बडा दशैंको आगमनसँगै लगाइने लिङ्गे पिङ सहरबाट विस्थापित हुँदै गएको छ ।
बढ्दो सहरीकरणका कारण लिङ्गे पिङ हराउन थालेपछि यसको धार्मिक, साँस्कृतिक महत्व समेत ओझेलमा पर्दै गएको छ ।

दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमीनबाट पाउ हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ हाल्ने गरिएको छ ।

वर्षको एक पटक जमीनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ भने
पिङले साथीभाइ बीचको मिलन, सौहार्दता, मनोरन्जन जस्ता पक्षमा पनि अभिवृद्धि गर्ने गरेको छ ।
मनोरन्जनका अन्य आधुनिक वस्तुहरुमा आकर्षण बढ्नु, पिङ निर्माण गर्ने प्राविधिकहरु नपाइनु, सहरीकरणका कारण जमिन उपलब्ध नहुनु, धार्मिक, सांस्कृतिक महत्व उजागार गर्न नसक्नुका कारण पनि लिङ्गे पिङ हराउँदै जान थालेको छ ।
तर गाउँ घरमा भने वर्षैपिच्छे लिङ्गे पिङ लगाउने गरिएको छ । पिङमा पाका भन्दा केटाकेटी झुम्मिने गरेका छन् ।

प्रौढ र युवा वर्गको पिङमा उत्तिसारो आकर्षण भने देखिंदैन । पहिले मनोरन्जनका सीमित साधन भएकाले वर्ष दिनमा आउने पर्व र लिङ्गे पिङलाई महत्वका साथ हेरिन्थ्यो ।
हाल मनोरन्जनका अन्य विकल्पले परम्परागत मनोरन्जनको साधन पिङमा झुम्मिने समय कम भैरहेको देखिन्छ ।
युवापुस्तालाई लिङ्गे पिङको महत्व बुझाउन नसके कुनै दिन हाम्रा गाउँघरमा लगाइने परम्परागत रोटेपिङ जस्तो कहीं कतै देख्न पाइने छैन ।