धरान/ धरानका सर्दु, सेउती, अँधेरी खोला किनारमा बसेका सुकुम्बासी बस्तीका स्थानीयको मुख्य आयस्रोत भनेको नै खोलाको ढुङ्गा, गिटी, बालुवा हो ।
उनीहरु बिहानै देखि खोलामा बेल्चा, कुटोले ढुङ्गा गिटि बालुवा कोथरेर बिक्रि गर्छन् । त्यसैबाट आएको आम्दानीले परिवार पाल्दै आएका छन् ।
तर केही दिन देखि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खोला किनारका स्थानीयले थुपारेर राखेको ढुङ्गा, गिटि, बालुवा खरिद गर्न पुग्ने ट्याक्टरहरु पक्राउ गर्न थाले पछि उनीहरुको आयस्रोत नै बन्द भएको छ ।
मेयर राईको निर्देशनमा नगर प्रहरीले अनावश्यक रुपमा ढुङ्गा, गिटि, बालुवा बोकेर ल्याएका ट्याक्टरहरु पक्राउ गर्न थाले पछि खोला किनारका स्थानीयले बिक्रि गर्न नपाएको उनीहरुको गुनासो छ ।
ट्याक्टर व्यवसायीका अनुसार खोला किनारका स्थानीयले जम्मा गरेको खोला जन्य पदार्थहरु खरिद गरेर ट्याक्टर चलाउने व्यवसायीहरु धरानमा करिब ५३ जना छन् ।
उनीहरुको करिब १ सय ५० देखि २ सय वटा ट्याक्टर छन् । एउटा ट्याक्टरमा करिब ५ जनाले रोजगारी पाएका छन् ।
खोलाबाट खोलाजन्य पदार्थ संकलन गर्न प्रत्येक घरबाट ५ जनाका दरमा रहेका छन् । यी सबैको रोजगारीमा असर पुगेको ट्याक्टर व्यवसायी विक्रम तामाङ बताउँछन् ।
खोलाजन्य पदार्थ बोकेका ट्याक्टरहरुलाई अनावश्यक रुपमा नगरप्रहरीले पक्राउ गर्दै जरिवाना तिराउन थाले पछि ट्याक्टर व्यवसायीहरु पनि आक्रोशित बनेका छन् ।
करिब २० दिन अघि खोला किनारका स्थनीयले जम्मा गरेको ढुङ्गा, गिटि, बालुवा बोकेका ४ वटा ट्याक्टर र एउटा टिपर नगरप्रहरीले पक्राउ गरेको थियो ।
अहिले ट्याक्टर व्यवसायीहरुले संघर्ष समितीनै बनाएर आन्दोलनमा होमिएका छन् । संघर्ष समितीका अध्यक्ष समेत रहेका तामाङले नगर प्रमुख राई ट्याक्टर व्यवसायीको समस्या समाधान गर्नबाट पन्छिएको बताए ।
उनले भने, ‘गाडि पक्रिएको छ, २० देखि २५ दिन भैसक्यो, लोन तिर्नुपर्नेछ, कमाई खाने भाडो बन्द छ, अर्को व्यवस्था गरिदिनुपर्यो ।’
मंगलबार नगरप्रमुख सँग भएको भेटमा चौबिस घण्टा अल्टिमेटम दिएको उनको भनाई छ । उनले भने, ‘समाधान निकालौं, त्यो भएन भने जे पनि गर्न सक्छौं, हामी पनि स्थानीयनै हौं,
नगरप्रमुख भए भन्दैमा व्यवसायीलाई पेलेर लान हुँदैन, चोर पुलिसको जस्तो व्यहोरा गरेको छ ।’ हाम्रो समस्या माथि सुनुवाई भएन भने सबै ट्याक्टर जती नगरपालिकामा ल्याएर बुझाउँने उनले बताए ।
मुख्य आयस्रोत नै खोलाको ढुङ्गा, गिटि बालुवा संकलन गर्ने हो । त्यही पनि अघिल्लो वर्ष देखि बन्द हुँदा त्यस क्षेत्रका स्थानीयहरु घर धान्ननै मुस्किल हुने गरेको उनीहरु बताउँछन् ।
नवराज राई कोषाध्यक्ष मेयर राईले गरेको व्यवहार प्रति असन्तुष्ट बन्दै उनीहरुले मंगलबार पत्रकार सम्मेलन समेत गरेका छन् । सम्मेलनमा समितीका कोषाध्यक्ष नवराज राईले पटक पटक लिखित रुपमा ध्यानाकर्षण गराउँदा पनि मेयरले ध्यान नदिएको बताए ।
उनले भने, ‘हामीले वार्षिक रुपमा कर तिरेका छौं । नगरमा पनि तिरेका छौं, आन्तरिक राजस्वमा पनि तिरेको छौं । नगरले तोके अनुसार कर तिर्न तयार छौं । नगरले कर तिर्ने व्यवस्था गरिदिनु प¥यो । हामीले बाहिर लगेर बेच्ने होइन, धरानमै खपत गर्ने हो । हामीले ठेक्का मागेको होइन ।
स्थानीय सरकारले तोकेको स्थानबाट ठुला मेसिन डोजर, जेसिभि प्रयोग नगरि सामान्य बेल्चा, कुटो प्रयोग गरेर नदिजन्य पदार्थ निकाल्ने हो ।’
विगत १० वर्ष देखि ट्याक्टर मार्फत निर्माण सामग्रीको ओसार पसार गर्दै आएका व्यवसायीलाई स्थानीय सरकारले विदेशिन बाध्य पार्न खोजेको उनीहरुको आरोप छ ।
संघर्ष समितीले ४ बुँदे माग सहित आन्दोलनको समेत घोषणा गरेको छ । मंगलबार नै बसेको उनीहरुको बैठकले धरानका खोला, नदी नालामा ट्याक्टरहरु निर्धक्क चल्न पाउनु पर्ने, सर्दु, सेउती,
अधेरी खोलामा मेशिन प्रयोग नगरी हातबाट संकलन गरेर ल्याएर बिक्रि गरि जिविकोपार्जन गर्न पाउनु पर्ने, खोला देखि बाहिरबाटै ल्याइएका नदीजन्य वस्तुहरु बोकेको ट्याक्टरलाई रोक्न वा कारवाही गर्न बन्द गरिनु पर्ने र स्थानीय सरकारले मापदण्ड बनाएर क्षेत्र तोकि ढुङ्गा, गिटी बालुवा निकासिमा कर लगाई करको दायरमा ल्याउनु पर्ने माग राखेका छन् ।
बुधबार बिहान १२ बजे सम्म धरान उपमहानगरपालिकाले माग सम्बोधन नगरे धरानमा संचालनमा रहेका करिब १ सय ५० ट्याक्टर नगरपालिकाको गेट अघि ल्याएर थन्काउने चेतावनी दिएका छन् ।
त्यसबाट उत्पन्न हुने सबै समस्याको जिम्मेवारी मेयर राईले लिनुपर्ने उनीहरुले चेतावनी दिएका छन् ।