सुनसरी/ धरानका पुर्व मेयर स्वर्गीय तारा सुब्बाको पाचौं स्मृति दिवसमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

नेकपा धरान उपमहानगर कमिटिको आयोजनामा आज सोमबार धरान १९ स्थित हरियाली सामुदायिक वनमा रहेको उनको सालिकमा माल्र्पापण सँगै धरान १६ स्थित तारा सुब्बा पार्कमा रक्तदान कार्यक्रम गरि मनाएको छ ।

हरियाली वन समुहको हाताभित्र स्वर्गीय मेयर तारा सुब्बाको सालिक सहितको पार्क पनि निर्माण भएको छ ।

मेयर सुब्बाको अर्धकदको सालिकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रिय सदस्य मञ्जु भण्डारी लगायत प्रदेश र सुनसरी जिल्लाका नेता, कार्यकर्ता तथा जनप्रतिनिधीहरूले माल्र्यापण गरि श्रद्धान्जली पनि अर्पण गरेका छन् ।

tara

कार्यक्रमका प्रमुख अतिथि स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राईले स्वर्गीय मेयर सुब्बाले धरानको लागी महत्वपूर्ण योगदान गरेको बताए । उनले संगठनलाई मजबुद बनाउँदै अघि बढ्दै गर्दा सुब्बाको निधनले अपुरणिय क्षति पुगेको बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन एमालेबाट मेयरमा विजयी भएका सुब्बाको बर्षदिन पछि निधन भएको थियो ।

चुनाव अघि नै उनको दुवै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण गरिएको थियो ।

धरानमा तत्कालिन एमालेको संगठन वलियो बनाउन उनको महत्वपुर्ण भुमिका रहेको मानिन्छ । श्रद्धान्जली कार्यक्रम पश्चात धरान १६ मा रहेको तारा सुब्बा स्मृति पार्कमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।

एमाले १६ नम्बर वडा कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीका प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संकलित रगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रेडक्रसको ब्लड बैंकमा जम्मा गरिएको छ ।