धरान  \ स्थानीय चिकित्सकलाई कार्यक्षेत्रमा रोक लगाएपछि विवादित छविकी प्राडा सङ्गीता भण्डारी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप विवादमा तानिएकी छन् । 

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहेकी प्राडा भण्डारी चार महिना अघि बिपी प्रतिष्ठान आएकी हुन् । विवादमा आइरहने प्राडा भण्डारीले अनधिकृत रुपमा चिकित्सकमाथि हस्तक्षेप गरेको आरोप लागेको छ । 

धरानका स्थानीय चिकित्सकलाई डिपार्टमेन्टबाटै हटाउने षडयन्त्रमा लागेकी इएनटी डिपार्टमेन्टकी प्रोफेसर डा.  भण्डारीविरुद्ध कारबाहीको माग गर्दै स्थानीय नागरिक समाजले प्रतिष्ठानका रजिस्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौलालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षणपत्र बुझ्दै प्राडा सङ्ग्रौलाले आवश्यक कारबाहीका लागि उपकुलपतिलाई तोक लगाएका छन् । उपकुलपति विदामा रहेकाले उपस्थित भएपछि पदाधिकारीको छलफल राख्ने प्राडा सङ्ग्रौलाले  बताए । ऐन नियम मिचेर फ्याकल्टी प्रोफेसरले सिनियर रेसिडेन्सल चिकित्सकलाई दुर्व्यवहार गरेको भन्दै पीडित चिकित्सकले आइतबार न्यायको माग प्रतिष्ठानस्थित वेलफेयर सोसाइटीलाई निवेदन दिएका थिए । 

प्रोफेसरले अनाधिकृत हस्तक्षेप गरेको आरोप लगाउँदै आवश्यक कारबाही गर्न चिकित्सकले माग गरेका हुन् । दुर्व्यवहारपूर्ण ढंगले दैनिक कामकारबाहीमा रोक लगाएपछि चिकित्सकले न्यायको माग गरेको बताएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बरिष्ठ आवासीय चिकित्सक (एसआर) डा. प्रविद गजुरेललाई प्रतिष्ठानकी प्रोफेसर डा. संगीता भण्डारीले दुर्व्यवहार गर्दै ५ बुँदे चार्ज लगाएकी छन् । सोबारे डा. गजुरेलले फेकल्टी वेलफेयर सोसाइटीलाई न्यायको माग गर्दै निवेदन दिएका हुन् । 

नाक, कान, घाँटी विभागमा कार्यरत चिकित्सक एसआर डा. गजुरेललाई गत २६ कात्तिकमा प्रोफेसर डा. भण्डारीले ‘ओटी’ प्रवेशमा रोक लगाएकी थिइन् । ‘केस स्टडी’ राम्रो नगरेको मिथ्या आरोप लगाउँदै डा. भण्डारीले अपरेशन गर्न रोक लगाएको डा. गजुरेलले बताए । 

‘ओटी’ प्रवेशमा रोक लगाएको १ दिनपछि २७ कात्तिकमा प्रा. डा. भण्डारीले ५ बुँदे चार्ज लगाउँदै डा. गजुरेलको नाममा पत्र काटेकी छन् । अफिसियटिङ एचओडीका रुपमा डिपार्टमेन्ट सम्हाल्ने गैरकानुनी जिम्मेवारी पाएकी प्रा. डा. भण्डारीले दूराशयपूर्ण ढंगले पत्र काटेकी छन् । चिकित्सकको नामसमेत लेख्न नजानेकी प्रा.डा. भण्डारीले प्रतिष्ठानमा खेलोफड्को गर्न स्थानीय चिकित्सकलाई षडयन्त्रपूर्ण ढंगले निकाल्ने खोजेको चिकित्सकहरुको आरोप छ ।  

प्रा.डा. भण्डारीले काटेको पत्रमा डा. गजुरेलले इन्डिपेन्डेन्ट्ली सर्जरी गर्न नपाउने, प्यासेन्टको विषयमा थाहा हुनुपर्ने, आफ्नो ड्युटी सकेर फ्याकल्टीलाई खबर गर्नुपर्ने, डिपार्टमेन्टले भनेको कुरा गर्नुपर्ने बुँदा लेखिएका छन् । भण्डारीको पक्रमा डा. गजुरेललाई अनुशासनको कारबाही गरिएको आशय व्यत्त गरिएको छ । 

