विराटनगर / विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम शुरु गरेको छ । 

मुख्य बजार क्षेत्रमा पार्किङको अभावमा सडकमै सवारी राख्दा आवतजावतमा समस्या हुँदा सौन्दर्यतामा ह्रास आए पति पार्किङ समस्या समाधान गर्ने उद्देश्यसहित महानगरले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकतामा राखेको हो । 

महानगरले पुरानो गुद्रीमा रहेको प्रस्तावित २५ तले भवन निर्माणस्थललाई अस्थायी पार्किङका रुपमा प्रयोगमा ल्याउने भएको छ । त्यसका लागि महानगरले डोजर लगाएर जमिन सम्याइसकेको छ । भवन निर्माण सुरु नहुञ्जेल खाली रहेको जमिनमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

सो ठाउँमा आसपासका व्यापारी, सामान खरिद गर्न आउने उपभोक्ता तथा कामका सिलसिलामा आउने व्यक्तिहरुका सवारी पार्किङ गरिनेछ । वर्षौंदेखि महानगरलाई कर नतिर्ने बजार क्षेत्रका प्रयोगविहीन खाली जग्गामा समेत पार्किङ बनाउने गरी महानगरले काम अगाडि बढाइसकेको छ ।

खाली जमिनमा फोहोर थुपार्दा बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको भन्दै महानगरले पार्किङ बनाउन सफाई सुरु गरिसकेको कोइरालाले बताए । 

पार्किङस्थल नहुँदा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन ठूलै चुनौती देखिएको थियो । मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउनका लागि सहयोग गर्न महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।