनामामात्र धनकुटाको महालक्ष्मी नगरपालिकामा १० वटा घरमा आगलागी भयो । आगलागीको कारण थियो वनजंगलमा लागेको डँढेलोलाई नियन्त्रण गर्न नसक्नु । वन जंगलमा लागेको डढेलो बस्तीसम्म पुग्दा महालक्ष्मी नगरपालिमामा मात्रै यतिका संख्यामा आगलागी हुन पुगेको हो ।
महालक्ष्मी नगरपालिकामा प्रमुख धु्रवराज रायले यो बर्षमा मात्रै डढेलोको कारणले १० वटा घर नष्ट भइसकेको बताए । महालक्ष्मी नगरपालिकाको २ नं.वडामा ४ वटा, चानुवामा १ वटा र महालक्ष्मी नगरपालिका वडा नं. ६ र ७ मा गरेर जम्मा १० वटा घर डढेलोको चपेटामा परेर नष्ट भइसकेको उनले बताए ।
उनले भने–‘यसलाई न्यूनिकरण गर्न हामीले अग्नी रेखा, जनचेतनामूलक जगाउने, घर छेउछाउमा सरसफाइ राख्ने भन्ने खालका जनचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएका छौ, यसले न्यूनिकरणमा केही सहयोग पु¥याउँछ भन्ने हामीलाई लागेको छ ।’
आर्थिक बर्ष ०७९/०८० मा धनकुटामा करिब ६० वटा आगलागीका घट्नाहरु भएका छन् । यसमध्ये २४ वटा डढेलोको छन् । डढेलोको कारण धेरै बस्तीहरु आगलागीको जोखिममा रहेको महालक्ष्मी नगरपालिका वडा नं. २ चानुवाका रत्न चापागाई बताउँछन्, । उनले भने–‘जति पनि घरमा आगलागी भएका छन् यसको अधिकांश कारण डँढेलो भएको छ, डँढेलो नियन्त्रण गर्न सकेमात्र आगलागीका घट्ना न्यूनिकरण भएर जान्छ ।’
जिल्ला विपत्त प्रतिकार्य योजनामा उल्लेख गरिए अनुसार जिल्लाका सात वटै स्थानीय तह डढेलो र आगलागीको उच्च जोखिममा रहेका छन् । डढेलो नियन्त्रामा विभिन्न स्थानीय समुदायसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन हुने गरेका छन् ।
तर एक पटक शुरु भएको डढेलोले पटक पटक दोहोरिने गरेका कारण समस्या हुने गरेको छ । डढलो लागि हाले बस्ती जोगाउन पहिलो प्राथमिकतामा पर्ने गरेको गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी थनेश्वर.गौतम बताउँछन् ।
डढेलो नियन्त्रणका लागि स्थानीय तह र स्थानीय बासिन्दा नै सचेत भए घट्नामा न्यूकिरण आउने प्रजिअ गौतम बताउँछन् । उनले भने–‘डढलो तथा आगलागीका घट्ना न्यूनिकरणको भूमिका खेल्ने पहिलो त स्थानीय तह र समुदाय नै हो, स्थानीय तहले पनि पूर्व तयारी थाल्नु आवश्यक छ,
जनचेतना फैल्याउने, नागरिकलाई सचेत गराउने, जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विपत व्यवस्थापन समिति छ, तयारी अवस्थामा रहनु प¥यो, सुरक्षा निकायहरु त जुनसुकै समयमा तयारी अवस्थामा रहनु प¥यो, यति भयो भने न्यूनिकरणमा सहयोग पुग्छ ।’
जिल्ला दैवी प्रकोप समितिका अनुसार ३ सय ८७ सामुदायिक वनमध्ये एक सय सामुदायिक वन डढेलोको जोखिममा रहेका छन् । डढेलो जानी जानी लगाउने र अन्जानमा लाग्ने गरेको पाइएको छ । बालबालिका खेल्दा सलाइले आगो लगाउने, चुरोट खाएर ठुटो नभिवाई फाल्दा अञ्जानमा आगलागी हुने गरेको छ
भने घाँसका लागि झाँडी फाड्न तथा रिसिइवीका कारणले पनि जथाभावि डढेला लगाउन गर्दा घट्ना बढेको सर्वसाधारण बताउँछन् । घाम दाउराको कम प्रयोग, वनलाई उद्यामसँग जोड्न नसक्नु, पुरानो तथा बुढा रुख दाउरा विक्री गर्न नसक्दा पनि डढेलोको जोखिम बढेको सर्वसाधारण बताउँछन् ।
सामुदायिक वन महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले सामुदायिक वनहरुको झाडीहरु समय समयमा सफा गर्ने त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने–‘सामुदायिक वनहरु डढेलो न्यूनिकरणमा गम्भीर हुन आवश्यक छ भने स्थानीय सरकारले पनि जनचेतनामूलक कार्यक्रमलाई अगाडि बढाउनुपर्छ ।’ उनले सामुदायिक वनहरुले ढलापला रुखहरुको सहज रुपमा निकास गर्न राज्यबाट व्यवस्थापन व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने–‘ढलापडा र सुखेका रुखका डढेलोको जोखिम बढेको हो, यसको निकासका लागि राज्यले व्यवस्थापन गर्ने नीति बनाउनुपर्छ ।’