मोरङ / विराटनगर–४ को एयरपोर्ट रोडमा महानगरले बुधबार सरसफाई गरिएको छ । 

फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जानकारी दिए । उनले महानगरका मेयर नागेश कोइरालाको नेतृत्वमा १९ वटै वडामा सरसफाई जारी रहेको र सोही अभियानअन्तर्गत एयरपोर्ट रोड सफा गरेको बताए । 

‘यो रोड सफा राख्दा विमानबाट आउने आगन्तुकमा विराटनगरप्रति सकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘मेयरको नेतृत्वमा १९ वटै वडामा सरसफाई अभियान जारी छ । सो अभियानअन्तर्गत आज यो रोड सफा गरेका हौं ।’

 सडकमा रहेका फोहोर र धुलो सफा गर्नुका साथै दमकल प्रयोग गरेर सडकलाई पखालिएको थियो । सरफाई अभियानमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । धरानरोडदेखि एयरपोर्ट गेटसम्म सफाई गरिएको थियो ।