धनकुटा/ धनकुटा सदुरमुकाममा रहेको तथ्यांंक कार्यालय र पाख्रीबासमा रहेको राष्ट्रिय व्यवसायीक कृषि अनुसन्धान कार्यालय अन्यत्र सार्ने भनिएपछि धनकुटाका राजनीतिक दलहरुले आन्दोलनको घोषणा गरेका छन् । 

सोमबार धनकुटा नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध गरेका छन् ।

उनीहरुले मंगलबार धनकुटामा कार्यालय नसार्न दबाब दिँदै शान्तिपूर्ण र्‍याली समेत निकालेका छन् ।

एक ताका पूर्वाञ्चल क्षेत्रीय सदरमुकाम रहेको धनकुटाका सरकारी कार्यालयहरु राजनैतिक कोपभाजनमा परी २०४७ साल पश्चात अन्यत्र सार्ने क्रम यद्यपी रोकिएको छैन ।

पुनरावेदन अदालतदेखि महत्वपूर्ण सरकारी कार्यालयहरु विराटनगर लगायत अन्यत्र सारेपछि सुनसान बन्दै गएको धनकुटामा रहेका एका एक सरकारी कार्यालयहरु पछिल्लो पटक अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय र राजनैतिक दलहरु वर्तमान सरकारप्रति आक्रोसित भएका ह्न् ।

केही समय अगाडि नेपाल कम्युनिस्ट पार्टी एमालेले विज्ञप्ती नै प्रकाशित गरी धनकुटाका सरकारी कार्यालय अन्यत्र नसार्न सरकारलाई चेतावनी नै दिएको थियो ।

विज्ञप्तीमा भनिएको छ, ‘२०४६ सालमा वहुदलीय व्यवस्था आएपछि यता बनेका हरेक सरकारबाट धनकुटा जिल्लालाई उपेक्षा गर्दै भएका सरकारी कार्यालयहरु अन्यत्र सार्ने र धनकुटालाई सुनसान, उजाड बनाउने षड्यन्त्रहरु पटक पटक भएका छन् ।’ 

लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि बनेका प्रदेश र संघीय सरकारहरुले पनि त्यसखाले हर्कतहरु पटक पटक गर्दै आइरहेको सन्दर्भमा अहिले पनि यस्तै अप्रिय निर्णयहरु हुन लागेकोले धनकुटाका समसामयिक विषय समेटेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षणपत्रमा भनिएको छ,

‘धनकुटामा रहेको तथ्याक कार्यालयलाई खोटाङ सार्ने, पाख्रीबास नगरपालिकामा रहेको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यालयलाई इलाम सार्ने निर्णय भएकोले तुरुन्त उक्त निर्णय बदर गरी धनकुटामै राख्न आग्रह गर्दछौं ।’

यसैगरी धनकुटामा रहेको प्रदेश सरकार मार्फत एक सय बेडको हस्पिटल बनाउने निर्णय भए अनुसार जग्गा प्राप्तिको प्रक्रिया जिल्ला र प्रदेश सरकार मार्फत निर्णय गरी पठाइ सकिएकोमा संघीय सरकारले तत्काल निर्णय गर्नुपर्नेमा सो नगरी ढिलासुस्ती गरी निर्माण कार्यमा बाधा पुगेको हुँदा धनकुटेहरु थप ससंकित भएका छन् । ध्यानाकर्षणपत्रमा आगाडि भनिएको छ ‘तत्कालीन एमालेको सरकारका समयमा पाख्रीबास मुगा राईघाट घोडेटार

भोजपुर सडक कालोपत्रे र अरुण नदीमा पक्की पुल निर्माणका लागि ८५ करोड रुपैया वहुवर्षीय योजनामा स्वीकृत भइ निर्माण कार्य भइरहेको अवस्थामा वर्तमान सरकारले उक्त बजेट कटौती गरी कार्यलाई रोक्ने काम भएको हुँदा बजेट पुनः व्यवस्थापन गरी कालोपत्रे र पुल निर्माण कार्यलाई निरन्तता दिनुपर्ने,

सबै पालिकामा अस्पताल बनाउने निर्णय भएकोले सो अनुसार देशैभरि एकैदिन उद्घाटन भइ धनकुटामा पनि अस्पताल निर्माण कार्य भइरहेकोमा हाल आएर बजेट कटौति गरिएको हुँदा निर्माणाधीन भवनहरु अस्तव्यस्त र अलपत्र भएकोले तत्काल बजेटको व्यवस्था गरी निर्माण कार्यहरु सम्पन्न गर्नुपर्ने जनाएको छ ।