धरान । निस्वार्थ भावना र परोपकारको लागि गठित  परिवर्तनका लागि सामाजिक अभियानले सञ्चालन गरेको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकले एक वर्ष पूरा गरेको छ । 

 गत २०७८  असोज २ गतेदेखि सो क्लिनिकको शुरुवात भएको थियो । सुनसरी उद्योग वाणिज्य संघको भवनमा आयोजित उक्त क्लिनिकमा पाक्षिक रुपमा आयोजना गर्ने गरिएको छ । 

हरेक वडामा कार्यक्रम गर्ने अभियान अनुरुप यस पटक धरान जेसीज प्रथम महिला समूहको सहकार्यमा २४ औं संस्करणमा सो कार्यक्रम आयोजना भएको थियो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण हुने सो क्लिनिकमा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । विशेष गरि मुटु रोग, मधुमेह र रक्तचाप सम्बन्धि रोगहरु जाँच गरिने उक्त कार्यक्रममा ७३ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । अभियानका सल्लाहकार मोहन श्रेष्ठ, संयोजक त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल, जेनिश शाक्य, निशान नेपाल, प्रशान्त अग्रवाल र हेम ढकाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको उक्त क्लिनिकमा स्टाफ नर्स चेतना परियारले विरामीहरुको रक्तचाप परिक्षण गरेकी थिईन । 

औषधि र मधुमेह परिक्षण निःशुल्क

परिवर्तनका लागि सामाजिक अभियानले यस पटकको कार्यक्रमदेखि बिरामीहरुको मधुमेह निःशुल्क परिक्षण गरेको छ । मधुमेह भएका बिरामीहरुको परिक्षण पश्चात् मात्र स्वास्थ्य जाँच गरेको थियो । त्यसैगरी बिरामीहरुलाई मुटुरोग र प्रेशरको औषधिहरु पनि निःशुल्क बितरण गरिएको अध्यक्ष बरालले बताए । बरालले भने “यस पटकदेखि हामीले निःशुल्क रुपमा मधुमेह परिक्षण र औषधि वितरण गरेका छौं, यस कार्यबाट बुवाआमाहरुलाई सहजता हुन्छ नै होला ।”

अभियानले आयोजना गरेको यस प्रकारको कार्यक्रममा सहकार्य गर्न पाएकोमा धरान जेसीजकी प्रथम महिला कोपिला श्रेष्ठ अभियान र डा. शाहप्रति आभार प्रकट गरेकी थिईन् ।