विराटनगर/  अस्पतालबाटै नवजात शिशु बिक्रि गर्न प्रपञ्चमा संलग्न भएका ६ जना विरुद्ध परेको मुद्धामा जिल्ला अदालत मोरङले ३ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ भने ३ जना धरौटीमा रिहा भएका छन् । 

गत असार १४ गते विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई बेपत्ता पारेको बिक्रि गर्ने मनसायले बेपत्ता बनाएको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि जेल चलान भएको हो ।

मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधवार डाक्टर कर्णसहित कटहरी ४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई पनि पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

धरौटीमा रिहा हुनेमा मोरङ कटहरी २ आदर्श टोलकी ३३ बर्सिया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ बर्सिया नर्स निर्मला यादवलाई १ लाख र ४७ बर्सिया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटीमा छोडन अदालतले आदेश दिएको छ । धरौटि रकम बुझाएर रिहा भएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पक्राउ परेका ६ जना प्रतिवादीहरू विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो ।

भोजपुर हतुवा गढी ४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ बर्षियाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन ।

डा. कर्णले मोरङको कटहरी २ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो ।

प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ । कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ ।