नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली प्रतिष्ठान प्रवेश गर्नुअघि शिक्षक थिइन् । स्नातकोत्तर गरेकी उनले काठमाडौंको नैकापस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा ३४ वर्ष शिक्षण गरी हेडमास्टरबाट अवकाश लिएकी हुन् । बुबा जोगनारायण माली र आमा फत्तेकुमारी मालीबाट वि.सं.२०१० साल साउन ४ गते मत्क्ष्य गल्ली काठमाडौंमा जन्मिएकी मालीको ४ वटा कवितासंग्रहहरु प्रकाशित छन् । लामो समयदेखि विभिन्न साहित्य संस्थाहरुमा आवद्ध भएर काम गर्दै आइरहेकी नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान प्रवेश गर्नु अघिको तपाइँको पृष्ठभूमि स्मरण गर्नुहोस् न ?
प्रज्ञा प्रतिष्ठानमा आउन ४ वर्ष अघिसम्म म विद्यालयको हेडमास्टर थिएँ । राजनीतिक, सामाजिक आन्दोलन, शिक्षक आन्दोलनमा भाग लिने गर्थेँ । पारिजात स्मृति केन्द्रको सदस्य सचिव भएर २ वर्ष र अध्यक्ष २ कार्यकाल काम गरेँ । म अध्यक्ष भएको बेला नै पारिजात स्मृति केन्द्रको भवन शिलान्यास भएको हो । किर्तीपुरमा विकल्प नामक संस्था छ, जसले महिलाहरुलाई कसरी सक्षम बनाउने ? महिलाहरुले आफ्नो जीवनशैली कसरी रुपान्तरण गर्ने ? भन्ने विषयमा काम गर्दथ्यो । प्रगति लेखक संघको दुई कार्यकाल केन्द्रीय सदस्य भएर काम गरेँ । रातो घर नामक संस्थाको संस्थापक अध्यक्ष थिएँ, जसमार्फत विभिन्न साहित्यक गतिविधिका कामहरु गरेका छौं । साहित्यसँग त म विद्यार्थीकालदेखि नै परिचित व्यक्ति हुँ । स्कुले जीवनमै म साहित्यक कार्यक्रमहरुमा सहभागी बन्ने गर्थेँ । जब २०२८ सालमा एसएलसी गरेपछि पद्मकन्या क्याम्पस पुगेँ, त्यहाँको साहित्यिक माहोलले मलाई तान्यो । मैले कविताहरु वाचन गर्ने मौका पाएँ । मेरो कवितासंग्रह प्रकाशित भयो । यसरी सुरु भएको मेरो साहित्यक यात्रा निरन्तर अघि बढिरह्यो । पेशाले शिक्षक थिएँ । काठमाडौंस्तिथ नैकापमा शिक्षण गर्न सुरु गरेपछि त्यहाँको वातावरणले मलाई अझ लेख्न प्रेरित गर्यो । त्यो ठाउँको बेतिथि, असमानता र विसंगतिले निम्त्याएका घटनाहरुले मलाई अझ लेख्नुपर्छ भन्ने बनायो । शिक्षण पेशाबाट अवकाश लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठान आएको हुँ ।
महिला भएर विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी वहन गरी प्रशासन सम्हाल्दाको अनुभव कस्तो रह्यो ?
त्यतिबेला राजनीतिक उथलपुथल थियो । त्यस विद्यालयमा विभिन्न स्वार्थले होडबाजी चल्थ्यो, जसले गर्दा अलिक कठिन सिर्जना हुन्थ्यो । बाँकी त म २०३४ सालमा उक्त विद्यालयमा नियुक्ति पाएर शिक्षण गर्न पुगेको हुँ, लामो समय ‘भाइस प्रिन्सिपल’ त्यसपछि ‘प्रिन्सिपल’ भएर २०६९ सालमा सोही विद्यालयबाट अवकाश लिएको हुँ । त्यो ३४ वर्षको अन्तरालमा राजनीतिक अफ्ठ्यारा बाहेक सहज रुपमा प्रशासनिक काम गरेँ । म हेडमास्टर भएपछि विद्यालयको नतिजा पनि राम्रो आयो । विद्यार्थीहरु पनि अनुसाशित भए । जे होस् कार्यकाल सुखद रह्यो । सन्तुष्ट भएर विद्यालयबाट फर्किएँ ।
तपाइँले सरकारी विद्यालयमा शिक्षण गर्नुभयो, फेरी प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ भएर आउनुभयो, वास्तवमा सरकारी भन्ने वित्तिकै जनतामा एक किसिमको अविश्वास र असन्तुष्टि पैदा हुन्छ नि हैन ? तपाइँलाई कस्तो लाग्छ ?
