काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएपछि व्यवसायीहरुले कम्तीमा सात दिनको समय मागेका छन्।

महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेपछि व्यवसायीहरुले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका हुन्।

हनुमान फर्माका प्रमुख नवराज खनालले फार्मेसीमा आइसियु र भेन्टिलेटरमा प्रयोग हुने औषधिदेखि फ्रिजमा राखिरहनु पर्ने खोप लगायतका महत्वपूर्ण औषधि रहेकाले केही दिनको समय माग गरेको बताए।

'हामी पसल खाली गर्न तयार छौं,' उनले भने, 'खाद्यन्न पसलमा चामल र आलु सारेजस्तो औषधि सार्न सहज नहुने भएकाले कम्तीमा सात दिन समय दिन माग गरेका हौं।'

उनीजस्तै वीर अस्पताल अगाडिको संरचनामा रहेका थप चार वटा फार्मेसीले कम्तीमा सात दिनको समय माग गरेका छन्। वीर अस्पताल अगाडि नक्सा पास नभएको संरचनामा पाँच वटा औषधि पसल सञ्चालनमा छ।

महानगरले भने यसअघि नै ३५ दिनको सूचना जारी गरेको र र औषधि पसल जस्तो संवेदनशील सेवा सञ्चालन भएकाले माइकिङ गरेर समय दिइएको जनाएको छ।

महानगरका नगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले एउटा नक्सा पास गरेर अर्कै प्रयोजनमा प्रयोग गरेको देखिएकाले टहरा हटाउन माइकिङ गरिएको बताए।

वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो।

स्वास्थ्य खबर डटकमबाट साभार