तेह्रथुम/  लाली गुराँस नगरपालिकाले विस्तारै विकासको फड्को मार्दै गएको छ ।

सडक सञ्जालले छोएपछि यो ठाउँमा पर्यटनलाई मुख्य आधार बनाएर पर्यटक भित्र्याउने अभियानलाई नगरपालिकाले अगाडि सारेको छ ।

यसैलाई मध्यनजर गरी लिम्बु सँस्कृतिलाई नजिकबाट नियाल्न सकिने चोत्लुङ पार्क निर्माण गरिएको छ । यसले पर्यटन प्रवद्र्धनमा ठूलो  सहयोग पुर्‍याएको छ ।

साविकको बसन्तपुर गाविस लालीगुरास नगरपालिका बनेपछि कृषि र पर्यटनलाई बढी प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । सडक सञ्जालले छोएपछि विकासको मुख्य स्रोतको रुपमा पर्यटनलाई बनाइएको छ ।chutling park pic-1

यसैलाई मध्यनजर गरी ४ बर्ष अगाडि अर्थात २०७६ सालमा लालीगुरास नगरपालिका वडा नं. ६ मा पर्ने भुल्के धारा नजिक चोत्लुङ पार्क निर्माण भएको हो । पार्कको उद्घाटन कवि वैरागी काइलाबाट गरिएको थियो ।  पार्क निर्माण भएसँगै पर्यटनको आगमनमा बृद्धि भएको लाली गुरास नगरपालिकाका प्रमुख अर्जुन माबुहाङ बताउँछन्

पार्कमा लिम्बु जातिसँगै अन्य जातिका सँस्कृति झल्किने बस्तुहरु राखिएका छन । प्रमुख मावुहाङका अनुसार यो पार्कसँगै यूमा संग्रहालय बनाइएको छ ।

संग्राहायलमा गोर्खालीसँगको लडाइँमा लिम्बुहरुले प्रयोग गरेका हातहतियार, पुराना सिक्का लगायत ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरु राखिएका छन् । चोत्लुङ पार्क यो क्षेत्रको मुख्य पर्यटकस्थल बनेको उनको भनाई छ ।

यो बाहेक लालीगुरास नगरपालिकालाई हिउँ पर्ने सिजन र लालीगुरास फूल फुल्ने समयमा अत्याधिक पर्यटक आउने गरेको उनले बताए ।

उनले लालीगुरास नगरपालिकाको पहिचान झल्ककाउन पनि यो पार्कले सहयोग गरेको बताए ।

उनका अनुसार बार्षिक ५ देखि ७ लाखसम्म पर्यटक लालीगुरास आउने गरेका छन् ।

दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म पर्यटक आउने बताउदै मेयर माबुहाङ नेपालबाटमात्र हैन भारतबाट समेत पर्यटकहरु यो ठाउँमा आउने गरेको बताए ।

रैथाने वास्तु शैलीमा निर्मित पार्कको मुख्य भवन वरिपरि लिम्बु मुन्धुममा वर्णित सिङ्चाङ्गो यामचाङ्गो (धसिङ्गरे), फुन्छिङर (पैयू) पाङ्ब (मजिटो), माङयाम्बुङ (फच्याङ), तेतलासे (केरा) लिसिङ फा (मालबांस)लगायतका वनस्पतिहरु यो पार्कमा रोपिएका छन् ।

पार्कको पूर्वपट्टि चोत्लुङ वरक (सिद्धि पोखरी) बनाइएको छ । बाटामा ढुंगाको आकर्षक चौतारो र फलैंचाहरु बनाइएका छन् । लिम्बु संस्कृतिमा ढुंगाको ठूलो महत्व छ । ऐतिहासिकता झल्किने पार्क र संग्रहायलका कारण बर्षेनी पर्यटक भित्रिने क्रम जारी छ ।

विगतमा निःशुल्क प्रवेश गर्न दिने गरेको पार्कमा अहिले प्रति व्यक्ति ५० रुपैया लिने गरेको छ । चोत्लुङपार्क पर्यटन प्रवद्र्धनको दरिलो खम्बाको रुपमामात्र हैन नगरपालिकाकाको दरिलो आयस्रोतका माध्यम समेत बनेको छ ।