धरान / राष्ट्रिय आविष्कार केन्द्रलाई धरानस्थित युएन कलेजमा विज्ञान विषय अध्ययनरत विद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।
कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका ५० विद्यार्थीले शुक्रबार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरे ।

कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हेन्डका संयोजक रामबहादुर लिम्बूसँगै आविष्कार केन्द्र पुगेका विद्यार्थीले केन्द्रका अध्यक्ष डा.महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गरका हुन् ।
रकम हस्तान्तरणपछि विद्यार्थीसग कुराकानी गर्दै केन्द्रका अध्यक्ष डा.महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताए ।
उनले वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको विद्यार्थीलाई जानकारी दिए ।

विद्यार्थीसँगको अन्तरक्रियामा केन्द्रका अध्यक्ष डा. पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनु पर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । डा पुनले नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नविन सोच र योजना भएकाहरुलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिने काम केन्द्रले गर्ने बताए । विधार्थीहरुले सोधेका प्रश्नको जवाफ दिंदै पुनले इनोभेसन गर्नेहरु देशका लागि बहुमूल्य पुँजी भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरेका सबै काम जनताले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगबाट नै सम्पन्न भएको डा पुनले बताए ।
आविष्कार केन्द्रका प्रवीण बोहरा र सौरभसिंह चौधरीले केन्द्रले गरिरहेको कामको बारेमा विद्यार्थीलाई जानकारी गराएको कलेजका कोअर्डिनेटर आकाश अधिकारीले जानकारी दिए ।




















