धरान/ सुनसरीको धरान उप–महानगरपालिका–१ कृषि बजार नजिक रहेको ‘साफिर’ नामक ग्यारेजमा गाडीमा गाँजा लोड गर्दै गरेका तीन जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा हिजाे (शनिबार) दिउँसो १ बजे गरिएको छापामा १४९ किलो गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मे.१–ज २०१८ नम्बरको सवारी साधनबाट गाँजा अनलोड/लोड गर्ने क्रममा तिनै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि–४ का २५ वर्षीय जिबसन राई र भारत उत्तर दिनाजपुर सुजाली ग्रामथानका २५ वर्षीय साफिर आलम रहेका छन्। बरामद गाँजा र सवारी साधनसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएर थप अनुसन्धान जारी रहेको छ।
उक्त सवारी साधनका चालक भने घटनास्थलबाट फरार भएकाे र उनको पहिचान तथा खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।




