सरकारी कामप्रति असन्तुष्ट हुने भन्ने त हैन, यद्यपी सरकारी कार्यहरु गर्दा सरकारको नियम र कार्यविधि भित्र रहेर गर्नुपर्ने हुन्छ । स्वतन्त्र भएर आफू खुशी काम गर्न नमिल्ने भएकोले हामी बाँधिएका हुन्छौं । विद्यालयको विषयमा मलाई चित्त नबुझेको कुरा के हो भने, स्थाइ शिक्षकले राम्रो प्रस्तुति गर्न नसकेको खण्डमा कसैले कारबाही गर्न सक्तैन । निजी विद्यालयमा जस्तो निष्कासन गर्न सकिदैन । जसले गर्दा राम्रो सिकाइ नहुन सक्छ । विद्यार्थीको पढाइ खस्किन्छ, त्यसैले सरकारी विद्यालयप्रतिको हेर्ने नजर फरक भएर जान्छ । प्रज्ञा प्रतिष्ठानमा पनि व्यक्तिगत संघसंस्थाहरुमा जसरी स्वतन्त्र भएर काम गर्न सकिन्न । प्रज्ञाको दायरा भित्र बसेर काम गर्नुपर्ने हुन्छ । उदाहरणको लागि बजेटको कारण अनुसन्धानको काममा भनेजस्तो काम गर्न सकिन्न । थोरै बजेटमा अनुसन्धान गराउँदा त्यसको असर परिणाममा पर्न सक्छ । वास्तवमा अन्य विभागको तुलनामा मातृभाषा साहित्य विभागको लागि बढी बजेट चाहिन्छ । धेरै भाषा र साहित्यमाथि काम गर्नुपर्ने हुन्छ । तर प्रज्ञाले निर्धारण गरेको बजेटभित्र काम गर्नुपर्ने हुन्छ, जसले गर्दा सबै मातृभाषा साहित्यको काम गर्न गाह्रो हुन्छ । थोरै बजेटमा धेरै काम गर्नुपर्ने हुन्छ । तैपनि काम भएकै छ । सरकारी काम भन्ने वित्तिकै निरासै हुनुपर्छ भन्ने लाग्दैन ।
शिक्षण पृष्ठभूमिबाट आउनुभएको तपाइँलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा काम गर्दा सजिलो अफ्ठ्यारा केहि छन् ?
मैले जे जति काम गरेँ, ती कुनै पनि काम कहिल्यै गाह्रो लागेन । विद्यालयमा रहँदाताका पनि विभिन्न शिक्षक आन्दोलनमा सहभागी भएर काम गरेको थिएँ । प्रज्ञा आउनु ४ वर्ष अघि मात्रै अवकाश पाएको हुँ । त्यस समयमा पढ्ने, लेख्ने तथा साहित्यसँग सम्बन्धित थुप्रै कामहरु गरेँ । राजनीतिक, सडक लगायत विभिन्न आन्दोलनमा सहभागी बनेँ । त्यसपछि प्रज्ञा आएको हुँ । यहाँ आएर यस मातृभाषा साहित्य विभाग सम्हालन पाउँदा खुशी लागेको छ, गाह्रो लागेको छैन ।
तपाइँको कार्यमा कोभिडले असर गर्यो ?
