संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिएको छ । 

सरकारी कार्यालय, संघसंस्था, कुटनीतिक नियोगमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । साथै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ । राष्ट्रिय व्यक्तित्वको निधनमा राष्ट्रले शोक मनाउने गरेको छ । यसै सन्दर्भमा शाताब्दी पुरुष जोशीको निधनमा सरकारले दिएको सार्वजनिक विदा कर्मकाण्डी रहेको विद्वानहरुको टिप्पणी आएको छ । हामीले सामाजिक सञ्जाल फेसबुकबाट सो टिप्पणी जस्ताको तस्तै राखेका छौं । 

...   ...   ...   ...

१. आज सरकारले सार्वजनिक बिदा दियो सत्यमोहन जोशीको निधनमा शोक मनाउन । श्रृष्टिकर्ता ब्रह्माजीले दिएको १०० वर्ष आयुभन्दा पनि तीन वर्ष बढी गौरवपूर्ण जीवन बाँचेर गएको व्यक्तित्वको महाप्रस्थानमा शोक गर्नु पर्ने कारण के छ ? जसले नेपाली भाषा साहित्य र संस्कृतिका लागि दर्जनौ कृतिहरू दिएर गयो, जसले उत्कृष्ट कृति दिएवापत् तीन पटक त मदन पुरस्कार नै पायो, जसले जीवनको अन्तिम घडिसम्म सक्रिय र अर्थपूर्ण जीवन बाँच्यो, जसले यो देशका करोडौं मानिसलाई देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह, ऊर्जा र आँट भरेर गयो । त्यस्तो महान व्यक्तित्व पाएकोमा हामीले त उहाँको सम्झनामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर उहाँप्रति कृतज्ञता व्यक्त गर्नु पर्ने होइन ?  

२. एक दिन शोक मनाउन गरिएको सरकारी बन्दले देशमा कति आर्थिक क्षति हुन्छ ? कुनै हिसाबकिताब छैन । कति सेवाग्राहीले आफ्नो महत्वपूर्ण समय बेकारमा खेरफाल्छन् । के यो सबै शोकको जिम्मा सरकारी कर्मचारीले लिइदिए पुग्ने हो ? मानौं, यो देशका अरुलाई जोशीको महाप्रस्थानको कुनै महत्व छैन ? सरकारी कर्मचारीलाई मात्र दिइने बिदाले राष्ट्रिय शोक मनाएको अर्थ लाग्छ ?  लाग्दैन ।

३. प्रभावकारी रुपमा शोक मनाउने हजारौं तरिका छन् । जोशीका परिवार बाहेकका लागि यो शोक प्रतिकात्मक मात्रै हो । त्यसैले राष्ट्रिय झन्डा आधा झुकाएर, विभिन्न सरकारी÷गैह्रसरकारी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेर, शोक पुस्तिकामा हस्ताक्षर गरेर, दिनभरिको कुनै एक समयमा मौन धारण गरेर शोक मनाउन सकिन्छ । सरकारी कर्मचारीलाई बिदा दिए पछि यी कुनै कुरा सरकारका तर्फबाट हुँदैनन् । जनताको करको मूल्य चुकाएर बिदा दिने जस्तो कुरा सबैभन्दा कर्मकाण्डी र बेवकुफ तरिका हो । 

४. सरकारी कर्मचारीलाई बिदा दिएर शोक कसरी मनाइन्छ ? के सबै कर्मचारी छुट्टी लिएर दिनभरी नदी किनार वा मन्दिर आदिमा शोक वा पिण्डदानमा सहभागी हुन जाने हुन् ? कि एक दिनको किरियापुत्रीको भूमिका सरकारी कर्मचारीले निभाउनु पर्ने हो ? जसको नाममा बिदा दिइएको छ, त्यसको तस्बिरमा माल्यार्पण गर्ने वा एक मिनेट मौन धारण गर्ने फूर्सद् कुनै सरकारी कर्मचारीले पाउला ? छुट्टी पाएका कर्मचारीले शोक होइन, अझ जुवातास खेलेर, जाँड रक्सी खाएर मस्ती गर्छन् । त्यो शोक होइन, मजाक हो । 

५. कदाचित बिदा दिनै परेछ भने पनि सप्ताहन्तको छेको पारेर शुक्रबार वा आइतबार दिन सकिन्छ । यसले बिदा बस्नेलाई पनि नियमित बिदासँगै थप एक दिन परिवारसँग बस्न समय पुग्छ । उदाहरणका लागि बेलायतकी रानी एलिजाबेथको निधन हुँदा क्यानडामा शुक्रबार संघीय सरकारका कर्मचारीलाई बिदा दिइयो । तर, त्यो बिदा प्रान्तीय र स्थानीय सरकारले मानेनन् । अन्टारियो प्रान्तका प्रमुखले त बिदा दिएर होइन, उनलाई सम्झेर काम गरेर शोक मनाउने हो भने । विद्यालयहरू एकैदिन पनि छुट्टी भएनन् । 

हामी सायदै १०३ वर्षसम्म बाँचौला । हामीमध्ये कमैले मात्र सत्यमोहन जोशीको जस्तो राष्ट्रका लागि योगदान गर्न सकौंला । तसर्थ, उनको जस्तो ऊर्जावान् जीवन बाँच्नका लागि त कार्यलय समयमा मात्रै होइन, हरेक छुट्टीमा पनि सक्रियतापूर्वक काम गर्नुपर्छ । ‘हामी सबैको काम जोशी एक्लैले गरेर गए । अब हामीलाई हाइसञ्चो’ भनेर छुट्टी दिएको त होइन होला नि । कर्मकाण्डी सोच बदलौ । देश उसै बदलिन्छ ।

...   ...   ...   ...