धनकुटा /  धनकुटाका साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र अँग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिबलको आयोजना गर्ने गरिएको छ ।

विगतमा कोरानाले थलिएको पर्यटन व्यवसाय केही शिथिल बनेको अवस्थामा भेडेटारलाई विगतकै जस्तो चहलपहल बढाउदै आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गर्ने भएको हो ।

होटल एसोसिएन अफ भेडेटारको आयोजनामा पौष १६, १७ र १८ गते फुड फेस्टिबल हुन लागेको आयोजकले जनाएको छ । दुई बर्ष कोरोनाको कारण शिथिल बनेको पर्यटनलाई फेस्टिबलको माध्यमबाट पुनः चलायमान बनाउनको लागि आयोजना हुन लागेको यो फेस्टिबललाई बृहत बनाउने आयोजक होटल एसोसिएसन भेडेटारका कावा अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन् ।

महोत्सव भेडेटारको मुख्य बजारदेखि काप्फेक, नाम्जे र नमस्ते झरनासम्म आयोजना हुने कावा अध्यक्ष श्रेष्ठले बताइन् । बाहय पर्यटकलाई मध्यनजर गरी प्रत्येक बर्ष आयोजना गरिदै आएको महोत्सवमा मुख्य गरी स्थानीय स्तरमा उत्पादन भएका आर्गनिक कृषि उत्पादनको स्वादसंगै घरेलु सामानहरुको स्थलहरुको अवलोकन गराउनु नै रहेको होटल एसोसिएसनका कावा अध्यक्ष श्रेष्ठको भनाई छ । उनले भनिन्–‘भेडेटारमा रहेका पर्यटकीय क्षेत्र, यहाँ उत्पादन भएका कृषि सामाग्री, जातीय साँस्कृतिक खानपिनका सामाग्रीको प्रवद्र्धन गर्नकै लागि यो महोत्सवको आयोजना गरिएको हो ।’

उनले महोत्सव अवधिभर प्रत्येक दिन राई, लिम्बू, मगर, नेवारलगायतका जातिको मौलिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिने बताइन् । उनले भनिन्–‘यो सँगै यस क्षेत्रमा रहेका अत्यन्तै आकर्षक गन्तव्य स्थल शैलुङ डाडा, पाथीभरा देवी मन्दिरदेखि डाडा बजारको ध्वेजे डाडा, अजंगको बरको रुख, थाउजेन विग बुद्ध लगायतका स्थानको विषयमा धेरै भन्दा धेरै पर्यटकलाई जानकारी दिने र पर्यटक भित्र्याउने महोत्सवको मुख्य उद्देश्य हो  ।’ 

सिएनएनले विश्वका १२ औ गन्त्वय स्थलमध्ये भेडेटारलाई आठौ स्थानमा राखे पनि सोचेजस्तो पर्यटन प्रवद्र्धन गर्न नसकिएको कावा अध्यक्ष श्रेष्ठको भनाई छ । अहिलेसम्म गरेका प्रयास निजी स्तरबाट भएको बताउदै सरकारी स्तरबाट कुनै सहयोग नभएको उनको गुनासो छ । उनी भन्छिन्–‘भेडेटारको पर्यटन प्रवद्र्धनमा सरकारी सहयोग छैन, जति पनि भएका छन् सबै नीजि स्तरबाट भएका छन् ।’ 

सागुरीगढी गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा यो महोत्वसक कोशेढुंगा सावित हुने गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । आयोजक होटल एसोसिएसन भेडेटारका अध्यक्ष रहँदा स्थानीय सरकारबाट समेत प्रवद्र्धनमा कुनै सहयोग नभएको बताउदै आएका उनले आफू साँगुरीगढी गाउँपालिकाको अध्यक्ष भएपछि यो महोत्सवलाई ५ लाख रुपैया सहयोग गरेको बताए । उनले भने–‘भेडेटारसँगै सागुरीगढी गाउँपालिकाका सबै क्षेत्रलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने गाउपालिकाको उद्देश्य छ, सोही अनुरुप गाउँपालिकाले कार्ययोजना समेत बनाएको छ ।’  उनले  सागुरीगढीलाई स्पोर्ट टरिजमको रुपमा विकास गरेर लाने योजना रहेको बताए ।

समुन्द्री तहबाट १४२० देखि १७०५ मिटरको उचाईमा रहेको भेडेटारको मौसमले पर्यटकीय लोभ्याउने गरेको छ । छिनछिनमा मौसम सफा हुने र छिनछिनमा बादल लाग्ने यो स्थानको पहिचान नै हो । नाम्जेमा रहेको होमस्टेले भेडेटारको पहिचानमा अझ थप सहयोग पु¥याएको छ । फेस्टिबलमार्फत १ करोड बराबरको कारोबार गर्ने लक्ष्यसहित १५ देखि २० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ ।