विराटनगर/ कोशी प्रदेशको सत्ताबाट माओवादीको बर्हिगमनका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र नेकपा माओवादी कोशी प्रदेश संसदीय  दलका नेता इन्द्रबहादुर आङ्वोका बिचमा छलफल भएको छ । 

केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री कार्यालयमा आज कोशी प्रदेश सरकारबाट माओवादीको बर्हिगमनका विषयमा छलफल भएको हो ।

कोशी प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्री सहित ४ जना मन्त्रीहरू रहेका छन् । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि सरकार फेरबदको तयारी भइरहेको छ ।

नयाँ गठबन्धनका बिचमा कोशी प्रदेशको मुख्यमन्त्री एमालेकै रहने सहमति भएको छ । एमालेकै मुख्यमन्त्री रहने सहमति हुँदा अहिलेका मुख्यमन्त्री हिक्मत कार्कीले नै सरकारको नेतृत्व गर्ने छन् ।

तर संविधानको धारा १६८(५) अन्तरगत बनेको सरकारमा काँग्रेस कसरी सहभागी हुने भन्ने समस्या देखिएको छ । वैशाख २७ गते एमाले र माओवादीका संसदहरुको समर्थनमा हिक्मत  कार्की प्रदेशको मुख्यमन्त्री भएका थिए ।

एमाले र माओवादीका संसदहरुको समर्थनमा गठन भएको सरकारमा माओवादीका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती, स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की र पर्यटन बन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर सहभागी रहेका छन् । यस्तै वन्दना झाँगर पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । 

केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेसँगै प्रदेशमा पनि कांगेसलाई सरकारमा सहभागी गराउनु पर्ने दबाब बढेको छ । कोशी प्रदेश यस अघि सोही धारबाट केदार कार्की मुख्यमन्त्री बनेका थिए । उनी प्रदेश सभामा अल्पमतमा परेपछि एमाले माओवादी नेतृत्वको सरकार बनेको थियो ।

  संविधानको धारा १६८(५)अन्तरगत बनेको सरकारले २ वर्ष सम्म अल्पमतमा परे पनि विश्वासको मत लिन नपर्ने अडानमा  निवर्तमान मुख्यमन्त्री केदार कार्की रहेपछि प्रदेश सभाको सन्देशका आधारमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेका थिए । 

नयाँ सरकार गठनको आव्हानका विरुद्ध सर्वोच्च पुगेका केदार कार्कीको रिटमा सुनुवाइ गर्दै अदालतले केदार कार्की नेतृत्वको सरकारलाई निरन्तरता दिन नसकिने आदेश दिएको छ । 

सो आदेशको पूर्ण पाठको फैसला नआएकाले पनि अव के गर्ने भन्ने टुङ्गोमा पुग्न नसकिएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए । उनले भने, यो सरकार हामीले बनाएको हो । नयाँ सरकारको निरन्तरताको सुनिश्चितता नभएसम्म हामी सरकारलाई अफ्ठेरो पारेर राजीनामा दिने पक्षमा छैनौ  ।

उनले मुख्यमन्त्रीसँगको भेटमा सरकारको निरन्तरता र प्रदेश सभाको भविष्यका विषयमा  छलफल भएको बताए ।

उनले केन्द्रमा फेरिएको सत्ता गठबन्धन र नयाँ परिश्थतीका बारेमा छलफल गरेको बताए ।

उनले भने, केन्द्रमा जे भए पनि मुख्यमन्त्री सर्वदलीय  सरकारको पक्षमा हुनुहुन्छ । उहाँले सहज  नै छ भनेकाले हामी अहिले नै हतारिएर राजीनामा दिने पक्षमा छैनौ । नयाँ सत्ता गठबन्धनका शीर्ष नेताहरूका बिचमा कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने सहमति भएको छ ।

एमालेले सरकारको नेतृत्व गर्दा मुख्यमन्त्रीको रूपमा कार्कीले नै निरन्तरता पाउने छन् । 

उनैको नेतृत्वमा सरकार रहेपनि माओवादीका मन्त्रीहरुलाई  बरखास्त नगर्ने पक्षमा मुख्यमन्त्री कार्की देखिएका छन् ।