संयोगको कुरा मलाई कोभिड लागेन । आफूलाई नै संक्रमण नभएपछि काममा पनि त्यति धेरै असर परेन । कोभिडले देश हताहत बनाएको अवस्थामा पनि म अफिस जाने आउने गरिरहेँ । गोष्ठी, अनुसन्धान र प्रकाशन ३ वटै विषयमाथि सक्दो काम गरेँ । मलाई लाग्छ, केहिबाहेक म आफूले साचेजति काम गरेको छु ।
नेपालमा धेरै मातृभाषाहरु छन्, तपाइँले विशेष कुनकुन भााषामाथि काम गर्नुभयो ?
थारु, राई, लिम्बु, नेपाल भाषा, मगर, मैथली लगायत धेरै भाषाहरुमा काम गरेँ । थारु लोक साहित्य, नेपालभाषा लोक साहित्य, किरात लोक साहित्यहरुलाई पुस्तकको रुपमा निकालेँ । विभिन्न १४ वटा भाषाका साहित्यका इतिहास निकालेँ । प्रज्ञा प्रतिष्ठानले पहिला नै मातृभाषा साहित्यको इतिहास पुस्तक निकालिसकेको थियो, मैले दोस्रो भाग भनेर १४ वटा भाषाको इतिहास निकालेँ । नेपाल भाषा साहित्यमा महिला आख्यानकारहरुको इतिहास पनि निकालेँ । नेपाल भाषाका महिलाहरुले पाँच सय वर्ष अघिदेखि साहित्य लेखेका हुन्, त्यो इतिहास निकालेँ । मैले मातृभाषा साहित्यमाथि काम गर्ने हो । आफै खोज्न जान गाह्रो भएतापनि जुनजुन भाषाका मेरा सम्पर्कमा आउनुभयो ती भाषाहरुमा काम गरेँ । करिब १८ वटा पुस्तकहरु निकालेको छु ।
तर, नेपाल प्रज्ञा प्रतिष्ठानले गरेका कामहरुले खासै चर्चा पाएजस्तो लाग्दैन नि, किन होला ?
नेपाल प्रज्ञा प्रतिष्ठानले गरेका सबै गतिविधिहरु सामाजिक संजाल मिडियाहरुमा आइरहेको हुन्छ । हाम्रो विक्री कक्षमा पनि हुन्छन् । विज्ञापन भने आउँदैन । सायद विज्ञापनको समय भएर होला कि ? प्रज्ञाका कामहरु हल्ला गर्ने भन्दा पनि ऐतिहासिक दस्तावेजहरु हुन् ।
जुनजुन भाषाका साहित्यमाथि काम हुन्छन्, ती कार्यले ती भाषाका समुदायमाथि कस्तो प्रभाव छोडिरहेको छ ?
यसले समाज र समुदायमाथि कस्तो प्रभाव पार्यो भन्ने त भोलीको कुरा हुन् । नेपालभाषा समृद्ध भाषा हो, तैपनि नेवार लोकसाहित्य निकाली सकेपछि त्यसले नेवार समुदायमा निक्कै चर्चा पायो । जस्तै, थारु लोक साहित्य नेपाली भाषाबाट निस्किसकेपछि गैरथारुहरुले पनि थारु समुदायको साहित्य पढ्न पाए, बुझ्न पाए । त्यसैले यस्ता कामको प्रभाव तुरुन्तै खोज्न मिल्दैन, भोली देखिने कुरा हुन् जस्तो लाग्छ मलाई ।
तपाइँले नेपाल भाषा साहित्यको विषयमाथि कुरा गरिरहँदा लक्ष्मी प्रसाद देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाल भाषा साहित्यको कपी हो, उनी चोर कवि हुन् भन्ने आरोप लागिरहेको छ नि ? स्पष्ट पारिदिनुहोस् न ?
