नेपालको शैक्षिक परम्पराको इतिहासमा पहिलो गुरुकुल मटिहानी स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयलाई लिइन्छ । उक्त गुरुकुल रामलाल दास (तस्मैया बाबा) ले १७५१ मा अनौपचारिक रुपमा प्रारम्भ गरे । त्यसपछि तस्मैया बाबाले आफ्ना शिष्य जयकृष्ण दासलाई शिक्षकका रुपमा राखी १७७५ मा औपचारिक रुपमा संस्कृत अध्ययन अध्यापन हुने गुरुकुलका रुपमा स्थापना गरिएको पाइन्छ

साधारण संस्कृत विद्यालयका  समस्या र समाधान

                   – महेश्वर कोइराला (चन्द्र संंस्कृत मा.वि., धरान)

परिचय

“सम्” उपसर्ग’ कृ’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘संस्कृत’ शब्दको अर्थ सभ्य वा सुसंस्कृत मानवजीवनको परिष्कृत स्वरूप हो । संस्कृत भाषाका प्रत्येक आयाममा जीवनको परिष्कृत रुप देखापर्छ । भाषा मानव जीवनको अभिन्न अङ्ग हो । भाषाको इतिहास मानव सभ्यताको विकास कालदेखि नै देखापर्छ । संसारमा भाषाका स्वरुप धेरै छन् । संस्कृत भाषा विश्व कै सबैभन्दा पुरानो भाषा हो । संस्कृत भाषाबाट नै विश्वका धेरै भाषाहरू प्रभावित छन् भने कतिपय भाषाहरू संस्कृतबाट नै तत्सम तद्भव शब्दका रूपमा विकसित भएका छन । संस्कृत भाषामा नै वेद, उपनिषद रामायण, पुराण, धर्मशास्त्र र महाभारत आदि जस्ता विश्वमा नै चर्चित र मूल्यवान ग्रन्थहरू प्रकाशित छन् । अथाह ज्ञान, विज्ञान, चेतना, बुद्धि, प्रबिधि र विवेकको स्रोत बोकेको संस्कृत आर्यजातिले सर्वप्रथम प्रयोग गरेको हुँदा यसलाई आर्य भाषा पनि भनिएको हो । संस्कृत वाङ्मयहरुमा पनि यसका वक्ताहरुलाई आर्य भनेर सम्बोधन गरिएको पाइन्छ । संस्कृत भाषामा पाइने अथाह ज्ञान अन्य भाषामा पाइँदैन । यस्तो महत्त्व र गरिमा बोकेको भाषा वर्तमान परिप्रेक्ष्यमा बोलचालमा कम प्रचलित रहेको देखिन्छ  ।

वर्तमान मान्छे बढी अङ्ग्रेजी भाषाप्रति आकर्षित बनेको र सूचना, सञ्चार र प्रबिधिमा पनि अङ्ग्रेजी भाषाको विश्वव्यापी प्रभाव परेको हुँदा यो भाषाप्रतिको दृष्टिकोणमा सकारात्मक सोच हुन सकेको छैन । संस्कृत भाषायुक्त ग्रन्थहरूमा सामाजिक, आर्थिक, धार्मिक, आध्यात्मिक, सास्कृतिक, व्यवहारिक, राजनीतिक, नैतिक, चारित्रिक, वैज्ञानिक, प्राविधिक, शैक्षिक आदि सबै कुराको विषयगत ज्ञान प्राप्त हुन्छ । संस्कृत भाषाको महत्त्व बुझेर संसारका विकसित मुलुकका विश्वविद्यालयहरूमा संस्कृत विषयलाई पनि पठनपाठनका रुपमा समावेश गरेको पाइन्छ  (रामचन्द्र दाहाल ) । वर्तमान परिप्रेक्ष्यमा संस्कृत भाषाको महत्व नबुभ्mने व्यक्तिहरूले अङ्ग्रेजी भाषाको प्रभावमा परेर संस्कृत भाषाप्रति अनास्था जगाएका छन् । संस्कृतलाई ज्ञानको स्रोतभाषाका रूपमा नलिएर कर्मकाण्डीय भाषाका रूपमा व्याख्या गर्ने मानिसको सङ्ख्या पनि कम छैन । वास्तवमा कर्मकाण्डीय भाषा मात्र नभएर अथाह ज्ञान, विज्ञान, प्रविधिको विशिष्ट भाषा हो संस्कृत ।