प्रा.डा. भण्डारीको गैरकानुनी पत्र 

प्रतिष्ठानकी प्रोफेसर डा. संगीता भण्डारी विभागीय प्रमुख (एचओडी) होइनन् । तर एचओडीको हैसियतमा उनले डा. प्रविद गजुरेललाई कारबाही पत्र पठाएकी छन् । प्रतिष्ठानका कार्यालय सहायक मार्फत् थमाइएको पत्रले चिकित्सकको मानमर्दन भएको चिकित्सकहरुको भनाइ छ । 

प्रतिष्ठानको नाक, कान, घाँटी विभागका विभागीय प्रमुख डा. श्याम थापा हुन् । तर डा. थापाले हालको विभागीय प्रमुख प्रा. डा. भण्डारी नै रहेको बताए । ऐन र प्रक्रिया मिचेर इन्चार्ज दिइएको डा. थापालाई आरोप लागेको छ । 

‘अहिले म निमित्त रेक्टर भएर काम गरिरहेकाले डिपार्टमेन्ट उहाँले नै हेरिरहनु भएको छ,’ डा. थापाले भने, ‘रजिष्टारसँगै कुरा गरेर एक्टिङ एचओडी दिएको हो, जबसम्म म फर्किन्न अफिसियल्ली एचओडी गरिरहनुस् भनेर मैले दिएको थिएँ ।’ 

बिदा जाँदा सिनियरलाई ‘एचओडी’ भनेर दिइनुपर्ने भएकाले आफूले दिएको डा. थापाले बताए । आफू रेक्टर अफिसमा भएकाले डिपार्टमेन्टको कुरा नबुझेकाले खास के समस्या भएको हो भन्ने बुझेर जानकारी गराउने डा. थापाले बताए । 

भिसी रेक्टर र डाइरेक्टर नभएको अवस्थामा एक्टिङ रेक्टरको जिम्मेवारी सम्हाल्नु पर्ने भएकाले प्रा. डा. भण्डारीलाई अफिसियटिङ एचओडी दिएको डा. थापाले स्वीकार गरे । 

प्रावधानअनुसार भीसीको हस्ताक्षर बिना एचओडीले एचओडीकै पदभार दिन पाउने व्यवस्था छैन । तर अवस्था हेरेर रजिष्टारसँगको समन्वयमा अफिसियटिङ एचओडी दिएको डा. थापा बताउँछन् ।  

अनाधिकृत हस्तक्षेपविरुद्ध कारबाहीको माग

आइतबार प्रतिष्ठानस्थित सोसाइटीलाई निवेदन दिँदै डा. प्रविद गजुरेलले प्रोफेसरको अनाधिकृत हस्तक्षेपविरुद्ध आवश्यक कारबाही गर्न माग गरेका छन् । चिकित्सकलाई बिनाकारण चिकित्सा कार्य गर्नबाट बन्देज लगाउनु न्यायिक नभएको भन्दै डा. गजुरेलले आपत्ति जनाएका छन् । 

वेलफेयर सोसाइटीका अध्यक्ष डा. सेराज खानले निवेदन बुझेका छन् । उनले सोसाइटीको बैठक बसी भिसी र प्रतिष्ठान व्यवस्थापनको ध्यानाकर्षण गराउने बताए । ‘फ्याकल्टीमाथिको अत्याचारका सन्दर्भमा हामी संवेदनशील छौं ।’ डा. खानले भने ।  प्राडा सङ्गीता भण्डारीले भने घटनाबारे प्रतिकृया दिन मानिनन् । 

प्राडा भन्डारीविरुद्ध ५ भदौ ०७६ मा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका थिए। राप्तिकी तत्कालीन उपकुलपति प्रा.डा.  भण्डारीले आफूहरुलाई विभिन्न बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिनेलगायतका काम गरेको आरोप लगाएका थिए । बिपी प्रतिष्ठान धरानमा समेत प्राडा भण्डारीको अनधिकृत हस्तक्षेपविरुद्ध आवाज उठ्न थालेको छ ।