मोरङ / विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको पाइएको छ । 

विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको हो । महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ग्राहकपिच्छे मूल्य फरक लिने गरेको समेत भेटिएको छ । मदिरामा पनि ९० प्रतिशत नाफा लिएर बिक्री गर्ने गरेको भेटिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए । 

अनुगमनका क्रममा भान्सामा फोहोर भेटिएको, पुरानो तेल प्रयोग गरिएको, कुकले सरसफाइ नगरी खाना तयारी गर्ने लगायतका कमजोरी फेला पारिएको उनले बताए ।

अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम कसुर देखिएका कारण सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ङ) अनुसार तत्काल २० हजार जरिवाना गरेको छ । उपभोक्ताबाट एयरपोर्ट रोडमा सञ्चालित रेष्टुरेन्ट र होटलहरुले अत्यधिक मूल्य लिने गरेको गुनासो आएपछि अनुगमन गरिएको पौडेलले प्रस्ट्याए ।