सुनसरी/ मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक तथा कर्मचारी धरौटीमा छुटेका छन् ।
दुर्व्यवहारको आरोपमा पक्राउ परेका चारै जनासँग धरौटीबापतको रकम लिएर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत मोरङले बुधबार आदेश दिएको हो । न्यायाधीश शिवप्रसाद खनालको इजलासले आदेश दिएलगत्तै सबै जना धरौटी रकम बुझाएर रिहा भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
उनका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ३३ वर्षीय अविरल मास्के, सुन्दरहरैँचा–१२ का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र झापाको बुद्धशान्ति गाउँपालिका–६ का ३९ वर्षीय भीमप्रसाद नेपाल धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् । मास्के, भट्टराई र नेपालसँग जनही १ लाख रूपैयाँ र गच्छदारसँग ७५ हजार रूपैयाँ धरौटी माग भएको सूचना अधिकारी बुढाथोकीले बताए ।
पक्राउ पर्नेमध्ये मास्के सुकुना माविका शिक्षक एवं लेखापाल तथा गच्छदार र नेपाल शिक्षक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भट्टराई विद्यालयका बस चालक हुन् । उनीहरुलाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धान सकेर मिसिल ९अनुसन्धान प्रतिवेदन० बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पारेर चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुरअन्तर्गत चारवटा अलगअलग मुद्दा अदालतमा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएर तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी इजलासले धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी बुढाथोकीले बताए ।
पक्राउ परेकाहरुले विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत र विद्यालयमा समेत यौनजन्य दुर्व्यहार गरेको आरोप लागेको थियो । प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र किटानी जाहेरीका आधारमा चारै जना पक्राउ परेका हुन् । पक्राउ परेपछि सबै जनालाई विद्यालयले निलम्बन गरेको थियो ।




















