#चालक(यातायात श्रमिक)#हरूलाई_सुझाव
दसैं तथा चाडपर्वको समय सडक दुर्टना बढी हुने गरेको छ । हाम्रो सडक पूर्वाधार पर्याप्त र मापदण्डअनुसार छैन, सवारीसाधन पर्याप्त र उपयुक्त छैन, ट्राफिक संकेत चिन्हहरू पर्याप्त छैनन् भएका पनि व्यवस्थित छैनन्, सडक सुरक्षा बारे आम सर्वसाधारणमा चेतनाको कमि छ ।
विभिन्न कारणहरूले सडक दुर्घटनाको जोखिम छ । नेपालको सडकमा प्रत्येक दिन ७ देखि ८ जनाको मृत्यु सडक दुर्घटनामाबाट भइरहेको छ । दैनिक ४० जना सडक दुर्घटनामा घाईते तथा अङ्गभङ्ग भइरहेका छन् । सडक दुर्घटनाको यो भयावह महामारी रोक्न सबैले जिम्मेवार भूमिका खेल्नु पर्छ ।
यातायात श्रमिकहरूको कार्यथलो सडक नै भएकाले श्रमिक(चालक, परिचालक, सहचालक, बुकिङ) हरू यसबारे अझ सजग हुनु पर्छ ।
तिब्र गति, जीवनको क्षति त्यतिकै भनिएको होईन । तिब्र गतिकै कारण सडक दुर्घटना बढीरहेको तथ्यले देखाएको छ । केही समय ढिला भएपनि धैर्य हुनुस् तिब्र गतिमा सवारी नचलाउनुस् ।
मोवाइल फोनमा कुरा गर्दा एउटा हात मोवाइलमा र ध्यान कामको विषयमा केन्द्रीत हुन्छ जसका कारण सवारीसाधन अनियन्त्रित हुन्छ । चालकको यस्ता क्रिकलापका कारण सडक दुर्घटना हुनेहुँदा तपाँइ यदी सवारीसाधन चलाईरहेको बेला मोवाइल फोनमा घण्टी बजिरहेको छ भने कृपया नउठाउनुस् । आपतकालिन अवस्था नै हो भने सवारीसाधन रोकेर कुरा गर्नुस् या मिस कलका आधारमा गणतव्यमा पुगिसकेपछि कलव्याक गरेर कुरा गर्नुस् ।
तपाँइले चलाएको सवारीसाधनमा सिट क्षमता भन्दा बढी यात्रुलाई यात्रा नगराउनुस् । सामान्यतयाः उभिएर पनि यात्रा गर्नुपर्ने हुन्छ त्यस्तो अवस्थामा अत्यधिक मात्रामा यात्रु कोचेर वा भिडभाड गराएर यात्रा नगराउनुस् ।
चालक तनावमुक्त, दवावमुक्त र खुशी हुनुपर्दछ । दवाव र तनावमा सवारी चलाउदा पनि सडक दुर्घटनाहरु हुने गरेको अध्ययन देखाएको छ । चालक आफु मात्रै खुशी होईन आफुले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुहरुलाई पनि हँसाएर रोमाञ्चित बनाएर यात्रा गराउनेगरी सवारी चलाउनु पर्दछ ।
राज्यले निर्धारण गरेको भन्दा बढी भाडा असुल्नु अपराध हो । सवारी तथा यातायात व्यवस्था ऐन र उपभोक्ता संरक्षण ऐनले दण्डीत गर्ने व्यवस्था गरेको छ त्यस्तो अपराध नगर्नुस् । हाम्रा पनि परिवार आफन्त यसै गरी यात्रा गर्नुपर्छ र आफुले पनि यातायातमा काम गर्ने समय बाहेक अन्य समय सार्वजनिक यातायात उपभोग गर्नुपर्छ भन्ने विषयमा ध्यान दिनुस् र यात्रुसंग तोकिएको भाडा मात्रै लिनुस्, बढी भाडा नलिनुस् ।
सुरक्षित यात्राका लागि सुक्षित सवारीसाधन हुनु पर्दछ । हामीले काम गर्ने सवारीसाधन सबै र सँधै नयाँ हुँदैन । तर, हामीले चलाउने सवारीसाधनले सेवा सुरु गर्नु अघि र गणतव्यमा पुगिसकेपछि सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोविल, पानी, ईन्धन, ब्रेक, टायर, टाइरड, ईन्जिन लगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरु राम्ररी चेकजाँच गर्नुस् । आफुले चलाउने सवारीसाधनको अवस्थालाई सँधै ठिक अवस्थामा राख्र्नुस् ।
सवारीसाधन लिएर ग्यारेजबाट निस्किसकेपछि तपाँईको साथमा सवारीसाधनको ब्लुबुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र लाईसेन्स तथा सवारीसाधनका आवश्यक सम्पूर्ण कागजातहरु दुरुस्त र साथमा राख्नुस् । बिमा गरिएको छ कि छैन हेनुस्, आवश्यक कागजात तथा चेकजाँच गर्ने अधिकारीहरुले मागेको समय सबै कागजातहरु देखाउनुस् । ती अधिकारीहरुसंग कुनै किसिमको वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धीत प्रालि वा संघ, संगठनलाई जानकारी गराउनुस् ।