2 sanskrit

संस्कृत विद्यालयको सङ्क्षिप्त ऐतिहासिक सर्वेक्षण

नेपालको शैक्षिक परम्पराको इतिहासमा पहिलो गुरुकुल मटिहानी स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयलाई लिइन्छ । उक्त गुरुकुल रामलाल दास (तस्मैया बाबा) ले १७५१ मा अनौपचारिक रुपमा प्रारम्भ गरे । त्यसपछि तस्मैया बाबाले आफ्ना शिष्य जयकृष्ण दासलाई शिक्षकका रुपमा राखी १७७५ मा औपचारिक रुपमा संस्कृत अध्ययन अध्यापन हुने गुरुकुलका रुपमा स्थापना गरिएको पाइन्छ ( इश्वरी पौडेल) नेपालमा आधुनिक शिक्षाको प्रारम्भ वि सं. १९१० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले गरेका थिए । उनलाई परम्परागत शिक्षाप्रति पनि त्यति चासो थिएन । नेपालको औपचारिक संस्कृत पाठशालाका सन्दर्भमा जङ्गबहादरर राणाकै समयमा चारजना गुरु र सन्ताउन्न जना संस्कृतका विद्यार्थीहरु भएको नारायणहिटी पाठशाला सम्बत् १९२७ मा चलिरहेको थियो भन्ने जानकारी परराष्ट्र मन्त्रालयका अप्रकाशित कागजपत्रबाट फेला पारेको कुरा उल्लेख पाइन्छ  (बराल, २०७७ ः३ ) । जङ्गबहादुर राणाले अङ्ग्रेजी शिक्षाको प्रारम्भ गरे पनि परम्परागत धर्मकर्मप्रतिको रुचिका कारण केही  स्थानमा नित्यपुजा, सिधा, धुनी  सञ्चालन, सन्यासी, जोगी, कनफट्टा आदिलाई सिधाका लागि पूर्वी पहाडका धनकुटा भोजपुर ,सुनसरीको धरान, चतरा आदिमा गुठी खेतको व्यवस्था गरिदिएका थिए  (बराल, २०७७ ः३ ) । त्यसैगरी, जनरल जीतजङ्ले आर्यघाटदेखि दक्षिण राजेश्वरी घाटमा १९३१ मा आफ्नै नीजि खर्चमा संस्कृत पाठशाला सुरु गरी पठनपाठन प्रारम्भ गरेको पाइन्छ । (बराल, २०७७ ः३ ) ।  १९३२ मा बालागुरु षडानन्दले भोजपुरको दिङ्लामा गुरुकुलको स्थापना गरी अध्यापन गरेको पाइन्छ । त्यसै गरी इलामको करफोकमा १९६२ मा स्वामी सोमेश्वरानन्दले संस्कृत शिक्षाको शुरुआत गर्नु भएको देखिन्छ (वैद्य, २०७६ः ८५) । त्यसपछि तीनधारा संस्कृृत पाठशाला लगायत विभिन्न गुरुकुलहरुको स्थापना नेपालमा भएको पाइन्छ । यसरी विभिन्न शिक्षाप्रेमी, योगी, दिग्गज महानुभावहरुले विभिन्न समयमा विभिन्न स्थानमा गुरुकुलहरुको स्थापना गरेर शिक्षा प्रदान गर्ने गरेको पाइन्छ ।

२०२८ सालमा नयाँ शिक्षा लगु भएपछि यसरी खेलिएका गुरुकुलहरु पनि कक्षागत स्तर उन्नति हुँदै गए र वर्तमानमा  गुरुकुल र साधारण संस्कृत गरी संस्कृतमा दुई धारका विद्यालयहरु देखा परे । हाल नेपालमा गुरुकुल र साधारण मा. वि. गरी करिब १०० भन्दा माथि संस्कृत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

