धरान । नेपालीहरुको दोश्रो महान पर्व,यमपञ्चक, तिहार अर्थात् दिपावाली । तिहारको आज काग तिहार हो ।कागलाई पुजा गरेर मनाइँदैछ ।
यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलनसमेत छ ।काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ । धनत्रयोदशी (धनतेरस) भने शनिबार नै मनाइएको छ ।
तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ ।
गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र (आत्म म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ ।
कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।
तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।