अहिले अधिकांश राजमार्गहरुमा समय कार्ड जारी भएको छ । विशेष गरि दुर्घटनाग्रस्त क्षेत्रहरुमा समयसिमा तोकेर त्यस समयको परिधिभीत्र र तोकिएको गतिमा सवारी चलाउनु पर्ने नियम बनेको छ । तसर्थ एउटै रफ्तारमा सुरक्षित तरिकाले सवारीसाधन चलाउनुस् । तिब्र गतिमा सवारी चलाउने र समय मिलाउन अर्को ठाँउमा पुगेर रोकेर बस्ने नगर्नुस् ।
सडक पूर्वाधारहरु हाम्रो देशमा सारै कम छन्, प्रायजसो एउटै राजमार्ग प्रयोग गर्नु पर्ने बाध्यताछ । भएका सिमित राजमार्गहरु सबैको साझा सम्पिति हो । राजमार्ग प्रयोग गर्ने सबैको अधिकारको सम्मान गर्दै संयमता पूर्वक राजमार्ग प्रयोग गर्नुस् । अधैर्य र जवरजस्त चालक भयौं भने यो राजमार्ग मृत्युमार्गमा परिनत हुन्छ यस विषयमा सजग रहनुस् ।
नशालु पदार्थहरु (मादक पदार्थ सेवन, लागु पदार्थ सेवन) बाट टाढा रहनुस् । ड्राईभिङ र नशालु पदार्थको सेवनको सिधा सम्बन्ध मानवीय मस्तिष्कसंग सम्बिन्धीत छ । त्यही भएर नेपालको कानुनले ड्रिङ्क एण्ड ड्राईभलाई वर्जित गरेको छ । यसको खास कारण सडक दुर्घटना नै हो । तसर्थ यो अक्षम्य अपराध नगर्नुस् । आफ्नो आचरणलाई व्यवस्थित गर्नुस् अनुशासित हुनुस् ।
आठ घण्टा काम, आठ घण्टा विश्राम र आठ घण्टा परिवारसंग मनोरञ्जन ट्रेड युनियनले उठाउँदै आएको श्रमिकहरुको जीवनसंग सम्बिन्धीत विषयहरु हुन् । निरन्तर सवारीसाधन चलाईरहनु भयो भने त्यो कामले तपाँईको स्वास्थ्यमा असर पार्छ । जसका कारण दुर्घटना निम्तिन्छ र तपाँई र तपाँईको ड्राईभिङमा रहेका सबै यात्रुहरुको जीवनमा गम्भिर असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् ।
तपाँईले चलाईरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरु हुनसक्छन् । उनिहरुको क्षमता र समस्याहरु तपाँईहामीभन्दा फरक हुनसक्छ । सकेसम्म उनिहरुलाई सहयोग गर्नुस् सकिएन भनेपनि कमसेकम सम्मान गर्नुस् । उनिहरु हाम्रो छोरी, छोरा, आमा, बुवा, श्रीमति वा परिवार जस्तै हुनसक्छन् भन्ने सम्झिनुस् ।
सार्वजनिक यातायातको यात्रा त्यसमा पनि लामो यात्रा पीडादायी हुन्छ । सबैको स्वास्थ्य एकनासको हुदैन । यस्तो अवस्थामा तपाँईले चलाईरहेको सवारीसाधनलाई स्वस्थ र गुणस्तरिय खानपान गर्ने होटलमा लानुस् । जनस्वास्थ्य र जनतालाई ठगी गर्ने लाईन होटलहरुमा नलानुस् ।
सडक साझा भएकाले सवै प्रकृतिका सवारी साधनदेखि पैदलयात्रीसम्मको साझा थलो सडक हो । सडक पुरापुर भरिएको हुन्छ । यस्तो अवस्थामा यात्रुको पाउने आसमा होस् या ढिला भएको कारण सुरक्षित स्थानको अभावमा उछिन्ने वा अस्वस्थ प्रतिस्पर्धा गर्ने काम नर्गनुस् । अस्वस्थ प्रतिस्पर्धा र उछिनपाछिनले सडक दुर्घटना बढाउँछ ।
सडक दुर्घटना न्युनिकरण र सडक पूर्वाधार सुधार यातायात श्रमिकहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन । त्यसका लागि राज्य तहबाटै प्रयास हुनु पर्दछ । नीति निर्माण गरि सडक सुरक्षा परिषद निर्माण गरेर सुधारको काम हुनु पर्दछ । तर, यस विषयमा राज्य गम्भिर छैन, यसो भनेर हामी आफैपनि मौन हुन मिल्दैन । श्रमिकहरुको तहबाट, श्रमिकहरुको संगठनहरुको तहबाट, यातायात व्यवसायीहरुको तह र अन्य सरोकारवालाहरुको स्थानबाट प्रयत्न जारी राख्नु पर्दछ । चाडबाडका समय बढ्ने सडक दुर्घटना न्युनिकरण गर्दै त्यसको सामाजिक, आर्थिक र मानवीय असरलाई कम गर्नु पर्दछ, यसै विषयमा सुझावहरु प्रस्तुत गरिएका हुन् ।

लेखक नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष हुन ।