चोरेको त भन्न मिल्दैन प्रभावित भने हुन् । नेपाल भाषाको साहित्यमा ‘जि वया ला लछी मदुनि’ गीतिकाव्य छ, त्यसको हुबहु छ ‘मुनामदन खण्डकाव्य’ । मात्रै भाषा फरक छ । जि वया ला लछी मदुनि गीतिकाव्यसँग हुबहु मिल्ने हुँदा लक्ष्मीप्रसाद देवकोटाले इमान्दारपूर्वक यस गीतिकाव्यबाट प्रभावित हो भनेर किताबमा उल्लेख गर्नुभएको भए राम्रो हुनेथियो, त्यसो गर्नुभएन । मुनामदन भन्दा धेरै अघिको गीतिकाव्य हो ‘जि वया ला लछी मदुनि’ गीतिकाव्य । अर्को कुरा मुनामदनमा क्षत्रीको छोरो ल्यासा गएको देखाएको छ, त्यो समयमा क्षत्रीहरु ल्यासाको व्यापारमा गएको देखिँदैन । ल्यासा जाने त नेवार साहुहरु नै हो । यिनै कारणहरुले गर्दा पछिल्लो समय मुनामदन विवादित जस्तो बनेको हो । तर, चोर कवि नै चैँ भन्न मिल्दैन, प्रभाव भने परेकै हो र प्रभावित हो भनेर लेख्न लक्ष्मीप्रसाद देवकोटा चुक्नुभएको हो ।
तपाइँ आफैले मातृभाषा साहित्य विभाग सम्हालिरहनुभएको छ, यथार्थ यो हो, यस भ्रमलाई चिर्नुपर्छ भन्ने उद्देश्यले केहि काम गर्नुभयो ?
त्यो त मैले गरिनँ । म मातृभाषा साहित्यमा बसेर काम गरिरहेको त छु, तर यसबारे मैले पूर्ण अनुसन्धान भने गरेको या गराएको छैन । चोरिएकै हो भन्नलाई त मैले सप्रमाण प्रमाणित गर्नुपर्छ । यस कार्य प्रज्ञाले गर्ने अनुसन्धानभित्र त पर्छ, यदि कसैले ‘प्रपोजल’ हालेको भए म अनुसन्धान गर्न दिन सक्थेँ तर प्रपोजल आएन, मैले यसमा गर भन्न मिलेन । पढ्दाखेरी भने दुवै हुबहु छन् ।
अघिल्लो प्राज्ञले गर्नुभएको कामको तुलनामा केहि पृथक काम पनि गर्नुभयो ?
म भन्दा पहिलो कार्यकालका प्राज्ञ ज्यूले केके गर्नुभयो भन्ने विवरण मैले खोजेको छैन । काम गर्ने दायरा तीनै ३ वटा भएको हुँदा वहाँको तुलनामा मैले फरक काम गरेँ भन्न पनि मिल्दैन । थोरै घटिबढी भने हुन सक्न ।
लगभग तपाइँको कार्यकाल सकिन लाग्यो, आफ्नो कामहरुलाई फर्केर हेर्दा कतिको सन्तुष्ट मिल्छ ?
अघि पनि भनेँ, मेरो काममा कोभिडले पनि त्यति धेरै असर गरेन । हुन त बाहिर गएर गोष्ठी गर्ने कामहरु गर्न सकिएन । कोभिड नभएको भए मेचिदेखि महाकालीसम्म जान सक्थ्यौं । विभिन्न लोपोन्मुख भाषाका साहित्यहरु खोज्न सक्थ्यौं । २/४ वटा औंलामा गनिएका कामहरु गर्न पाइनँ । तैपनि काठमाडौंमा नै गोष्ठी, अनुसन्धान गराएर प्रकाशन गर्न सकेँ । म त्यति असन्तुष्ट छैन । कोभिड नएको भए अलिक काम गर्न सकिन्थ्यो भन्ने चाहिँ लाग्छ ।
अन्त्यमा तपाइँको अर्को कार्यकालका लागि दोहोरिने सम्भावना कतिको छ ?
त्यो सरकारको हातको कुरा हो, मलाई थाहा छैन । यदि पुनः दोहोरिन पाए बाँकी रहेको मेरा अधुरा कामहरु पुरा गर्ने थिएँ ।
साभार ः–https://nepalmamila.com/