धरान / धरान नगरस्तरीय अन्तर विद्यालय ‘स्कुल–स्कुल एकल लोक नृत्य प्रतियोगिता २०७९’ सिजन ६ सम्पन्न भएको छ ।

युनाइटेड डान्स एकेडेमी, धरान ९ द्वारा आयोजित प्रतियोगितामा सिनियर विधा (कक्षा ६–१०) तर्फ पर्वत स्कुल धरान १९ की महिमा लिम्बू प्रथम भइन् । उनले सिल्भर क्राउनसहित ५० हजार नगद नटराज ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । 

दोस्रो हुने  धरान १३ स्थित सुनगाभा स्कुलकी अन्जली राईले २० हजार नगद ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । तेस्रो हुने आवर होम स्कुल, धरान १९ की ताङ्चुमा लिम्बूले १० हजार नगद, ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । त्यस्तै सान्त्वना पर्वत स्कुलकी युनिसा राईले नगद ५ हजारसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् ।

जुनियर (कक्षा १–५) तर्फ भिक्टोरी स्कुल, धरान ११ की लेमी राई भइन् । उनले नगद २५ हजारसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुने क्रमशः गणेश गुरुङ भिक्टोरी स्कुल, सोमिया राई धरान आदर्श र ओजस्वी निरौलाले क्रमशः नगद १० हजार, ५ हजार र ३ हजारसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरे ।

भदौबाट सुरु भएको प्रतियोगिताको अडिसनमा धरानका २५ विद्यालयका ५ सय ५ जना विद्यार्थी सहभागी थिए । अडिसनबाट फाइनलमा आइपुग्दा १२ स्कुलका सिनियरतर्फ १२ जना र जुनियरतर्फ २१ जना प्रतियोगीलाई छनोट गरिएको एकेडेमीका प्रबन्ध निर्देशक सन्तोष तामाङले जानकारी दिए ।

प्रतियोगिताको फाइनलमा नृत्य प्रशिक्षकहरु नन्दा राई, देवराज खड्का, सरस्वती योगी, मणिकुमार लिम्बू निर्णायक रहेका थिए । धरानस्थित सभागृहमा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि धरान १५ का वडाध्यक्ष नरेश इवारम थिए भने प्रतियोगिता संयोजक तृष्णा राईको सभाध्यक्षता रहेको थियो । २०७२ सालदेखि स्थापना भएको युनाइटेड डान्स एकेडेमी धरान ९ मा सञ्चालित छ ।