साना मसिना काम नै पूरा नभएपछि नेताले ठूला योजना कसरी सम्पन्न गर्लान् भन्ने जनतामा आशंका छ । अब जनताले आश्वासन होइन, अग्रिम काम चाहेका छन् । जो उम्मेदवारले निर्वाचन अगाडि नै आफ्ना माग पूरा गरिदिन्छ, जनताको भोट उसैलाई हुन्छ ।

धरान १७ पटनालीमा जनताले उम्मेदवारलाई घेरे । पटनाली सरसफाई तथा वातावरण सुधार समितिले उम्मेदवारका बीच आफ्ना माग तत्काल पूरा गर्न अनुरोध गरे ।  

Mag Patra Patnali

वडा कार्यालय र नगरपालिकाले गर्नुपर्ने काम नगरिदिएपछि चुनावको मौकामा संघ र प्रदेशमा उठेका उम्मेदवारलाई स्थानीयले लिखित माग सुनाएका हुन् । जनताका माग सामान्य छन् । वडा कार्यालय र धरान उपमहानगरपालिका निकम्मा हुँदा आफूले निर्वाचनमा उठेका प्रतिनिधिसँग माग राख्न बाध्य भएको स्थानीयले बताए । 

जनताको माग सम्बोधनमा उम्मेदवार कति संवेदनशील छन् भन्ने परीक्षण गर्न पनि अग्रिम माग तेस्र्याएका हौं, पटनालीका एक शिक्षकले भने । बस्ती र बस्तीवासीका आधारभूत आवश्यक्ता पूरा नहुँदा आसन्न निर्वाचनका उम्मेदवारलाई धरान १७ पटनालीका स्थानीयले तत्काल माग पूरा गर्न आग्रह गरे । स्थानीय सरकारले पूरा गर्नुपर्ने साधारण आवश्यक्ताहरु पटनालीवासीको माग थियो । 

पटनाली सरसफाई तथा वातावरण सुधार समितिको लागि डस्टविन ५० थान, बालुवा, रड, फर्माको व्यवस्थापन, सरसफाई समितिले निर्माण गरेको अस्थायी बोर्डलाई स्थायी बनाइनुपर्ने, सगरमाथा टोलको शाखा सडकका लागि ३० ट्याक्टर मिसगिटी उपलब्ध गराइदिनु पर्ने, पटनाली फुटबल क्लबका लागि जर्सी तथा सामग्री उपलब्ध गराइदिनु पर्ने, अन्य शाखा सडकका लागि ३ वटा कल्भर्ट निर्माण गरिदिनु पर्ने, स्टेण्डसहितको ४० वटा राष्ट्रिय झण्डा उपलब्ध गराइदिनु पर्ने ।

स्थानीय विमल पोख्रेलले पटनालीका समस्याका फेहरिस्त सुनाए । उनले धरान शहर भएर पनि धरान १७ कै पटनाली बत्तीमुनिको अँध्यारो भएको बताए । उनले पटनालीलाई धरानको ‘दुर्गम’ भने । ‘पटनाली शिक्षा र खेलकुदमा  राम्रो छ तर तीनै तहका सरकार छन् कसैले पनि मूल्यांकन गरेका छैनन्, शून्य मूल्यांकन छ’ पोख्रेलले भने, ‘सम्भाव्यता भएको ठाउँमा बजेट नदिने पहुँच भएकाले प्राप्त गर्ने परिपाटीको अन्त्य हुनुपर्छ ।’

पटनालीस्थित ज्वालामुखी मावि धरानकै राम्रो शिक्षा दिने विद्यालयहरुमा तेस्रो स्थानमा आउँछ । शिक्षामा अब्बल भएपनि आठ वर्षदेखि कक्षा १२ सञ्चालन गर्न भइरहेको प्रयास बारम्बार विफल भइरहेको  पोख्रेल सुनाउँछन् । 

माध्यमिक तहमै स्थायी दरबन्दी नभएपछि कक्षा १२ सञ्चालन गर्न कठिनाइभएको उनको भनाइ छ । उनी प्रश्न गर्छन्, ‘हामीले अब मावि चलाउने कि झारेर निमावि चलाउने ?’

नेकपा एमालेको तालमेलमा सुनसरी क्षेत्र नम्बर १ मा जसपाको उम्मेदवार अशोककुमार राई उम्मेदवारका रुपमा छन् । अशोक राई राष्ट्रिय नेता भएकाले यी सबै माग पूरा गरिदिन पटनालीवासीले आग्रह गरे । उनीहरुले निर्वाचित हुने शुभकामनाका साथ तत्काल आफ्ना माग पूरा गरिदिन अनुरोध गरे । अशोक राईसँगै सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ तर्फका नेकपा एमालेका उम्मेदवार विजयकुमार राई, समानुपातिक उम्मेदवार लहरु जिमी, भीम राईलगायतलाई समेत पटनालीको  विकासमा संवेदनशील हुन स्थानीयले आग्रह गरे । 

मंगलबार पटनाली सरसफाई तथा वातावरण सुधार समितिका अगुवा र स्थानीयवासीहरुले आयोजना गरेको भेटघाटमा पटनालीलाई विकास गरिदिन उम्मेदवारसाममु मागपत्र राखे । 

स्थानीयले फोहोरको गाडी समेत समयमा नआउने बताए । ‘सर्दूपारी पनि धरान १७ छ, त्यहाँका जनताले पनि नगरलाई कर तिर्छन् भन्ने कुरा सुनाइदिनु होला’ पटनालीवासीले सञ्चारकर्मीलाई आग्रह गरे ।