झापा / नेपालीमा एउटा उखान छ, अर्काको काम कहिले जाला घाम । दमक ट्राफिक प्रहरी कार्यालयको भवनसँग ठ्याक्कै मिल्न गएको छ । एक वर्षभित्रमा सम्पन्न गर्ने गरी २०७६ वैसाख २३ गते १ नं. प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजालको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास गरिएको थियो ।

तर शिलान्यास भएकै तीन बर्ष बितिसक्दा भवनको काम बल्लतल्ल ६० प्रतिशतमात्रै पूरा भएको छ । झापाको दमक ५ स्थित करिब २ करोड ८४ लाख रुपैयाँ लागतमा निर्माण शुरु भएको भवनको लामो समयदेखि निर्माणको काम रोकिएको छ । बजेट अभावकै कारण भवन निर्माणको काम लामो समयसम्म रोकिएको दमक ट्राफिक भवन निर्माण समितिका सचिव चन्द्र खत्रीले जानकारी दिए ।

अहिलेसम्म दमक नगरपालिकाबाट ३० लाख, प्रदेश १ सरकारबाट १ करोड ५ लाख रुपैयाँ प्राप्त भएको सचिव खत्रीले जानकारी दिए । अहिले पनि निर्माण समितिसँग करिब ३२ लाख रुपैया मौज्दात रहेको सचिव खत्रिले बताए ।

तर पनि भवन निर्माणको काम भने अघि बढ्न सकेको छैन । पुरानो भवन भत्काइएपछि ट्राफिक प्रहरी कार्यालय दमक स्थित बसपार्कको टर्मिनल सारिएको थियो । तर पुरानै भएपनि अर्को ठाउँमा सानो आकारको घर निर्माण गरेर पुन ः यही ठाउँमा कार्यालय स्तान्तरण गरिएको छ । अहिले ट्राफिक इन्चार्जसहित ट्राफिक प्रहरीहरु निर्माणाधीन भवनमै बस्ने गरेका छन् । यद्यपि निर्माणाधीन भवनमा बस्न जोखिमपूर्ण अवस्थामा भने यथावत नै रहेको देखिन्छ । विजुलीका तारहरु यत्रतत्र छरिएका छन् भने भवन अझै बस्न योग्य भइसकेको छैन ।

बाध्यताले गर्दा ट्राफिक प्रहरीहरु निर्माणाधीन भवनमै जसोतसो बस्न बाध्य भएका छन् । भवन निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०७७ साल वैसाखमै भनिएको भए पनि कोरोना भाइरसको प्रभावका कारण मुलुकमा संक्रमण बढेपछि करिब तीन महिना काम नै ठप्प भएको थियो ।  त्यसपछि मजदुरहरुलाई सामान्य स्वास्थ्य सुरक्षा अपनाएर पुन ः निर्माणको काम सुरुचारु गरिएको भए पनि अहिले पुन ः काम रोकिएको छ ।

एक नं. प्रदेश कानुन मन्त्रालय, दमक नगरपालिका र दमकका स्थानीय बासीहरुको सहयोगमा निर्माणाधीन भवनमा १४ वटा कोठा रहने र छुट्टै मेच निर्माण गरिने बताइएको छ । तर निर्माणको काममा भइरहेको ढिलासुस्ती र बजेटकै अभावका कारण यो भवनको निर्माणको कामले चाँडै नै सम्पन्न हुने कुरामा कसैलाई विश्वास  नै हुन छाडेको छ ।