काठमाण्डौ  । आज दिउँसो नेपालको विभिन्न स्थानमा ठुलो वर्षा हुने संभावना रहेको मौसम विदले अनुमान गरेका छन् ।

१ नम्बर प्रदेश सहित विभिन्न स्थानहरुमा वर्षा तीन दिन अघिदेखि नै भइरहेको छ । गएराती पनि भारी वर्षा भएको छ । अस्ति बेलुका पूर्वी क्षेत्रबाट सुरु भएको पानी पर्ने क्रम मध्यपश्चिम हुँदै पश्चिमी क्षेत्रमा पुग्दै छ । आज देशैभर बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताएका छन् ।उहाँका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अति ठूलो पानी पर्ने संभावना छ । लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढी आउने र सडकहरु पनि बन्द हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन् ।यस्तै, यस वर्षको दशैँ वर्षामय हुने भन्दै सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले टीका लगाउन जाँदा खहरे खोलानालाहरुमा सावधानी अपनाउन आग्रह गरेका छन् ।नेपालमा दक्षिण पश्चिम बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ । त्यसैको असरले अत्यधिक वर्षा हुन लागेको हो । यसैबीच, राति झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान र आसपास क्षेत्रमा ठूलो वर्षा भएको छ ।

यो क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, आजदेखि आउँदो शनिवार तीन दिनसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान छ । बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह  गरिएको छ ।