धरान/  किरात धर्मका तेश्रो पुस्ताका धर्म संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको ८० औ जन्मजयन्ती तथा फल्गुनन्द–लाफयङ बहुभाषिक पाठशालाको ८ औ बार्षिकोत्सब आईतबार सम्पन्न भएको छ । 

फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा आयोजित कार्यक्रम इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ कमल स्थित फल्गुनन्द बहुभाषिक पाठशालाको प्राङ्गणमा भएको थियो ।

गुरु लाफयङको दर्शन लाई दीर्घकालीन रुपमा संरक्षण गर्नका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने स्थानीय सरकारको योजना रहेको प्रमुख अतिथि चुलाचुली गाउपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ले बताए । 

गुरु लाफयङ र फल्गुनन्द गुरुको स्मृतिमा स्थापित बहुभाषिक पाठशालालाई औपचारिक पाठशालाको रुपमा रुपान्तरण गर्न स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको आवश्यकता रहेको कार्यक्रमका सभाध्यक्ष एबम बहुभाषिक पाठशालाका अध्यक्ष डम्बर कुमार तुम्बापोले बताए । पाठशालालाई सुरुवातका दिन देखि अहिलेसम्म आईपुग्दा साथ सहयोग गर्ने सबैलाई तुम्बापोले धन्यवाद ब्यक्त गरे । 

सेवासावा मणिकुमार इधिङ्गोले शान्तिपाठ वाचन गरेका थिए ।405136715_362844729436575_2667871017772707742_n

प्रमुख अतिथी अध्यक्ष केरुङ, सभाध्यक्ष तुम्बापो, पालिकाका उपाध्यक्ष दिलु योङ्हाङ लावती लगायतले महागुरु फल्गुनन्द र गुरु लाफयङको शालिकमा माल्यार्पण गरेका थिए । किरात सत्यहाङ्मा सेवा संघका अध्यक्ष एबम साहित्यकार तथा मुर्तिकार ज्ञानोदय लावतिले गुरु लाफयङको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष लावती, चुलाचुली वडा नम्बर १ का वडा अध्यक्ष पुर्ण लावती, वडा नम्बर ५ का वडा अध्यक्ष बबिन राई, किरात सत्यहाङमा सेवासावा पान्जुम्भोका प्रमुख सल्लाहकार एबम मुजोलुङ माङहिमका उपाध्यक्ष धनकुमार थाम्सुहाङ लगायतले मन्तब्य ब्यक्त गरे ।

आईतबार चुलाचुली गाउपालिकाले गुरु लाफयङको जन्मजयन्तिमा पालिका भरी सार्बजनिक बिदा दिएको थियो । कार्यक्रममा बहुभाषिक पाठशालाका बिद्यार्थीहरुले केलाङ स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै सङ्गम केलाङ समुहबाट केलाङ प्रस्तुती भएको थियो भने समाज सुधार समूह संघ नेपालबाट सास्कृतिक नृत्य धान नाच प्रस्तुत भएको थियो । यसैगरी एस.ई.ई. डान्सिङ स्टार–२०२२ र ०२३ का बिजेताहरु क्रमशः नुमा लिम्बू, लिसारा थापा मगर र सेकेन्ड रनर अप लाजिव शाही ठकुरीले नृत्य प्रस्तुत गरेका थिए ।

एस.ई.ई.सिङ्गिङ आईडल २०२३ का फष्ट रनर अप मिङमा टि शेर्पाले गीत प्रस्तुत गरेका थिए । 

बहुभाषिक पाठशालाका महासचिव नाम्लिङहाङ चेम्जोङ्ले स्वागत मन्तब्य राखेको कार्यक्रमको सन्चालन पाठशालाका सचिव पुर्ण चेम्जोङले गरेका थिए ।

उत्कृष्ट बिद्यार्थीहरु सम्मानित यसै अवसरमा चुलाचुली गाउपालिका भरिबाट २०७९ सालको को एस.ई.ई. परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रा रोहिना फियाक र किरात लिपि लिम्बू भाषामा पालिकामै उत्कृष्ट अंक ल्याउने अर्का छात्रा नायल राई सम्मानित भएका छन।

प्रमुख अतिथी पालिका अध्यक्ष केरुङ, उपाध्यक्ष योङ्हाङ, कार्यक्रमका अध्यक्ष डम्बर कुमार तुम्बापो लगायतले खादा, नगद र सम्मान–पत्र सहित छात्राहरुलाई सम्मान गरेका थिए । सम्मानित मध्ये रोहिनाले चुलाचुलीको बाल ज्योती मा.बि. बाट एस.ई.ई. दिएकी थिइन भने नायल फल्गुनन्द–लाफयङ बहुभाषिक पाठशालाकी छात्रा हुन ।