शिक्षाको लागि संगीत,संगीतका लागि शिक्षा’ भन्ने मुल नारा सहित निरन्तर हरेक वर्ष आयोजना हुँदै आएको छ ।

यो बर्ष पनि चौथो संस्करण हुँदैछ  । यसका लागि विभिन्न चरणहरु पुरा गरेर अब “एसईई आइडल २०८०” को फाइनल प्रतियोगिता यही असार ७ गते हुँदैछ  । गायन र नृत्य विधा तर्फ यो प्रतियोगिता हुँदै आएको छ ।

प्रतियोगिताबाट गायन आइडल र नृत्य आइडल बन्ने छन् । धरान १५ स्थित चुम्लुङ हिममा दिउँसो १ बजेदेखि ग्राण्ड फिनाले हुदैछ । फक्तालुङ मिडिया हाउसकोे आयोजनामा हुँदै आएको उक्त प्रतियोगिता चौथो संस्करण सम्म आइपुग्दा कोशी प्रदेशमा स्थापित कार्यक्रम हुन सफल भएको छ ।

एसइई दिएर बसेका विद्यार्थीको प्रतिभालाई खोजी गरेर त्यो प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुको भविष्यको लागि शिक्षासँग जोड्ने मुल लक्ष्य लिएको यो प्रतियोगिताले खोजी प्रतिभाको प्लेटफर्म मात्रै नभएर उच्च शिक्षा हासिल गर्नको निम्ति मार्ग प्रशस्त गर्दै आएको छ ।

यसै सन्दर्भमा आयोजक फक्ताङलुङ मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बर तुम्बापोसँग धरान लाइभले गरेको कुराकानी सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

dd

#एसईई आइडल २०८० को फाइनल प्रतियोगिताको तयारी कस्तो छ ?

कोशी प्रदेशका विभिन्न १४ जिल्लाहरुबाट हजारौको संख्यामा एसइई दिएर बसेका विद्यार्थीहरुले यो चौथो संस्करणको लागि सहभागिता जनाए । उनीहरु सबै जनालाई हार्दिक आभार र धन्यवाद दिन चाहन्छु ।

यो वर्ष निकै उत्साहजन सहभागिता रहेको छ । विगतका वर्षहरुमा हामी आफैं प्रतिभा खोजी गरेर जान्थ्यौं तर अहिले भने विद्यार्थी आफैंले पनि खोजी र चासो राख्न थालेका छन् ।

यसपाली कोशी प्रदेशका १४ जिल्लाबाट नै हजारौ विद्यार्थीहरुले सहभागिता जनाएका छन् । जस मध्ये गायन र नृत्य तर्फ १०,१० जना फाइनलमा प्रवेश गरेका छन् । फाइनलिष्टहरुको अब यही असार ७ गते विश्व संगीत दिवस पनि हो,धरान संगीतमय हुने छ ।

त्यसका लागि राष्ट्रिय कलाकारहरु अस्मिता अधिकारी,विकास लिम्वू,डान्स कोरियो ग्राफरमा देविका खत्री सहितको दमदार प्रस्तुती रहने छ । धरानकै चेली र धरानकै कलाकार गहना गायिका लोचन भट्टराईलाई कार्यक्रमको प्रमुख अतिथी बनाएका छौं ।

उहाँ एउटा सांगितिक क्षेत्रको सदाबहार कालजयी गीत गाउने राष्ट्रकै गहना हो । लगभग हामीले ग्राण्ड फिनालेको अन्तिम तयारी पुरा गरेका छौ । सवै कुराको तयारी गरि नै रहेका छौं ।

#चौथो संस्करणमा आइपुग्नु भएको छ,कस्तो भइरहेको छ ?

