धरान । धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर प्रांगरण फोहोरका कारण दुर्घन्धित बनेको छ ।

मन्दिर छेउमा रहेको सरस्वती सराबेरदेखि सडकको माथिल्लो छेउमा थुप्रिएका फोहोरका कारण दर्शन गर्न आउने भक्तजनहरु नाक थुनेर हिड्नुपर्ने अवस्था रहेको छ । प्रत्येक बर्ष साउनमा हुने बोलबमका समयमा सरसफाईलाई तिब्रता दिने गरिएको भएपनि त्यसपछिका दिनमा सरसफाइमा खासै ध्यान दिने गरेको छैन । अझ सर्वसाधारणको घर घरबाट निस्केको फोहोर पोखरी नजिकको माथिल्लो भाग थुपार्ने प्रवृत्तिका कारण मन्दिर आसपास दुर्गन्धित बन्दै गएको हो ।

शनिवार विराटनगरबाट पिण्डेश्वर मन्दिर दर्शन गर्न आएका मुकेश साहले पिण्डेश्वर मन्दिरको महिमा जति छ त्यो महिमा थुप्रिएको फोहोरले बद्नाम गरेको बताउँछन् । उनले मन्दिरमा प्रवेश गर्नु भन्दा अगाडि नै नाक थुनेर हिड्नुपर्ने अवस्था रहेको बता्ए । उनले भने–‘धरानको विजयपुरमा प्रख्यात धार्मिक स्थल छन्, तर सरसफाइमा भने खासै ध्यान दिन सकेको पाइएन, मन्दिर वरिपरि थुप्रिएका फोहोरले नाक थुनेर हिड्नुपर्ने बाध्यता छ, यसतर्फ कसैको ध्यान गएको देखिएन ।’


सिराहाबाट पिण्डेश्वर मन्दिर दर्शन गर्न आएका प्रमोद गुप्ताले समेत पिण्डेश्वर छेउमा थुप्रिएको फोहोरका कारण मन्दिरको सौन्दर्यतामाथि नै प्रश्नचिन्ह खडा गरेको बताए । उनले भने–‘विजयपुर साह«ै सुन्दर ठाउँ, यहाँका मठ मन्दिरले आकर्षण थपेको छ, तर थुप्रिएको फोहोरले यसको सौन्दर्यता नै हराएको छ ।’


विजयपुरमा धरान उपमहानगरपालिकाले प्रत्येक शुक्रबार फोहोर उठाउने गरेको छ । तर कहिलेकाही तीन हप्तामा समेत फोहोर नउठ्ने गरेको त्यहाँका स्थानीयहरुले बताएका छन् । फोहोर नउठाउँदा समेत स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नं १४ ले वेवास्ता गरेकै कारण समयमै फोहोर उठ्न नसकेको स्थानीयहरुको भनाई छ ।


केही समय अगाडि यस विषयमा धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले त्यस ठाउँमै फोहोर फाल्न नदिने बताएका थिए । उनले भनेका थिए–‘यो ठाउँ फोहोर फाल्ने ठाउँ ‘डस्बिन’ जस्तै भएको छ, यसलाई हामी रोक लगाउँछौ ।’


तीन महिना  अगाडि यस्तो कुरा बताए पनि अहिले पनि त्यस ठाउँमा फोहोरको डंगुर देख्न सकिन्छ । फोहोर बोक्ने सवारी साधनले त्यहाँबाट फोहोर उठाउने गरेकोले वरपरका बासिन्दाले त्यस स्थानमा फोहोर फाल्ने गरेका छन् । तर फोहोर उठाउने सवारी साधन समयमा पनि नगइदिँदा थुप्रिदै गएको स्थानीय बताउँछन ।


‘फालिएको फोहोर नउठाउँदा कुकुर विरालोले खोतेल्ने गरेको छ, खोतलेकै कारण छेउछाउ बस्न नै गाह«ो छ ।’ नाम उल्लेख नगर्ने एक स्थानीयले कोशीपत्र दैनिकलाई बताए ।


पिण्डेश्वर बाबाधाम समितिका पूर्व सचिव जयन्त गौतमले यो समस्या अहिलेदेखि नभएको बताए । उनले आफू समितिको सचिव हुँदा पनि फोहोर व्यवस्थापन गर्न पहल गरे पनि नसकिएको बताए । उनले भने–‘फोहोर फाल्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि फोहोर फाल्ने गरिएको छ, फोहोर फाल्नेलाई कारबाही नगरेसम्म यो क्रम रोकिदैन ।’


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानलाई स्वच्छ, सफा बनाउदै धरानलाई पर्यटकीय स्थल बनाउने अभियान अगाडि सारे पनि धार्मिक क्षेत्रकै फोहोर महिनौ नउठ्ने गरेको छ । धरान १४ ले समेत प्रत्येक शुक्रबार विजयपुर क्षेत्र सरसफाई गर्ने गर्छ । सरफाई गरेको फोहोर व्यवस्थापनमा भने ध्यान नदिँदा धार्मिक क्षेत्र दुर्घन्धित बन्दै गएको हो ।