काठमाडौं– काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका औषधि पसलमा डोजर’ चलाएको   छ। महानगरपालिकाले बुधबार सूचना जारी गरेर २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो। त्यही निर्देशन अनुसार उक्त स्थान खाली गरेको महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पण्डेले बताए।

Nic-asia

व्यवसायीहरुले भने औषधि सार्न कम्तीमा सात दिनको समय मागेका थिए। आफूहरुले नियमित करसहित भाडा तिरीरहेको फार्मेसी संचालकहरू बताउछन्।

‘हामीले नियमित कर सहित भाडा तिरी रहेका थियौं। हामीलाई यो अनधिकृत भन्ने सम्म थाहा थिएन। हिजो पसल हटाउन निर्देशन दिएर आजै डोजर लगाईयो। हामीले समय पाउनु पर्थ्यो। हामी खाली गर्ने थियौं,’मेघन फार्मेसीका संचालक नारायण थापाले बताए।

हनुमान फर्माका सन्तोष ढकाल आफूहरूलाई पसल खाली गर्ने समय नदिएको बताउछन्। ‘हाम्रो सामान बिग्रियो, हामीलाई घाटा लाग्यो भन्दा पनि अब बिरामीहरुलाई पर्ने मारको चिन्ता लागेको छ,’ उनले भने।

यता अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र बस्नेत भने त्यी पसलहरू खाली गर्न अस्पतालले बारम्बार चिठी पठाएको बताउछन्। अस्पतालले पनि त्यी टहरा हटाउन सबैभन्दा पछिल्लो चिठी असार मसान्तमा दिएको उनको भनाई छ।

‘हिजै मैले महानगरसँग उनीहरुलाई केही समय दिन अनुरोध गरेको पनि हो। वीर अस्पतालमा धेरै रोगहरुको उपचार हुने हुँदा सबै खाले औषधि अस्पतालको फार्मेसीमा नपाइन पनि सक्छ। त्यसैले त्यी फार्मेसीको विकल्प तयार नहुँदा सम्म बिरामीलाई अप्ठ्यारो हुन्छ। तर हिजोको आज नै महानगरले फार्मेसीहरू भत्काउला भन्ने सोचेको थिईन,’ उनले बताए।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले टहरा हटाउन सूचना जारी गरेको थियो। 

स्वास्थ्य खबर डटकमबाट साभार