सीमाङ्कन

विद्यालय त्यो स्थल हो जहाँ दैनिक पठनपाठनका अतिरिक्त सहपाठी सिकाइ , अतिरिक्त क्रियाकलाप , खेलकुद, नाचगान मार्फत बालबालिकाई अधिकतम ज्ञान प्रदान गर्ने गरिन्छ । यसमा धेरै तहका विद्यालयहरु पर्दछन् । संरचनागत दृष्टिले विद्यालयलाई पूर्व प्राथमिक, आधारभूत र माध्यमिक गरी तीन तहमा विभाजन गरिएको छ । यस्ता विद्यालयहरुलाई पनि परम्परागत शिक्षा, साधारण र प्रविधिक धार गरी तीन धारमा वर्गीकरण गरिएको छ । यस्ता विद्यालयहरुमध्ये परम्परागत र साधारण दुवै धारभित्र संस्कृत विद्यालय रहेको पाइन्छ । गुरुकुलीय प्रणालीमा रहेका संस्कृत अध्ययन हुने विद्यालय र साधारण धारभित्र समाहित भएर संस्कृत विषयलाई ऐच्छिक राखेर अध्यापन गराउने विद्यालय गरी संस्कृत भित्र पनि दुई धार देखिन्छ । यस आलेखमा कोशी प्रदेशमा सञ्चालित साधारण धारभित्र रहेर संस्कृत विषय अध्यापन गराइरहेका विद्यालयमा देखिएका समस्याहरुमा आधारित भएर अध्ययन गरिएको छ ।

4 sanskrit

कोशी प्रदेशभित्रका संस्कृत मा.वि.हरुको विवरण ः


क्र.सं.         विद्यालयको नाम                                 ठेगाना                              हालको अवस्था

        बा.सु सं.मा.वि.                         फुङ्लिङ–३, ताप्लेजुङ                  १.   २०५९ बाट साधारण धार र प्राविधिक धारमा सञ्चालित (विद्यार्थी र जनशक्तिको अभाव तर अभिभावकको सोच सञ्चालन गर्ने)

                                                                                                                                            २. संस्कृत दरबन्दी ढड्डामा कायमै रहेको ।

    माइ पोखरी सं.मा.वि.                     माइमझुवा, इलाम                                     हाल साधारणमा परिवर्तन

अर्जुन धारा सं.मा.वि.                 अर्जुनधारा न.पा., झापा                                         हाल जर्जर अवस्थामा सञ्चालित (२ सं दरवन्दी)

पशुपति सं.मा.वि.                 दमक, झापा                                                                 हाल साधारण धारमा परिवर्तन

गायत्री सं.मा.वि.                     विराटनगर, मोरङ                                                     हाल सङ्कट अवस्थामा सञ्चालन

राम सं.मा.वि.                             आठराई–१, तेह्रथुम                                             २०६२ पछि साधारण धारमा परिवर्तन

विद्योदय सं.मा.वि.                     खाँदबारी–६, संखुवासभा                                 २०५९ बाट साधारण धारमा परिवर्तन (हाल विद्यार्थीको अभाव, शिक्षक व्यवस्थापनको आश्वासन)

षडानन्द सं.मा.वि.                     दिङ्ला, भोजपुर                                                     हाल साधारणबाट पुनः गुरुकुल सुरु

चन्द्र सं.मा.वि.                             धरान–१६, सुनसरी                                                         हाल संस्कृत धार नै सञ्चालित

१० वि.पि.सं.मा.वि.                     सल्यान, सोलुखुम्बु                                                             हाल संस्कृत धार नै सञ्चालित  .(३ संस्कृत दरवन्दी)

११ पिण्डेश्वर संस्कृत मा. वि             धरान                                                                                 संस्कृत धारमा सञ्चालित

