मोरङ/समाजमा सहअस्तित्व, आपसी समझदारी र मर्यादित पारिवारिक सम्बन्धको प्रेरणा दिन सुन्दरहरैँचा नगरपालिकाले उदाहरणीय कदम चालेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति अनुसार पहिलोपटक ‘उत्कृष्ट ढुकुर जोडी’ (दम्पती) सम्मान कार्यक्रम आयोजना गर्दै १२ वटै वडाबाट चयन भएका उत्कृष्ट १२ जोडीलाई आइतबार सम्मान गरेको हो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै ४८ जोडीको आवेदन आह्वान गरेपछि छुट्याइएको मापदण्डअनुसार प्रत्येक वडाबाट एक जोडी छनोट गरिएको हो ।

छनोटमा ‘संयुक्त परिवारमा बस्ने’, ‘दम्पतीबीच आपसी झैझगडा नहुने’ जस्ता सामाजिक सदाचारका सूचक समावेश थिए ।

सम्मानित दम्पतीलाई नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगद १०–१० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मानित दम्पतीहरुः

  • वडा १: केशवप्रसाद काफ्ले र कञ्चन दाहाल
  • वडा २: सचिदानन्द साह र संगीताकुमारी गुप्ता
  • वडा ३: ध्रुव निरौला र अनु दाहाल
  • वडा ४: डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल
  • वडा ५: वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल
  • वडा ६: बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे
  • वडा ७: बलिराम चौधरी र फुलोदेवी चौधरी
  • वडा ८: खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने
  • वडा ९: योगराज कार्की र हिमकुमारी कार्की
  • वडा १०: बौद्वबहादुर दाहाल र कल्याणी खड्का दाहाल
  • वडा ११: वेदकुमार खवास र केसवती खवास
  • वडा १२: अम्बरबहादुर मगर र ताराकुमारी मगर

उदेश्य र सन्देश
नगर प्रमुख गुरागाईंले समाजलाई मर्यादित बनाउने लक्ष्यसहित व्यक्तिगत आचरण सुधार्न यस्तो कार्यक्रम ल्याइएको बताए । “राम्रो गरिरहेका नागरिकलाई चिनाउने र सम्मानित गर्ने कामले समाजलाई सकारात्मक सन्देश दिन्छ,” उनले भने ।

न्यायिक समितिमा बढ्दो पारिवारिक झगडाको उजुरीलाई ध्यानमा राखेर यो कार्यक्रम ल्याइएको न्यायिक समिति संयोजक तथा उपप्रमुख चौधरीले जानकारी दिइन् ।

उनका अनुसार सम्मानित जोडीको तस्बिर एक वर्षसम्म वडा कार्यालयमा राखिनेछ भने उनीहरूको स्वास्थ्य बीमा पनि निःशुल्क गरिनेछ।

फरक किसिमको सोच, फरक शैलीको सम्मान—सुन्दरहरैँचाले दियो समाजलाई प्रेम र सहमतिको सन्देश।