धरान/ धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँ
को बजेट नगर सभामा प्रस्तुत गरेको छ।
धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन्।
कानुनी व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट नगर सभामा पेस गर्नुपर्ने भए पनि धरानमा देखिएको बजेटसम्बन्धी विवादका कारण यसपटक बजेट ढिलो गरी साउन २८ गते नगर सभामा प्रस्तुत भएको हो।
बजेट प्रस्तुत गर्दै कार्यवाहक नगरप्रमुख बेघाले विगतका विवादलाई सामान्यीकरण गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गर्न पाउँदा गौरवान्वित भएको बताए। बजेट निर्माणका क्रममा विषयगत समिति, राजनीतिक दल, विज्ञ, पत्रकार तथा सरोकारवालाबाट प्राप्त सुझावलाई समेटिएको उनको भनाइ छ।
शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड
धरानको आगामी बजेटमा आर्थिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन, कृषि तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत खाल्डाखुल्डीरहित नगर बनाउने कार्यक्रम, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माण र धरान सभागृह निर्माणलगायत योजना समेटिएका छन्।
खाल्डाखुल्डीरहित नगर बनाउने कार्यक्रमका लागि ४ करोड रुपैयाँ, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि १ करोड रुपैयाँ र धरान सभागृह निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ६६ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ। एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउन मात्रै ५० लाख रुपैयाँ छुट्याइएको छ।
स्वास्थ्य क्षेत्रमा १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। नगर अस्पताल सञ्चालन तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमसमेत बजेटमा समेटिएको छ। प्रतिष्ठानसँग सहकार्यका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासका लागि १० करोडभन्दा बढी
सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रमका लागि आन्तरिक स्रोतबाट १० करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यसअन्तर्गत सुकुम्बासी व्यवस्थापन, सिटी सफारी तथा टेम्पो चालक दुर्घटना सहायता कोष, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रण, विपन्न परिवारका छोरीलाई सहयोग, लैङ्गिक समानता तथा समावेशीकरण र विपन्न परिवारका सदस्यको दाहसंस्कारमा साझेदारीलगायत कार्यक्रम छन्।
सुकुम्बासी व्यवस्थापनका लागि ५० लाख, सिटी सफारी तथा टेम्पो चालक दुर्घटना सहयोग कोषका लागि २० लाख, सडक मानव व्यवस्थापनका लागि २० लाख र विविध खेलकुद कार्यक्रमका लागि २ करोड ४३ लाख रुपैयाँ छुट्याइएको छ।
खानेपानीका लागि ३ करोड ११ लाख
धरानको दीर्घकालीन खानेपानी समस्या समाधानलाई समेत बजेटले प्राथमिकतामा राखेको छ। खानेपानीतर्फ ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ।
चतरास्थित कोशी नदीबाट धरानमा पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारी गर्न आन्तरिक स्रोतबाट उक्त रकम विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।
आर्थिक विकासमा ६ करोड ५० लाख
आर्थिक विकासका लागि आन्तरिक स्रोतबाट ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि, पशु, पर्यटन, उद्योग, उद्यम तथा रोजगारीसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
सशर्त अनुदानतर्फ आर्थिक क्षेत्रका लागि १ करोड २८ लाख ७० हजार रुपैयाँ तथा संकटग्रस्त सहकारी व्यवस्थापनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ४५ लाख ७५ हजार, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख र राजस्व सुधार तथा संस्थागत क्षमता विकासका लागि ५३ लाख रुपैयाँ छुट्याइएको छ। नगर मिसन कार्यक्रमका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
२० वडालाई २८ करोड ७० लाख
धरानका २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगत खर्चतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
वडागत बजेटमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँ थप गरिएको र गत वर्षको भुक्तानी दिन बाँकी दायित्वसमेत समेट्दा कुल विनियोजन २८ करोड ७० लाख ९४ हजार रुपैयाँ पुगेको हो।
नगर कार्यपालिकातर्फ नगर सभाबाट विनियोजन हुने निश्चित बजेट १ अर्ब ५२ करोड ६० लाख ६१ हजार रुपैयाँ रहेको छ। सशर्त अनुदानबाट ९२ करोड ९७ लाख ४२ हजार, समपूरक अनुदानबाट १ करोड ५ लाख र विशेष अनुदानबाट ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यी सबै स्रोत जोड्दा धरानको आगामी आर्थिक वर्षको कुल बजेट २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँ पुगेको हो।
अघिल्लो वर्ष ६३.५३ प्रतिशत खर्च
बजेट वक्तव्यमा आर्थिक वर्ष २०८२/८३ को खर्च प्रगतिसमेत सार्वजनिक गरिएको छ। संशोधनसहित २ अर्ब ३४ करोड ७ लाख ६३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा असार मसान्तसम्म १ अर्ब ४२ करोड ४५ लाख ९६ हजार २३४ रुपैयाँ खर्च भएको छ।
यो कुल अनुमानको ६३।५३ प्रतिशत हो। खर्चमध्ये चालुतर्फ ९७ करोड २ लाख ६८ हजार २१७ रुपैयाँ, पुँजीगततर्फ ३९ करोड ८३ लाख २८ हजार १६ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५ करोड ५० लाख रुपैयाँ खर्च भएको जनाइएको छ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत दिगो र उच्च प्रतिफल दिने आयोजना पहिचान गरी नागरिक तथा सरोकारवालाको सहभागितामा प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी र पूर्वाधार सुविधासम्पन्न बहुसांस्कृतिक आधुनिक सहरको पहिचान कायम गर्नु बजेटको मुख्य उद्देश्य रहेको छ।




















