धरान । नेपालीहरुको महान पर्व  आज  तिहारको तेस्रो दिन घरघरमा  कुकुरको पुजा आराधना गरि मनाइदैछ ।

पुजा गरेर कुकुरलाई मीठा मीठा खानेकुरा खान कुराका परिकार खुवाएर सम्मान गरिने प्रचलन छ   ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्  ।

यसैवीच यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।

घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज बेलुका भैलो समेत खेल्ने गरिन्छ ।