धरान /उद्घाटन खेलमै आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका लागि धरान फुटबल क्लबका खेलाडीहरु मंगलबार नै पोखरा प्रस्थान गरेका छन् ।

धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले विदाई गरेका थिए । उनले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । सो अवसरमा मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना दिएका थिए । उनले भने–‘धरान उपमहानगरपालिकाले खेलकुदको विकासका लागि धेरै काम गरेको छ, आगामी दिनमा उपमहानगरपालिकाले योजना र कार्यक्रम ल्याउने तयारीमा छौ ।’ 

आहा रारा गोल्डकपबाट विजेता हुनेहरुले १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही  २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए। प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले जानकारी दिए । प्रतियोगितामा वचत रकम क्लबबाट सञ्चालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

हाल तेश्रो व्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरुले आवासीय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।