बराहक्षेत्रस्थित प्राचीन औलिया मठमा नवरात्रको अवसरमा नौकन्या पूजन गरिने भएको छ ।
नौरथा लागेपछि घटस्थापनाको पहिलो दिनदेखि रुद्री, चण्डी पाठ र सप्तसती पाठ दैनिक हुँदै आएको छ । सोही क्रममा नवमीका अवसरमा नौकन्या पूजन हुने औलिया मठका व्यवस्थापक विनायक पुरीले जानकारी दिए ।
औलिया मठमा गुठी सस्थानले नयाँ  व्यवस्थापकलाई अख्तियारी दिएपछि साधुमहन्तहरुको उपस्थिति बढ्दै आएको छ । बराहक्षेत्र १ नम्बर वडा र औलिया मठको संयुक्त आयोजनामा नौकन्या पूजन गरिने वडाध्यक्ष किसन मगरले जानकारी दिए । सो अवसरमा प्रसाद ग्रहण गर्न मठले भक्तालुहरुलाई आह्वान गरेको छ । 
गुठी संस्थानको दृष्टि नपर्दा अढाई सय वर्ष पुरानो गुठी  दिनानुदिन जीर्ण बन्दै गैरहेको छ । गुठीका महन्त र पदाधिकारी समेत मठमा नभेटिंदा प्राचीन महत्व बोकेको यो क्षेत्र ओझेलमा परेको छ । औलिया मठलाई व्यवस्थित गर्न स्थानीय सरकारले समेत चासो नदिंदा स्थानीयले औलिया बाबा मठ तथा छिन्नमस्ता मन्दिर संरक्षण मन्च गठन गरी सरसफाई र रंगरोगन गर्दै आएका थिए ।
हालै गुठी सस्थानले व्यवस्थापक नियुक्त गरी अख्तियारी दिएपछि साधु महन्तको आवागमन हुदै आएको छ ।
नवरात्रको अवसरमा मठले दैनिक दुई पुजारीद्वारा रुद्री, चण्डी पाठ र सप्तसती पाठ गर्दै आएको छ । मठमा हाल महन्तलगायतका पदाधिकारी नियुक्त गर्न सकेको छैन । महन्त नियुक्त नगर्दा पुजारीसमेत नियुक्त हुन सकेका छैनन् ।