धरानस्थित सर्दू जलाधारमा अस्ताउँदो सूर्यलाई अर्घ दिदै छठ पर्वको महत्वपूर्ण दिन सूर्य देवको पूजा उपासना गरिएको छ ।

धरानका दशौ हजार धर्मावलम्वी सर्दु किनारमा देखिए । तराईवासीको महत्वपूर्ण चाड छठ सास्कृतिक रुपमा विस्तार हुँदै गैरहेको छ ।

मधेसी समुदायको सघन बसोबास रहेको धरानमा सबै समुदायले छठ पर्वलाई महापर्वका रुपमा लिने गरेका छन् । सूर्यको उपासना प्रकृतिको पूजा रहेकाले धार्मिक आस्था बढ्दै गैरहेको पाइन्छ ।
हलुवाई कानू समाजका धरान अध्यक्ष विजयकुमार साह हलुवाईका अनुसार कोराना सङ्क्रमणपछि छठ पर्व धरानमा भव्य रुपमा मनाइएको हो ।
छठ पर्वमा धरानका सबै समुदायको उत्तिकै आकर्षण रहेको छ । पहाडी समुदाय पनि व्रत लिने र सूर्यको उपासना पर्वानुसार विधिपूर्वक गर्ने गरेको अध्यक्ष हलुवाई बताउँछन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर खरना षष्ठी मातालाई चढाइ बर्तालुले प्रसाद स्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिकशुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।

कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।