धरान / पूर्वको प्रमुख शैक्षिक केन्द्रका रुपमा स्थापित धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्थापनाको ६७ औं वार्षिकोत्सव मनाएको छ । 

क्याम्पस प्राङ्गणमा औपचारिक कार्यक्रम गर्दै महेन्द्र क्याम्पसले आफ्ना उत्कृष्ट विद्यार्थी तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्तै वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीलाई पुरस्कृत गरेको छ । 

क्याम्पसको उन्नति र प्रगतिका लागि विद्यार्थी सङ्गठनका नेता, अविभावक, छात्रवृत्तिदाता,  जग्गादाता, विद्वान, तथा अध्यापनरत साथै सेवा निवृत्त प्राध्यापकहरुले शुभकामना मन्तव्य राखेका थिए । 

प्राडा टङ्कप्रसाद न्यौपाने, प्राडा गोपालप्रसाद भण्डारी, प्राध्यापक चन्द्रकुमार लिम्बूलगायत विशिष्ट व्यक्तित्वले मन्तव्य दिएका थिए । 

बडा हाकिम निरन्जन राणाद्वारा स्थापित यो क्याम्पस हालको पब्लिक हाइस्कुलमा ५ वटा कोठा भाडामा लिएर धरान इन्टर कलेजको नाममा सन्चालन गरिएको थियो । 

विस २०१३ सालमा उच्च शिक्षा अध्ययन, अध्यापनका लागि महेन्द्र क्याम्पस स्थापनार्थ कालीप्रसाद श्रेष्ठ तथा शक्तिकुमारी श्रेष्ठले १ बिघा ५ कट्ठा जग्गा दान गरेका थिए । 

क्याम्पसमा हाल विभित्र सङ्कायमा ५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । 

क्याम्पसले पत्रकारिता विषय अन्तर्गत आफ्नै एफएम रेडियो सन्चालन गर्ने योजना अगाडि बढाएको छ । त्यसका लागि कमिटी निर्माण गरी सम्भाव्यता अध्ययन सकेर प्रतिवेदन बुझाउने अवस्थामा पुगेको छ । 

क्याम्पसले आफ्नै कलेज बस खरिद गर्ने निर्णय समेत गरेको छ । तर कार्यान्वयनमा भने ढिलाइ भइरहेको छ । 

औपचारिक कार्यक्रममा प्रदेश १ का पूर्व प्रमुख प्राडा गोविन्द तुम्वाङको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिका रुपमा प्रदेश १ का नवनिर्वाचित सासद विजयकुमार राईको विशिष्ट आतिथ्यता रहेको थियो ।  कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख दामोदर भण्डारीले गरेका थिए ।