हेटौँडा/ रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित ८१ जना घाइते तथा बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले बिहीबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
मन्त्रालयका अनुसार रसुवा अस्पतालमा ४५ जना उपचारका लागि पुगेका छन्। तीमध्ये आठ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ भने एक जनाको मृत्यु भएको छ। हेलिकोप्टरमार्फत उद्धार गरिएका घाइतेलाई रसुवा अस्पतालमा उपचारपछि काठमाडौँ रेफर गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, नुवाकोटको त्रिशूली अस्पतालमा १६ जना उपचारका लागि पुगेका छन्। तीमध्ये १३ जना डिस्चार्ज भएका छन् भने तीन जना उपचाररत छन्। उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा २० जना उपचारका लागि पुगेका छन्। तीमध्ये पाँच जना डिस्चार्ज भएका छन् भने १५ जना उपचाररत छन्। प्रदेशअन्तर्गतका अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली (ईएमटी) समेत परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
भोटेकोशीमा आएको बाढीपछि बागमती प्रदेशका सम्पूर्ण प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थाले र्यापिड रेस्पोन्स टिम ९आरआरटी० तथा इमर्जेन्सी मेडिकल टिम ९ईएमटी० लाई पूर्ण तयारी अवस्थामा राखेका छन्।
आपत्कालीन स्वास्थ्य उपचारका लागि स्वास्थ्य सचिव डा।सुमित्रा गौतमको संयोजकत्वमा क्षतिग्रस्त क्षेत्रमा भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बज्रबाही चापागाउँ अस्पताल, हेटौँडा अस्पताल तथा काठमाडौँको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको छ।
मन्त्रालयका अनुसार घाइतेको रसुवा अस्पताल, त्रिशूली अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटमा उपचार भइरहेको छ। अत्यावश्यक औषधि तथा उपकरणसहित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारीसहितको टोली प्रभावित क्षेत्रमा खटाइएको छ।
जनस्वास्थ्य कार्यालय, प्रादेशिक अस्पताल तथा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयका कार्यालय प्रमुखलाई मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उच्च सतर्कतामा राखी आवश्यक समन्वय, सूचना आदानप्रदान तथा आकस्मिक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
थप सहयोगका लागि ट्रमा सेन्टर, काठमाडौँसँग समन्वय गरिएको तथा स्वास्थ्य आपत्कालीन केन्द्र, काठमाडौँ र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, हेटौँडाबीच निरन्तर समन्वय भइरहेको जनाइएको छ।
_गोरखापत्र अनलाइन




















