धरान/  नेपालीहरुको चाड दशै भित्रिसक्दा पनि व्यपारीहरुको व्यापार व्यवसाय डामाडोल भएको भन्दै उद्योगी तथा व्यवसायीहरुले निर्धक्कसँग व्यापार गर्ने वातावरण तयार पारिदिन प्रशासन समक्ष माग राखेका छन् । 

सुनसरी उद्योग वाणिज्य संघ धरानले बुधबार संघकै कार्यकक्षमा आयोजना गरेको दशै, तिहार तथा छैठ पर्वको शुभकामना तथा चाडपर्व लक्षित सुरक्षा चुनौतिका विषयमा आयोजिक कार्यक्रममा अधिकांश व्यवसायीहरुले सुरक्षा नभएको,

प्रहरी प्रशासनले अनाहकमा व्यवसायीलाई दुः ख दिएको, बैंकको व्याजदरले व्यवसायी उठ्नै नसक्ने अवस्था भएको, स्थानीय सरकार र कर कार्यालयले अनाधिकृत रुपमा कर असुली गरेको लगायतका विषयमा प्रशासन समक्ष उठाएका थिए ।

जिल्लाका सुरक्षा प्रमुख, प्रहरी प्रमुख, स्थानीय सरकार, कर कार्यालयका प्रमुख लगायत सम्बन्धित पक्ष समक्ष उनीहरुले आफ्ना समस्या राखेका थिए । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले कोरोनाले थलिएको व्यवसाय पछिल्लो समय डेंगु संक्रमण हुदै युक्रेन र रसिया तथा पेलास्टाइन र इजराइलबीचको युद्धले व्यवसायीको व्यवसाय अझ धरापमा परेको बताए ।

उनले यो सँगै राज्यले व्यवसायसँग कर असुल गरे पनि व्यवसायिक सुरक्षामा गम्भीरता नदेखाएको बताए ।

उनले भने, ‘राज्यले व्यवसायीबाट मात्र ८० प्रतिशत कर असुली गर्छ, तर व्यवसायलाई परेको समस्याको विषयमा केही गर्दैन ।’ उनले वैंकको चर्को व्याजदर, व्यवसायीलाई अनुगममनका नाममा दुःख दिने गरेकोले पनि व्यवसायिहरु विस्थापित हुनुपरेको बताए ।bye

उनले भने, ‘सम्बन्धित निकायले चाडपर्व लक्षित अनुगमन गर्छन्, पछिल्लो समय स्थानीय सरकारको अनुगमन समितिले व्यवसायीको प्रतिनिधि नै नराखी अनुगमन गर्ने लगायत आन्तरिक राजस्व कार्यालयले समेत अनुगमनको नाममा अनावश्यक दुःख दिने गरेको छ, यस्ता गतिविधिले व्यवसायी विस्थापित हुने सम्भावना बढेर गएको छ ।’

संघका पुर्व अध्यक्षहरु सरोज श्रेष्ठ, गिरीधारी सापकोटा, व्यवसायी जयप्रकाश शर्माले पनि श्रेष्ठको भनाईलाई उद्र्धत गर्दै व्यवसायीक सुरक्षामा गम्भीर बन्न आग्रह गरे । होटल व्यवसायी गोपाल राईले होटल व्यवसायीलाई सुरक्षा निकायले समयसीमा भन्दा अगाडि नै बन्द गर्न लगाएर अनावश्यक दुःख दिँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको बताएका थिए ।

उनले जनपथ प्रहरी, सशस्त्र प्रहरीले व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने गरेको गुनासो पोखेका थिए ।

व्यवसायीरुले गरेको आर्थिक मन्दीका विषयलाई चिर्दै राजस्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले आयात बढी हुने मुलुक नेपालमा निर्यात कम हुने भएकोले आर्थिक मन्दीले खासै नछुने बताए ।

उनले भने, ‘नेपाल आयात गर्ने देश हो, निर्यात हुदैन, आर्थिक मन्दी हुनुको प्रमुख कारण अनप्रडक्टिक क्षेत्रमा लगानी गरेर हो, सबैले घर जग्गामा लगानी गर्दा रकम फसेर चलायन नभएकै कारण अहिले बजारमा आर्थिक मन्दी बढेको हो ।’

व्यवसायीहरुका कुरा सुनिसकेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मीले नागरिकको सुरक्षाको लागि प्रहरी सधै दतारुकताका साथ अगाडि आउने बताए ।

उनले व्यवसायको गुनासोलाई मध्यनजर गरी काम गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यवसायले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको गुनासा धेरै आउने भएकोले यस्ता व्यवसायीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘व्यवसायिक हितका लागि प्रशासन गम्भीर छ, तर कानुन विपरीत उपभोक्ताको स्वास्थ्यमाथि खेलबार्ड गर्ने व्यवसायीलाई कारबाही हुन्छ ।’

कार्यक्रममा राजनीतिक दलका तर्फबाट ताजुव लिम्बु, प्रदेश सांसद रमेश बस्नेत लगायतले समेत बोलेका थिए ।