स्रोत  सम्बन्धित विद्यालयका प्र.अ.सँगको सम्पर्क


संस्कृत मा.वि.हरुले भोग्नु परेका समस्याहरु ः

भौतिक समस्या

कोशी प्रदेशभित्र रहेका सम्पूर्ण संस्कृत विद्यालयहरुमा भौतिक समस्या रहेको देखिन्छ । संस्कृत विद्यालयभित्र पनि गुरुकुलीय पद्धतिमा चलेका विद्यालय र साधारण धारमा समाहित भएर त्यसमा ऐच्छिक विषय संस्कृत राखी पठनपाठन भइरहेका विद्यालय गरी दुई धारका विद्यालय देखिन्छन् । गुरुकुलीय परम्परामा सञ्चालित विद्यालयहरुमा दाताको खोजी गरी शिक्षण भवन, प्रशासनिक भवन निर्माण गरेको देखिन्छ भने साधारण धारका विद्यालये दाताको हात प्राप्त गरेको छैन ।  भौतिक संरचना निर्माण गर्नका लागि शिक्षा समन्वय एकाइ वा स्थानीय तहबाट प्राप्त गर्नुपर्ने रकममा पनि विद्यार्थी सङ्ख्याको मापदण्ड लगाइएको छ । संस्कृत विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै हुने भएकाले त्यो रकम पनि प्राप्त गर्न सक्ने स्थिति नरहेकाले साधारण धारका विद्यालयहरुले भौतिक संरचना निर्माणमा कठिनाइ भोग्नु परेको छ (ताराकुमार राई) । विद्यालय स्थापनाकालमा निर्मााण भएका पुराना एवम् जीर्ण अवस्थामा रहेका संरचनामा नै विद्यालय सञ्चालन भइरहेको छ । वर्तमान परिप्रेक्षमा विद्यार्थी आकर्षणको केन्द्रविन्दु भौतिक संरचना बनेको छ । निजी स्कुलका ठुलाठुला र सुविधा सम्पन्न भौतिक संरचनाको विज्ञापनले विद्यार्थीलाई आकर्षित तुल्याएको देखिन्छ ।

नीतिगत समस्या 

संस्कृत विद्यालयहरुमा नीतिगत, योजनागत, कार्यक्रमगत स्पष्टता ल्याउनुपर्ने देखिन्छ । साधारण धारभित्र चलेका संस्कृत माध्यमिक विद्यालय सञ्चालनका लागि राष्ट्रिय स्तरको नीति नै अस्पष्ट बनेको छ । विषयगत संयोजन, पाठ्यक्रम तर्जुमा, निर्माण र कार्यान्वयनजस्ता विषयमा नीतिगत अस्पष्टता झल्किएको छ । त्यसैगरी विद्यालय सञ्चालनका क्रममा गरिने योजना निर्माणका सन्दर्भमा पनि यस्ता विद्यालयमा समस्या उत्पन्न भएको देखिन्छ ।

व्यवस्थापनगत समस्या 

नेपाल सरकारको शिक्षा नीतिअनुसार स्थापित सामुदायिक विद्यालयलाई सरकारी खर्च प्रदान गरी शिक्षकहरु व्यवस्थापन गरिसकेको अवस्था छ । साथै शिक्षा नियमावलीअनुरुप नै विद्यालय व्यवस्थापन समितिको गठन समेत हुने गरेको छ । तर यसरी गठित व्यवस्थापन समितिले विद्यालयको आर्थिक भौतिक एवम् शैक्षिक व्यवस्थापनमा उपयुक्त ढङ्गले चासो दिन नसक्दा व्यवस्थापनगत समस्या निम्तिएको छ । साथै प्रधानाध्यापक  छनौट गर्ने क्रममा प्रअलाई कार्यसम्पादन सम्झौता नगराई छनौट गर्नु तथा प्रअले शिक्षक कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता नगर्नुले पनि विद्यालय व्यवस्थानमा जटिलता आएको देखिन्छ ।  शिक्षक तथा अभिभावक दुवैमा संस्कृत विषयप्रतिको चासो नहुनु, संस्कृतका विषयगत दरवन्दीहरु साधारणमा परिवर्तन गर्नु  अङ्ग्रेजी शिक्षाको व्यापक प्रभाव बढ्दै जनु एवम् कतिपय संस्कृत विद्यालयमा विषयगत प्रअ नहुनु र प्रअले संस्कृतको मर्म नबुझ्नु जस्ता कुराले पनि व्यवस्थापनमा समस्या निम्त्याएको छ ।(रामचन्द्र दाहाल)

