खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा पुन: सुरु भएको छ ।

नगरपालिकाले हस्तक्षेप गरेको भन्दै दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहान, वडा सदस्य पदमकुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरिकुमार खत्रीले भदौ २५ गतेदेखि वडा कार्यालयको सेवा बन्द गरेका थिए ।

मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडाध्यक्ष चौहानबीच भएको छलफलमा सहमति जुटेसँगै ११ दिनपछि वडा कार्यालयको नियमित सेवा सुरु भएको हो ।

वडा कार्यालयमा कार्यरत पुरानै कार्यालय सहयोगीलाई निरन्तरता दिने, वडा सचिव मिनप्रसाद आचार्यलाई वडामा खटाइएको बारेमा लिखित जानकारी उपलव्ध गराउने, अख्तियारमा उजुरी परेको अवस्थामा मध्यपहाडी लोकमार्ग–वडा कार्यालय दोर्पाचिउरीडाँडा सडक ढलानको भुक्तानी दिन नमिल्ने व्यहोराको पत्र उपभोक्ता समितिलाई पठाउने, वडाको हक अधिकारमा हस्तक्षेप नगर्ने सहमति भएपछि वडाको सेवा सुरु भएको हो ।

मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको भुक्तानीको सन्दर्भमा अख्तियारको निर्णयको आधारमा काम अघि बढाउने सहमति भएको मेयर भट्टराईले जानकारी दिए ।

वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका वडाका जनप्रतिनिधिले भदौ ३१ गते नगरपालिकालाई वडा कार्यालयको चाँबी बुझाएका थिए ।