इटहरी । एसियन लाइफ इन्स्योरेन्स कम्प्नीले विराटनगरका स्वर्गीय कृष्ण प्रसाद नेपालको परिवारलाई विमा रकम प्रदान गरेको छ ।
मुख तथा घाँटीको क्यान्सरका कारण निधन भएका नेपालका परिवारलाई आज कम्पनिको इटहरी शाखाबाट निजको घरमै पुगेर २० लाख ६४ हजार रूपैयाँ बिमा रकम हस्तान्तरण गरिएको हो । नेपालले १० लाख रूपैयाँ बिमांकको वार्षिक धनलाभ बिमा गराएका थिए ।कम्पनीले उनको श्रीमती निता नेपाललाई हस्तान्तरण गरेको हो । नेपालले दुइ वर्ष अघि एशियन वार्षिक धनलाभ बिमा योजनाको दोब्बर सुरक्षा अन्तगर्तको १० लाख बिमांकको जीवन बिमा गर्नु भएको थियो । उक्त योजना अन्तर्गत कालगतिमा बिमितको निधन हुँदा बिमांकको दोब्बर र दुर्घटनामा निधन हुँदा तेब्बर रकम पाउने सुविधा रहेको छ । जिब्रो तथा घाँटिमा समस्या भएका नेपाललाई गत माघ महिनामा क्यान्सर निदान भएको थियो । करिव चार महिना खानेकुरा र पानी समेत निल्न नसकेका कारण पुरै शरीर सुकेर नेपालको निधन भएको परिवार सदस्यहरूले बताएका छन् ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा वरिष्ठ राजनितिकर्मी एवं कम्पनिका वरिष्ठ अभिकर्ता हिमाल सुवेदिले बिमा भनेको समय अवधि पुराहुँदासम्म बिमा गर्ने ब्यक्ति सकुसल रहँदा बोनस सहित आफ्नो लगानी सुरक्षित रूपमा फिर्ता हुने र निधन भएमा परिवारलाई आर्थिक सुरक्षा दिने माध्यम भएपनि समाजमा बिमा प्रतिको चेतना अझै बढ्न नसकेको तथा बिमालाई सुरक्षित लगानीको सट्टा बोझिलो खर्चको रूपमा लिने र बिमा अभिकर्ता देख्दा तर्केर हिड्ने परिपाटी रहेको तितो यथार्थ रहेको बताए ।