धरान /   धरानलाई कालोपत्रे सडकको सहर भनेर चिनिएको छ । धरान उपमहानगरपालिकाले धरानका हरेक वडाका मुख्य सडक, गल्ली गल्ली कालोपत्रे गरेको छ । तर केही यस्ता वडाहरु छन् भर्खरैमात्र कालोपत्रे बनेका छन् । धरानका अन्य वडा कालोपत्रे हुँदा नभएका वडाहरुमा बर्षादमा हिलो, हिउँदमा धुलो उडेर हैरान भएका थिए । कालो पत्रे भएसँगै अहिले उनीहरुले राहतको सास फेरेका छन् ।

धरानको नगर गौरवको आयोजना अन्तर्गत धरानको सबै वडामा कालोपत्रे बनाउने धरान उपमहानगरपालिकाको योजना छ । यही योजना अनुसार धरान १६ नौलो बस्तीमा समेत लामो समयपछि कालोपत्रे सम्पन्न भएको छ । विगतमा कालोपत्रे सडक नहुदा धुलो र हिलोले सास्ती भोगेका सर्वसाधारणहरुले राहत महसुस गरेका छन् ।

स्थानीयबासीहरु आफै सक्रिय भएर निर्माण सम्पन्न भएको यो सडक निर्माणपछि सात आठ बर्षदेखि धुलो खाएर बस्ने बाध्यता हँटेर गएको स्थानीय भीम गिरी बताउँछन् । उनी भन्छन्–‘यहाँ पहिला कालो पत्रे थिएन, धुलोले बसिसक्नु थिएन, भर्खरै नगर गौरव योजना अन्तर्गत कालोपत्रे सडक सम्पन्न भएको छ, विगतमा भोगेको सास्ती अहिले छैन ।’

उनले सडक निर्माणमा स्थानीयहरुले समेत सक्रियता देखाएको बताए । उनले भने–‘सडकको गुणस्तरका विषयमा इन्जिनियरसँग समन्वय गर्ने, निगरानी राख्ने लगायतका काम हामी सबै टोलबासीले गरेका थियौ, निगरानी राखेकै कारण यो सडक गुणस्तरीय बनेको छ ।’

नगर गौरवको आयोजना अन्तर्गत नौलो बस्ती सडक निर्माण कार्य भनेर नगरपालिकाले यस बस्तीको सडक कालोपत्रेलाई प्राथमिकतामा राखेको थियो ।

यो कालो पत्रे सडक ५ सय ३५ मिटरको लम्बाई रहेको छ । कालोपत्रे बन्नुभन्दा अगाडि ड्रेन, एजी र सभसेसको अघिल्लो आर्थिक बर्षमा काम सम्पन्न भएको थियो । ५४ लाखमा कालो पत्रे सडक सम्पन्न भएको इन्जिनियर सौहाद्र्ध श्रेष्ठले बताए । उनले भने–‘हामीले स्थानीयसँग समन्वय गरेर द्रतु तरिकाले गुणस्तरीय सडक निर्माण गरेका छौंै, सडक निर्माण भएपछि यो वस्तीको स्वरुप नै परिवर्तन भएको छ ।’

कालोपत्रेका लागि सम्पूर्ण बजेट स्थानीय सरकार धरान उपमहानगरपालिकाको रहेको छ । स्थानीयबासी र वडा कार्यालयको प्रत्यक्ष निगरानीमा यो सडक निर्माण भएको धरान १६ का वडा सदस्य भिम लिम्बु बताउछन । उनले स्थानीय बासिन्दासँग मिलेर गुणस्तर हेरेर बनाएको कालोपत्रे सडक भएको ले गुणस्तरीयमा कुनै शंका गर्ने ठाउँ नै नभएको उनको दाबी थियो । उनले भने–‘यो नगर गौरवको आयोजना हो, यसमा वडाको बजेट परेको छैन, सबै नगरपालिकाको बजेट रहेको छ, निर्माणका क्रममा स्थानीय, वडाबासीले निगरानी गरेका थियौ, सडक गुणस्तरीय बनेको छ, लामो समयसम्म टिक्ने हामीले अपेक्षा गरेका छौं ।’

धरान नगर गौरव अन्तर्गत धरानका सबै वडाका सबै सडकहरु कालो पत्रे गर्ने योजना धरान उपमहानगरपालिकाले सारेको छ । तर अझै पनि केही वडाका सडकहरु कालोपत्रे हुन सकेका छैनन् । यसलाई पूरा गर्न धरान उपमहानगरपालिका अगाडि बढेको छ । धरानका सबै वडाका सडकहरुमा कालोपत्रे बनेपछि वडाबासीहरुले राहतको महसुस गरेका छन् ।