काठमाण्डौ ।‘मोक्ष भूमि’ उपन्यासमार्फत नेपाली साहित्यमा नवीन स्वाद पस्किएका लेखक केशव दाहाल गैर–आख्यान कृति लिएर आएका छन् । किताब पब्लिसर्सले छापेको उनका गैर आख्यान निर्बन्ध लेखनको सँगालो— ‘माधवी ओ माधवी’ शुक्रवार एक समारोहबिच विमोचन गरिएको छ ।

नयाँ शैलीमा लेखिएको यो पुस्तक मूलतः एक लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरूको वृत्तान्त हो । गैर–आख्यानात्मक भइकन पनि आख्यानको स्वाद पाइनु ‘माधवी ओ माधवी’को विशेषता हो ।
‘माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु, जसबाट मेरो पुस्ताको समय, भाव धारा र जीवनको इन्द्रेणीलाई चियाउन सकिन्छ,’ कार्यक्रममा बोल्दै लेखक केशव दाहालले भने । उनले किताबमा केही प्रकाशित र केही अप्रकाशित सामग्रीहरू रहेको उल्लेख गर्दै उनले बताए, ‘प्रकाशित सामग्रीलाई पनि मैले मसिनो गरी नयाँ रङले सजाएको छु र ताजा बनाएको छु ।’

विभिन्न समयमा लेखिएका यी निबन्धहरूमा लेखकले तत्कालीन समय र सन्दर्भलाई मसिनोसँग केलाएका छन् । कतै उनी नितान्त निजात्मक अनुभूतिहरूमा पोखिएका छन्, जहाँ पारिवारिक दुर्घटनाको फलकबाट तत्कालीन सत्ताको क्रूर तस्बिर पनि देखिन्छ । कतै उनी राजनीतिका पेचिला प्रश्नहरूमा डुबेका छन्, जहाँ वैयक्तिक सहभागिताको फलकबाट नेपाली राजनीतिका दुर्घटनाहरू भेटिन्छन् । कतै भने उनले आफ्ना कल्पनालाई पखेटा हालिदिएका छन्, जहाँ समयका सीमाहरू भत्किएका पाइन्छन् ।

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तर संवाद गरेकी थिइन् । लेखक कुमार नगरकोटीले आफ्ना थुप्रै छोटा–मिठा–आकर्षक प्रयोगात्मक कविताहरू वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए, जसमध्ये एउटा थियो: ‘म देवकोटाको पागल पोएट्री हुँ, मन–मस्तिष्कको हिस्टोरिकल मिष्ट्री हुँ !’
कार्यक्रममा रङ्गकर्मी घिमिरे युवराजले ‘माधवी ओ माधवी’माथि टिप्पणी गरेका थिए । ‘व्यक्तिको विचार वा विश्वासको निर्माणमा ऊ बसेको समाजको सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक परिस्थितिले कसरी निर्धारण गर्छ भन्ने कुरा केशवका केही रचनाले मिहिन र कलात्मक ढङ्गले वैचारिक प्रस्तुत गरेका छन्,’ रङ्गकर्मी घिमिरेले टिप्पणी गरे ।
किताब पब्लिसर्सका कल्पना ढकालका अनुसार, फरक फरक स्वादका २३ ओटा निबन्धहरूको सङ्कलन ‘माधवी ओ माधवी’ विगत यात्राको वृत्तान्त मात्र होइन, वर्तमानको सूक्ष्म चित्रण पनि हो । र, हो सुन्दर भविष्यको सपना पनि । यो केवल वृत्तान्त मात्र होइन, निर्मम समीक्षाको सङ्ग्रह पनि हो । र, वस्तुपरक विश्लेषणहरू पनि ।
विभिन्न बान्की र सन्दर्भका निर्बन्ध लेखनमा लेखक दाहालले खासमा आफू, आफ्नो परिवेश र समयलाई उजिल्याएका छन् ।
                                                                           जनम साहित्य कमबाट साभार