1 sanskrit

पाठ्यपुस्तकगत समस्या

विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने एउटा महत्वपूर्ण साधन पाठ्यपुस्तक हो । पाठ्यक्रम प्रारुपमा भएको व्यवस्थाअनुरुप अहिले विद्यालय तहको कक्षा १ देखि कक्षा १२ सम्मको पाठ्यक्रममा परिवर्तन गरिएको छ । यस सन्दर्भमाा आधुनिक विषयका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरी विद्यालय विद्यालयमा पु¥याइसकिएको छ । तर संस्कृत विद्यालयमा पठनपाठन हुने संस्कृत भाषा, व्याकरण, कर्मकाण्ड, साहित्य, वेद, ज्योतिषजस्ता विषयको पाठ्यक्रम मात्र बनेको छ । पाठ्यक्रमले तोकेका सागम्रीहरु सहजै उपलब्ध हुन सक्तैनन, प्राचीन सामग्रीको प्रयोग गरेर शिक्षण गर्नुपर्ने बाध्यता रहेको छ । साथै पाठ्यत्रमले तोकेको उद्देश्य पूर्ति गर्नका लागि पाठ्यक्रममा नै  सन्दर्भ सामग्रीको उल्लेख हुनुपर्नेमा यस्तो व्यवस्था देखिदैन । यता प्राचीन सामग्रीहरु जटील हुने भएकाले संस्कृत शिक्षालाई विस्थापित गर्ने घुमाउरो बाटो जस्तो देखिन्छ ।  कक्षा ९मा गतसालदेखि नै नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएको छ भने शैक्षिक सत्र २०८० बाट कक्षा १० मा पनि नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएको छ । तर ९र १० मा पठन पाठन हुने  संस्कृत सम्बद्ध विषयका  पाठ्यपुस्तक भने प्रकाशित भएका छैनन् । त्यसकारण संस्कृत विषय पठनपाठनमा समस्या उत्पन्न भएको छ ।(गोविन्दप्रसाद निरौला)

पाठ्यक्रम निर्माणमा देखिएका समस्या 

साधारण धारमा चलेका संस्कृत विद्यालयका लागि निर्माण गरिने पाठ्यक्रममा नै समस्या देखिएको छ । आधुनिक विषयसँग अन्तर्सम्बन्धित गराएर यस्ता विद्यालयले संस्कृत चलाउनुपर्ने बाध्यता रहेको छ । पाठ्यक्रम गुरुकुलीय धारलाई प्रश्रय दिएर निर्माण भएको देखिन्छ । अनिवार्य विषयअन्तर्गत पर्ने सामाजिक जस्तो महत्वपूर्ण विषय संस्कृत विद्यालयले हटाउनु पर्ने बाध्यात्मक स्थितिको सिर्जना भएको छ भने अर्कातिर साधारण धारका विद्यार्थीको योग्यता र क्षमतालाई मध्यनजर नगरी पाठ्यक्रम निर्माण गरिएको छ । कक्षा ११ र १२ को पाठ्यक्रम विश्वविद्यालयको शाास्त्री तहको पाठ्यक्रमसँग अन्तर्सम्बन्धित हुनुपर्नेमा त्यस्तो भएको देखिदैन ।

शिक्षक दरबन्दी सम्बन्धी समस्या 

विषय शिक्षणका निम्ति शिक्षकको जरुरत हुन्छ । कोशी प्रदेशमा सञ्चालित संस्कृत विद्यालयहरुमा संस्कृत विषयका शिक्षकको दरबन्दी अभाव रहेको छ । अर्जुनधारा संस्कृत आदर्श मा. वि.का शिक्षक हरिनारायण खतिवडाका अनुसार  गुरुकुलीय पद्धतिमा चलेका विद्यालयहरुले आफ्नै आन्तरिक स्रोत परिचालन गरी शिक्षक व्यवस्थापन गरेको छ भने साधारण धारका संस्कृत विद्यालयहरुले विषयगत शिक्षकको अभावमा चलिरहेका विषयमध्ये कुनै विषय हटाएर उपलब्ध जनशक्तिका आधारमा मात्र शिक्षण गरिरहेको छ । वि. सं २०६२ मा मन्त्री परिषदको निर्णयले नेपाल सरकारलाई थप व्ययभार नपर्ने गरी साधारण धारका संस्कृत विषयहरु पठनपाठन गर्ने अनुमति दिइएको पाइन्छ । बाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयमा रहेको संस्कृत विषयको दरवन्दी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइको ढड्डामा हालसम्म पनि कायमै रहेको तर राजनैतिक स्वार्थ पूर्तिका निम्ति व्यववहारिक रुपमा उक्त दरवन्दीमा साधारण धारका आधुनिक विषयका शिक्षक सरुवा पदस्थापन गरी संस्कृत विषय पठन पाठनमा अवरोध सिर्जना गरिएको छ  (रामचन्द्र दाहाल¬)

