काठमाडौं- नेपाल चिकित्सक संघको  दोस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। 

मंगलबार र बुधबार  संचालित सम्मेलनमा विभिन्न ७ वटा विषयमा छलफल भएको थियो।

महामारी रोकथामका बेलाका सिकाइ र अनुभवहरुलाई विश्लेषण गरेर स्वास्थ्य प्रणालीलाई थप उत्थानशिल बनाउन नेपाल चिकित्सक संघले विशेष पहल गर्ने घोषणापत्रमा उल्लेख छ। घोषणापत्रको दोस्रो बुँदामा कोभिड महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षिय सहकार्यको अवधारणालाई सबै तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न पहल गर्ने उल्लेख छ।

त्यसैगरी तीनै तहका सरकारको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ र प्रभवकारी बनाउँदै संविधानप्रदत्त स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न तीनै तहका सरकारको सहभागितामा राष्ट्रिय स्वास्थ्य सभाको आयोजना गर्ने घोषणापत्रमा उल्लेख छ। 

घोषणापत्रमा आपतकालिन अवस्थाको पूर्वतयारी, प्रतिकार्य र रोकथाम लगाएत कार्यको लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापनाको पहल गर्ने, राष्ट्रिय स्वास्थ्य संस्था प्रत्ययन बोर्डको स्थापना गर्ने, औषधि व्यवस्था विभागको क्षमता र दायरा बढाउने, छुट्टै मानव संसाधन विभागको स्थापना गर्ने, औषधि तथा स्वास्थ्य उपकरण खरिदका लागि छुट्टै खरिद ऐन निर्माणको लागि पहल गर्ने लगाएत उल्लेख छ। 

सम्मेलनको पहिलो दिन संघको 'पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी', 'सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर' र 'चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा' विषयमा छलफल भएको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए।

यस्तै बुधबार, 'महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु', 'खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण', 'नेपालमा स्वास्थ्य पर्यटनको संभावना' र 'चिकित्सा शिक्षामा असर र अवसर' विषयमा छलफल भएको थियो।

स्वास्थ्य खबर डटकमबाट साभार