पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो ।

विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन ।

रु. एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो । कम्पनी काम छोडी बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयवासीले ढाट लगाएर बन्द गरेका छन् ।

पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

वडाध्यक्षहरू लोककिरण न्यौपाने, नवीन कार्की र वीरबहादुर राईले कन्ट्रक्सनले काममा ठिलासुस्ती गरेको भन्दै दबाब दिँदै आएका छन् । बुधबार मनमोहन गान्धी मार्गमा स्थानीयवासीले ढाँट लगाएर बाटो अवरोध गरेका छन् ।

पथरी शनिश्चरे नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका हुँदै भारतको सीमा छुने ३० किलोमिटरको बाटो लामो समयदेखि अलपत्र हुँदै आएको छ ।

छँदाछँदैको कालोपत्र उक्काएर अलपत्र पारिएको बाटाका कारण स्थानीयवासीले लामो समयदेखि हिलो, घुलो र खाल्डाखुल्डिको समस्या भोग्दै आएका छन् ।

निर्माण सुरु नभएसम्म बाटो अवरुद्ध गर्ने भन्दै  स्थानीयवासीले बाटैमा धर्ना दिएका छन् । बन्द कर्ता र प्रहरीबिच छलफल भए पनि स्थानीय सरकारले बाटो खोल्न चासो दिएको छैन ।

यता बाटो निर्माणका क्रममा ड्रेन निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले रकम पाएका छैनन् ।

कान्छाराम कन्ट्रक्सनले भने हालसम्म करिब रु. २७ करोड रकम लगिसकेको हुलाकी राजमार्ग निर्देशानलय इटहरीले बताएको छ ।