संरक्षणसम्बन्धी समस्या 

वर्तमान मान्छे बढी अङ्ग्रेजी भाषाप्रति आकर्षित बनेको र सूचना, सञ्चार र प्रविधिमा पनि अङ्ग्रेजी भाषाको विश्वव्यापी प्रभाव परेको हुँदा संस्कृत भाषाप्रतिको दृष्टिकोणमा सकारात्मक सोच आउन सकेको छैन । वर्तमान परिप्रेक्ष्यमा संस्कृत भाषाको महत्त्व बुझाउन नसकिएका कारण अङ्ग्रेजी भाषाका प्रभावमा परेर संस्कृत भाषाप्रति अनास्था जागेको छ  । यसलाई केवल कर्मकाण्डीय भाषाका रुपमा व्याख्या गर्ने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ । यसको संरक्षण र संवर्धनमा कसैको ध्यान नहुनु , विश्वविद्यालयले संस्कृत भाषाको संरक्षणका निम्ति साधारण संस्कृत र वेद  विद्याश्रमसँग समन्वय नगर्नु , संस्कृतका विद्वान्हरु पलायन हुनु, एवम् यही रहेकाहरु पनि मौन रुपमा रहनुले यसको संरक्षणमा सङ्कट आएको देखिन्छ ।

विद्यार्थी नपाउने समस्या

प्रत्येक वर्ष शैक्षिक सत्रको अन्त्यतिर प्रत्येक सामुदायिक विद्यालयले भर्ना अभियानका रणनीति र त्यससँग सम्बन्धित योजनाहरु निर्माण गरी अगाडि बढिरहेको देखिन्छ । यस प्रकारको भर्ना अभियानमा घरदैलो कार्यक्रम, अभिभावक भेटघाट अन्तक्र्रिया तथा छलफल आदि चलिरहेको पाइन्छ  तर प्रत्येक वर्ष हुने यस्ता अभियान र कार्यक्रम संस्कृत विद्यालयहरुमा विद्यार्थी आकर्षण बढाउन सफल भइरहेको छैन । वर्तमान अभिभावकहरु अङ्ग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयतर्फ लम्किरहेका छन् । अझ भनौँ अङ्ग्रेजी माध्यम नै गुणस्तर मापनको मूल आधारका रुपमा स्थापित भइरहेको छ । जसका कारण संस्कृत विद्यालयहरु हेपाइमा परेका छन् । अथवा संस्कृत विद्यालयहरुले विद्यार्थी पाइरहेका छैनन् । कोशी प्रदेशका सन्दर्भमा हेर्दा संस्कृत विद्यालयहरु सहरी क्षेत्रमा रहेका छन् । सहरका विद्यालर्थीहरु महङ्गो विद्यालयमा गएका छन् । वर्तमानमा संस्कृत शिक्षा गरिबले आर्जन गर्ने शिक्षाका रुपमा परिभाषित नै  भइसकेको छ । यस्ता विद्यालयमा आइपुग्ने विद्यार्थी अर्थिक सङ्कट व्यहोरिरहेका परिवारका छन् । त्यसकारण संस्कृत विद्यालयहरुले विद्यार्थी प्राप्त गर्न सकेका छैनन । समन्वय एकाइले संस्कृत दरवन्दीको व्यवस्थापन गर्ने आश्वासन दिए पनि विद्यार्थी अभावका कारण सञ्चालन गर्न सकिएको छैन (रामबहादुर भण्डारी) ।

शिक्षक निर्देशिकाको अभाव

शिक्षक निर्देशिका भनेको कुन विषयको कुन एकाइ कसरी अध्यापन गराउन सकिन्छ भनेर शिक्षकलाई मार्गदर्शन गर्ने सामग्री हो । यसको सहायता लिएर शिक्षकले प्रभावकारी शिक्षण गर्न सक्तछ । नेपालका सन्दर्भमा आधुनिक विषयका लागि पाठ्यक्रमा विकास केन्द्रले शिक्षक निर्देशिका तयार पारको छ भने संस्कृका कुनै पनि विषयको शिक्षका निर्देशिका वर्तमानसम्म प्रकाशित भएको पाइँदैन । त्यसैले परम्परागत घोकन्ते शैलीमै संस्कृतका विषयहरु अध्यापन भइरहेका छन् ।