हामी चौथो संस्करण सम्म आइपुग्दा यसको ब्यापकता बढेको छ । हामीले कोरोना अघिबाट यो प्रोगाम शुरु गरेका हौ ।

शिक्षालाई संगीत र संगीतलाई शिक्षामा जोड्ने एउटा अभियान पनि हो । संगीतमा प्रतिभा हुने भाई बहिनीहरुको लागि विशेष गरेर एसईई पछाडि उच्च शिक्षा अध्ययन गर्न सहज होस् पुगोस् भन्ने नै मुल उद्धेश्य हो ।

फलस्वरुप हामीले यो एसईई आइडल एउटा प्लेटफर्मको रुपमा विद्यार्थीहरुको लागि बनाई दिएका छौं । सिजन वानदेखिका जति पनि भाइबहिनीहरु छन्,उनीहरुले नेशनल प्लेटफर्महरु पाएका छन् ।

एसईई आइडल भएकाहरु नेपाल आइडल, भ्वाइज अफ नेपालमा पनि गित गाएर राम्रो प्रस्तुतीहरु गरिसकेका छन् ।

फस्ट सिजनको गौरब राईले एजुकेशन पार्टनर जेभियर इन्टरनेशनलले दुई बर्ष निशुल्क छात्रवृति पाएर अध्ययन गर्ने अवसर पाए । त्यहाँबाट अहिले काठमाण्डौ विश्व विद्यालयमा म्युजिकमा व्याचलर लेवल पढ्दैछन् ।

त्यसैगरि सिजन २,३ का विजेता आइडल भएका विद्यार्थीहरुलाई हाम्रो एजुकेशन पार्टनर नेपालकै टप कलेज काठमाण्डौं मोडल कलेजमा फाइनलिष्टहरुलाई ५० प्रतिशत र विजेतालाई १०० प्रतिशत छात्रवृतिमा निशुल्क अध्ययन गरिरहेका छन् ।

त्यसै गरेर कोशी प्रदेशका लागि चाहिँ प्रदेशकै उत्कृष्ट कलेज युएन नवोदय कलेजले फाइनालिष्ट र विजेता भाई वहिनीहरुलाई छात्रवृतिको व्यवस्था गरेका छौं ।

#यो कार्यक्रमले एसईई दिएका भाई बहिनीलाई थप उर्जा र अध्ययन गर्न अनि उनीहरुको रुचीलाई पुरा गर्नको निम्ति सहयोग पुर्याएको छ ?

एकदमै हो । हाम्रो उद्धेश्य पनि त्यहीँ नै हो । अध्ययन र विद्यार्थीको प्रतिभालाई उजागर गरि त्यो प्रतिभा प्रस्फुटन गराउनु नै हो । जस्ले गर्दा नै हामीले शिक्षाको लागि संगीत भनेर नारा तय गरेका होै ।

त्यो नारा पुरा गराउन हामी लागि परेका छौ,त्यसको परिणाम देखिएको पनि छ । त्यतिमात्रै होइन नी रुएसईई आइडलमा विजेता हुनेले नगद ५० हजार रुपैंया पुरस्कार नगद नै पाउने छन् ।

त्यसैगरि बिजेताले मुस्ताङको लागि निशुल्क भ्रमण गर्न पनि पाउनेछन् । प्लस टु पढ्नको लागि निशुल्क अध्ययन गर्न पाउनेछन् ।

#यसपाली प्रतियोगितामा विद्यार्थीको सहभागिता कस्तो रह्यो त ?

एकदमै यो कार्यक्रमको लोकप्रियता बढेर गएको छ,यसको व्यापकता प्रदेशभरी नै पुगेको छ । १४ वटा नै जिल्लाका विद्यार्थीहरुले सहभागिता जनाए । फिजिकल्ली र डिजिटल गरि दुई प्रक्रियाद्धारा यहाँ सम्म आइपुगेका छौ ।

पहाडी जिल्ला संखुवासभा, खोटाङ,भोजपुर,धनकुटा तेह्रथुम,सोलुखुम्बु लगायतका विद्यार्थीहरुले पनि डिजिटल अडिसनमा भाग लिएका थिए ।

हजारौ विद्यार्थीहरुबाट अहिले छानिएका छन् र गायन तथा नृत्य तर्फ १०–१० जना छानिएर फाइनल राउण्डमा पुगेका छन् ।

#यो वर्षको एसईई आइडलमा आयोजकले त्यस्तो नयाँ थप योजना पनि ल्याएको छ की त्यहीँ पुरानै हो ?

यो कार्यक्रमको विजेताले ५० हजार नगद पुस्कार सहित प्लस टु अध्ययन गर्न नेपालभरी जहाँ पढेपनि निशुल्क छात्रवृति प्राप्त गर्नेछन् ।

पुरस्कार दुवै विजेता विधाका भाई बहिनीहरु गायन र नृत्य तर्फ नै पाउँछन् । मुस्ताङ भ्रमण पनि निशुल्क प्राप्त गर्ने छन् ।

त्यसैगरि गायन र नृत्य दुबै तर्फका फाइनालिष्टहरुले पनि नेपालभरी काठमाण्डौ पढे पनि धरान पढेपनि ५० प्रतिशत छात्रवृति कक्षा ११ र १२ का लागि प्राप्त गर्नेछन् ।

फाइनालिष्टमा पुग्नेहरुले त ५० प्रतिशत छात्रबृति प्राप्त गरिसकेका छन् भने बेकरी र बारिष्टा तालिमको लागि पनि ५० प्रतिशत छात्रवृति पाइनै सकेका छन् ।

यसपालीबाट यो कार्यक्रमको मुख्य प्रायोजक युएन के एण्ड बारिष्टाले फाइनालिष्टहरु सबैलाई ५० प्रतिशत छुटमा तालिमको व्यवस्था गरेको छ र विजेतालाई ८०,७० र ६० प्रतिशत छुटको व्यवस्था सहित तालिमको व्यवस्था गरेका छौ ।

यसमा बारिष्टा,बेकरी र केक मेकिङको तालिम पाउने छन् । विद्यार्थीहरुको अवस्था र आर्थिक समस्यालाई मध्यनजर गर्दै निशुल्क फारम समेत वितरण गरेका थियौं । तालिमहरु यति धेरै दिएका छौ की त्यो तालिम बापत हामीले एक रुपैयाँ पनि शुल्क लिएका छैनौ ।

फाइनालिष्टमा आएकाहरु सबैलाई नै विभिन्न ट्रफि र नगद सहित पुरस्कृत गर्नेछौ । फस्ट रनर अप,सेकण्ड रनर अप र थर्ड रनरअप सहित अन्य फाइनाष्टिलाई पनि नगद ५ हजार सहित पुस्कृत गर्दैछौ । खाली हात कोही पनि जाँदैनन् । यस्ले गर्दा विद्यार्थीहरुको लागि यो एउटा ठुलो अवसर पनि हो ।

#विद्यार्थीको लागि यतिधेरै कसरत गरेर प्रतियोगिता निरन्तर गर्दै आउनु भएको छ, तपाईहरुलाई सहज नै छ,चुनौतीहरु र समस्याहरु छैनन् ?

अवस्य पनि चुनौती र समस्याहरु नभई सफलता मिल्दैन । तर यो प्रतियोगितालाई शुरुवाती अवस्थादेखि नै मुख्य प्रायोजन चौधरी ग्रुपको वाईवाईले गरिरहेको छ ।

यो निरन्तर नै छ । त्यसैगरि एजुकेशन पार्टनर काठमाण्डौ मोडल कलेज,प्रदेशकै उत्कृष्ट कलेज युएन कलेज धरान,एनएमबी बैंक ,इडेन एजुकेशन कल्सल्टेन्सीको यो प्रतियोगिता आयोजना गर्नको लागि निरन्तर साथ र सपोर्ट छ ।

आगामी दिन समेत निरन्तर साथ र सपोर्टको अपेक्षा गर्दछौ । यो चौथो संस्करण सम्म आइपुग्दा अहिले धरै संघ संस्थाहरुले पनि सहयोग र सपोर्ट गरेको कारण हामी निरन्तर अब्बल बन्दै गईरहेका छौं ।see