धरान/  राज्यले दिएको सेवा सुविधाबाट अझै पनि बञ्चित हुनु परेको एचआइभी संक्रमितहरुले गुनासो गरेका छन् । 

राज्यले दिने सेवा सुविधा लिनका लागि अझै पनि विभेद कायमै रहेको उनीहरुको गुनासो छ ।

एचआइभी संक्रमित विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागी योग्यता र क्षमता भए पनि जान नसक्ने गुनासो संक्रमित विद्यार्थीहरुले पोखेका छन् ।

आज (शुक्रबार) १ डिसेम्बर विश्व एड्स दिवसको रुपमा मनाउने पुर्वसन्ध्यामा बिहिबार धरानमा आयोजित एक कार्यक्रममा  संक्रमितहरुले शिक्षा, स्वास्थ्य उपचार र रोजगारीमा विभेद, असमान व्यवहार भोग्नुपरिरहेको बताएका हुन् । 

एचआइभि संक्रमितहरुले रोजगारीमा पनि विभेद भोग्नु परिरहेको बताएका छन् । कुनै पनि रोजगारको क्षेत्रमा क्षमता, योग्यता भएर पनि एचआइभी संक्रमित भएकै कारण जागिरबाट बञ्चित हुनुपर्ने उनीहरुले गुनासो पोखे । जसको कारण एकल महिला, दलित, आर्थिक विपन्न भएका एचआइभी संक्रमितहरुको अवस्था दयनीय भएको उनीहरुको पीडा सुनाए । 

अन्तरक्रियामा एक छात्राले भनिन्, ‘हामी चाहेर पनि विदेशमा गएर पढ्न सक्दैनौं । क्षमता, योग्यता भएर पनि एचआइभी पोजेटिभ भनेपछि जान पाउदैनौं ।’ आर्थिक अभावले पढ्न समस्या भोगिरहेका संक्रमित विद्यार्थीहरुलाई पढाउन स्थानीय सरकारले बजेट विनियोजन गर्न पनि उनले आग्रह गरिन् ।

एचआइभी संक्रमित भएकै कारण अध्ययनमा छात्रवृत्ति पनि नपाउने, संक्रमित भएपछि वहाना बनाएर स्कुलबाट निकाल्न खोज्ने जस्ता विभेद अझै पनि भएको गुनासो संक्रमितहरुले गरेका छन् । 

राष्ट्रिय एचआईभि तथा एड्स महासंघ कोशी प्रदेशको महासंघका कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राईले एचआइभी संक्रमित भएकै कारण राज्यले प्रत्याभुत गरेको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य उपचार र रोजगारीबाट अझै पनि बञ्चित हुन बाध्य रहेको बताए ।

यो विभेद अन्त्य गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले ठोस नीति बनाएर व्यवहारमा उतार्नुपर्ने पनि उनले बताए । 

कोशी प्रदेशमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र क्रोनोस्कपी सेवाबाहेक एचआइभी संक्रमितहरुलाई सबै स्वास्थ्य उपचार सेवा उपलब्ध छ । तर, अन्य सरकारी अस्पतालहरुमा संक्रमितहरुले सबै प्रकारको सेवा नपाउने सुपरभाइजर राईले जानकारी दिए ।

अन्य जिल्लाहरुबाट संक्रमितहरुलाई उपचारको लागी वीपी प्रतिष्ठानमा नै रिफर गर्ने गरेको छ । राईका अनुसार संक्रमित महिलाले चिकित्सकको निगरानीमा सुरक्षित तरिकाले बच्चा जन्माउने विधि पिएमटिसिटी पनि प्रतिष्ठान र कोशी अस्पताल विराटनगरमा मात्र छ । 

एचआइभी संक्रमणबारे सबै शिक्षित र जानकार भएपनि व्यवहारिक शिक्षाको कामीले समस्या भएको उनको भनाई छ ।

‘एचआईभि संक्रमित समुदायहरुलाई प्राथामिकतामा राखेर ठोस नीति बनाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ’एचआईभी संक्रमणको बिषयमा सबै शिक्षित र जानकार भएपनि यसको भावना र मर्ममा साथै ब्यवहारिक शिक्षाको कमि देखिएको छ । तिन तहका सरकार लगायत सबै सरोकारवाला निकायहरु पनि जिम्मेवार हुनु पर्छ ।’ 

कोशी प्रदेशमा एचआइभि संक्रमितहरुको संख्या ३५ सय रहेको अनुमान छ । ती मध्ये ३ हजार संक्रमितहरु पत्ता लागेका छन् ।

एआरटि सेवा गरिरहेकाहरुको संख्या २ हजार ४ सय ३५ रहेको छ । यस्तै, सुनसरी जिल्लामा मात्र १८ सयको हाराहारीमा एचआइभि संक्रमितहरु भएको अनुमान छ । ती मध्ये १ हजार ७ सय ५९ संक्रमितहरु पत्ता लागेका छन् । ए.आर.टी. सेवन गरिरहेका संक्रमितहरुको तथ्यांक ८ सय ९८ रहेको धरान पोजेटिभ समुहले जनाएको छ ।