शिक्षकको पेसागत तालिमसम्बन्धी समस्या

शिक्षा तथा मानवस्रोत विकास केन्द्र अन्तर्गतको शैक्षिक जनशक्ति विकास महाशाखा अन्तर्गतका विभिन्न  शैक्षिक तालिम केन्द्रको व्यवस्थापनमा विद्यालयमा पठनपाठन हुने विभिन्न विषयहरुको शिक्षकको पेसागत विकासतालिम सञ्चालन गरिरहेको छ । यस तालिममा शिक्षकलाई विषयगत रुपमा विज्ञ बोलाइ शिक्षकलाई तालिम दिइन्छ । तर संस्कृतका विषयहरु अध्यापन गराउने शिक्षकहरुलाई वर्तमानसम्म कुनै पनि तालिमको व्यवस्था गरिएको छैन । संस्कृत अध्यापन गर्ने शिक्षकहरु सेवामा प्रवेश गरेपछि  सेवाकालीन तालिम समेत नलिइकन अवकास हुने अवस्थमा पुगेका छन् । जसका कारण शिक्षकहरु शिक्षणका नवीनतम ढाँचा एवम् पद्धतिबाट वञ्चित भएका छन् । फलस्वरुप संस्कृत विषयका शिक्षकहरुले पुरानै ढाँचा र पद्धतिको अवलम्बन गरी शिक्षण गरिरहेको अवस्था  रहेको छ । पेसागत विकास तालिमको अभाव हुनु संस्कृत विद्यालयका लागि जटील समस्या हो ।

आवाससम्बन्धी समस्या

कोशी प्रदेशमा सञ्चालित सम्पूर्ण संस्कृत माध्यमिक विद्यालयहरुको विकास गुरुकुलीय पृष्ठभूमिबाट भएको पाइन्छ । गुरुकुलहरुमा विद्यार्थीका निम्ति आवासको व्यवस्था गरिएको हुन्छ । सोही प्रणाली अनुरुप यस प्रदेशमा सञ्चालित विद्यालयहरुले सीमित रुपमा आवासको व्यवस्था गरेको पाइन्छ । संस्कृत विद्यालयले स्थानीय विद्यार्थी कमै मात्रामा प्राप्त गरेको छ । कोसी प्रदेशमा सञ्चालित विद्यालयहरुमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका र भारतका दार्जिलिङ, सिक्किम सम्मका विद्यार्थीहरु अध्ययन गर्न आएका छन् । स्थानीय तहभन्दा टाढाका विद्यार्थीहरु भएका हुनाले उनीहरुलाई आवासको व्यवस्था गर्नु अपरिहार्य रहेको छ । वर्तमानमा विद्यालयको मौजुदा अवस्थामा रहेका आवासहरु पर्याप्त छैनन् ।  साथै यस्ता आवासहरु अत्यन्त जीर्ण अवस्थामा पुगिसकेका छन् । आधुनिक तवरको आवासको अभावमा विद्यालयले विद्यार्थी व्यवस्थापन गर्न सकिरहेको छैन (सूर्यकुमार अधिकारी ) । त्यसैले छात्रावासको व्यवस्थापन गर्न नसक्नु पनि संस्कृत विद्यालयको समस्याका रुपमा रहेको छ । सोलुखुम्बुमा रहेको वि. पि. संस्कृत माध्यमिक विद्यालयमा आवासकै अभावका कारण समस्या परेको छ । नजिकै रहेको गुरुकलको आवास प्रयोग गनुर््पर्ने बाध्यता रहेको छ  (प्र. अ. उमाकान्त काफ्ले )।

समाधानका उपायहरु

साधारण धरभित्र सञ्चालन भएका संस्कृत माध्यमिक विद्यालयहरुमा देखिएका उपर्युक्त समस्याहरुको समाधान गर्नका लगि निम्नानसारका क्रियाकलापहरु गर्नुपर्ने देखिन्छ ।

क) संस्कृत विद्यालयको स्वरुप र त्यसको महत्त्वका विषयमा  स्थानीय सरकार एवम् शिक्षा समन्वय इकाइलाई जानकारी गराउने

ख)भौतिक संरचना अन्तर्गतका शैक्षिक र प्रशासनिक भवन निर्माण गर्नका लगि स्थानीय सरकार, समन्वय इकाइ तथा मन्त्रालय एवम् सरोकारवाला निकायसँग  पहल गर्ने

ग) साधारण धारभित्र सञ्चालन भएका संस्कृत माध्यमिक विद्यालयहरुमा आधुनिक विषयका साथमा संस्कृत विषय पठनपाठन गर्नै नीतिगत व्यवस्था मिलाउनका लागि शिक्षा मन्त्रालय एवम् पाठ्यक्रम विकासकेन्द्रसँग समन्वय गर्नुपर्ने

घ) नीतिगत ,योजनागत, कार्यक्रमगत स्पष्टता ल्याउनुपर्ने

ङ) विद्यालय विकासमा सरकारी तथा गैह्र सरकारी संस्थाको निरन्तर संलग्नताको खोजी गरिनु पर्ने

च) विद्यालयको दूरदृष्टि निर्माण गर्नुपर्ने

छ) माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको स्तर र क्षमतालाई मध्यनजर गरी पाठ्यक्रम निर्माण गर्न सम्बन्धित निकायमा पहल गर्नुपर्ने

ज) विषयगत शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्ने, यसका लागि सम्बन्धित निकायमा समन्वय गर्नुपर्ने

ञ) संस्कृत विषयको संरक्षणका निम्ति स्थानीय समाज र राष्ट्रिय स्तरमा नै जनचेनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने

ट) संस्कृत भाषाको महत्त्व बुझाउने कार्य गर्नुपर्ने

ठ) शिक्षक निर्देशिका निर्माण गर्नका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्ने

ड) अन्य विषयका शिक्षकलाई जस्तै संस्कृत विषयका शिक्षकहरुलाई पनि पेसागत विकास तालिम एवम् पुनर्ताजगी तालिमको व्यवस्था गर्नुपर्र्ने

ढ) समयमा पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने

ण) प्रधानाध्यापक कार्यसम्पादन सम्झौता बमोजिम ल्याउने ।

त) प्रधानाध्यापकले वि. व्य. स. र शिक्षकले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने

थ) गुरुयोजना निर्माण गर्ने

द) छात्रावासको निर्माण गर्न पहल गर्नुपर्ने

ध) पूर्व विद्यार्थी समाज निर्माण गर्नुंपर्ने

न) विद्यालय सञ्चालन र व्यवस्थापनमा पूर्व विद्यार्थीलाई सहभागी गराउने ।

प) स्थानीय सरकारले निःशर्त र सशर्त अनुदानबाट अनुदान दिने ।


सन्दर्भ सामग्री

ईश्वरी पौडेल (प्रधानाध्यापक) राजकीय संस्कृत मा. वि जनकपुर

उमाकान्त काफ्ले (प्र अ.) वि.पि. संस्कृत विद्यापीठ सोलु

गोविन्दप्रसाद निरौला ( शिक्षक) चन्द्र संस्कृत मा. वि धरान

ताराकुमार राई ( सहायक प्रधाकनाध्यापक ) चन्द्र संस्कृत मा. वि धरान,

बराल खगराज २०७७, नेपालका वर्तमान गुरुकुल आधुनिक विद्यालय शिक्षा पद्धतिमा शिक्षक व्यवस्थापन, नेपाल संस्कृत विश्वविद्यालय अनुुन्धान केन्द्र ।

रामचन्द्र दाहाल (निवर्तमान प्रअ) बालसुवोधिनी मा.वि. ताप्लेजुङ

रामबहादुर भण्डारी (प्र.अ.) विद्योदय संस्कृत मा. वि  संखुवासभा

वैद्य युद्धप्रसाद २०७६ इलाम इतिहास र विकास , साहित्य कला तथा सङ्गीत प्रतिष्ठान

सूर्यकुमार अधिकारी (शिक्षक) चन्द्र संस्कृत मा.वि. धरान

सहयोग

चन्द्र सस्कृत मा.वि. धरान परिवार

धरानमा जारी संस्कृत सम्मेलनमा प्रस्तुत कार्यपत्र