धरान ।“१२ वर्षदेखि मैले मुटु जचाउँदै आएको डाक्टरलाई आफ्नै आँगनमा पाउँदा साह्रै नै खुशी भएकी छु” झापा गाउँपालिका वडा नं. ७ की स्थानीय फुलमाया राजवंशीले बताईन । 

मुटुको अप्रेशन गरिदिने डाक्टरलाई जचाउँन करिब सय किमी टाढा जानुपर्ने बाध्यता रहेको राजवंशीले घरकै आँगनमा भेट्दा भावुक समेत भएकी थिईन । परिवर्तनका लागि सामाजिक अभियानले पाक्षिक रुपमा आयोजना गर्दै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २५ औं संस्करण सम्पन्न भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले उक्त क्लिनिकमा मुटुरोग, मधुमेह र उक्त रक्तचापका विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । 

विगत १ वर्ष अगाडिदेखि शुरु भएको यस कार्यक्रमको २५ औं संस्करण झापा जिल्लाको झापा गाउँपालिका ७ मा आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “गत २०७८ असोज २ गतेदेखि हामीले शुरु गरेको क्लिनिक २४ औं संस्करण सम्म धरानका विभिन्न वडाहरुमा आयोजना गरेका थियौं, यस पटक झापा गाउँपालिकाको दुर्गम क्षेत्र वडा नं. ७ मा ग¥यौं, गाउँवासीहरु निक्कै नै लाभान्वित हुनु भयो” बरालले भने । 

नेपाल हृदयरोग प्रतिष्ठान झापा, रोटरी क्लब अफ सुरुङा, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र झापा गाउँपालिका वडा नं. ७ को सहकार्यमा आयोजित उक्त क्लिनिकमा १०२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले अभियानबाट आयोजित कार्यक्रमप्रति खुशी व्यक्त गर्दै आफ्नो समेत स्वास्थ्य परिक्षण गराएका थिए । वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स रेणु चौधरीले मधुमेह र उच्च रक्तचाप परिक्षण गरेकी थिईन । कार्यक्रममा बिरामीहरुको निःशुल्क मधुमेह परिक्षण र औषधी वितरण समेत गरिएको थियो । 

त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा वर्षा अग्रवाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल, निशान नेपाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो । नेपाल हृदयरोग प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले अभियानले यति टाढा पनि आएर झापावासीको लागि यस्तो कार्य गरेकोमा खुशी व्यक्त गरे । “धरानबाट ९५ कि.मी. टाढा आएरपनि दुर्गम क्षेत्र झापावासीका लागि यस्तो सह्राहनीय कार्य गरेकोमा हामी हर्षित भएका छौ” पोखरेललले बताए ।