सरकार सबै नागरिकको अभिभावक हो । अभिभावक, आतङ्ककारी जस्तो हुनुहुँदैन । (अपहरणकारी जस्तो हुनुहुँदैन । लुटेरा जस्तो पनि हुनुहुँदैन ।

सडक आसपास, बजार, गल्ली र अस्थायी टहरामा सानो पूँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडा लगायतका सामग्रीहरु सस्तो मूल्यमा विक्री गर्ने निम्न वर्गका जनता जसले आफै रोजगार सृजना गरेर जीवन चलाईरहेका  नागरिकलाई सत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानी नै सिध्याईदिने गरि सामान नियन्त्रणमा लिने काम खेदजनक छ ।

करिव ५० हजार स्वरोजगार श्रमिकहरु आश्रित परिवार करिव २ लाख छन् । उनिहरुको व्यवस्थापन साझा विषय हो । त्यसका लागि  महानगरले निम्म कामहरु गर्दा राम्रो हुन्छ ।

१. नागरिक बजार  

महानगरभीत्र रहेका सबै वडाहरुमा “नागरिक बजार” सञ्चालन गरि सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नु पर्दछ । त्यसका लागि स्वरोजगार श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाईनु पर्दछ ।

२. सन्ध्याकालिन बजारको व्यवस्था

दिर्घकालिन रुपमा “नागरिक बजार” सञ्चालन नहुँदासम्मका लागि महानगरभीत्र सन्ध्याकालिन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरुको निर्धारण गरिनु पर्दछ ।

३. जफत गरिएका सामानहरु फिर्ता

निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको लगानी रहेका सामानहरु महानगर प्रहरीद्धारा कब्जा गरि लिलाम गर्ने गरिएको छ । त्यसलाई तत्काल रोक्नु पर्दछ । साथै सम्पूर्ण सामानहरु सम्बन्धीत स्वरोजगार श्रमिकहरुलाई स–सम्मान फिर्ता गरिनु पर्दछ ।

४. श्रमडेस्कको स्थापना

कतिपय स्थानीय सरकारहरुले श्रम डेस्कको स्थापना गरेर आफ्ना पालिका क्षेत्रभीत्रका श्रम सम्बन्ध विषयहरुलाई व्यवस्थित गर्ने कार्यको थालनी गरिसकेको छ ।

तर, सत्ताको केन्द्र भागमा रहेको काठमाण्डौं महानगरपालिकाले यस विषयमा हालसम्म पनि तदारुकता देखाएको छैन । तसर्थ यस काठमाण्डौं महानगरपालिकामा तत्काल श्रम डेस्कको स्थापना गरि आवश्यक सूचिकरण लगायतका श्रम व्यवस्थापनसंग सम्बन्धित कामको थालनी गर्नु पर्दछ ।

५. कार्यदल गठन

तत्काल उत्पन्न समस्या समाधान र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघ सहित सरोकारवालाहरु सम्मिलित “उपत्यकामा सञ्चालन गरिने नागरिक बजार तथा स्वरोजगार श्रमिकको समस्या समाधानका लागि सर्वपक्षिय कार्यदल” तत्काल गठन गरी आवश्यक कामको थालनी गरिनु पर्दछ (राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष हुनुहुन्छ ।)