बराहक्षेत्र / बराहक्षेत्रको साहित्यिक विकासमा योगदान गरिरहेको स्वर्णिम साहित्य समाजले विद्यालय स्तरीय कविता प्रतियोगिता गर्ने भएको छ । नयाँ पुस्तालाई साहित्य र सिर्जनामा प्रेरित गर्ने उद्देश्यले विद्यालय कविता प्रतियोगिता गर्न लागेको स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्सालीले जानकारी दिएका छन् ।

शुक्रवार बराहक्षेत्र ३ को वडा कार्यालय भवनमा पत्रकार सम्मेलन गर्दै समाजले माघ १४ गतेदेखि बराहक्षेत्र नगरभरिका सामुदायिक र निजी विद्यालयहरु बिच प्रतियोगिता सन्चालन गर्न लागेको जानकारी गराएको हो । अडिसनका लागि भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवनस्थित  विद्यालयहरुबाट एक÷एक जना गरी १० जना कवि छनोटट गरी फाइनल राउण्ड आयोजना गरिने हुने समाजले जानकारी गराएको छ । 

आयोजकका अनुसार प्रतियोगिताका प्रथम विजेताले १० हजार, दोस्रो र तेस्रो हुनेले दुई÷दुई हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । बराहक्षेत्रका कवि प्रल्हाद पहरेदार, राजन इसारा र सविता लिम्बूले उत्कृष्ट प्रतियोगीहरु छनोट गर्ने छन् । बराहक्षेत्रमा अडिसनमार्फत कविहरु छनोट गरी उत्कृष्टलाई पुरस्कृत गर्न लागिएको यो पहिलो पटक हो ।  

दशक अघिदेखि साहित्य उत्थानमा लागेको स्वर्णिम साहित्य समाजले बराहक्षेत्रमा राष्ट्रिय स्तरका दर्जनौ साहित्यिक कार्यक्रम आयोजना गरिसकेको छ भने पूर्वान्चलस्तरीय साहित्यिक उत्सव समेत आयोजना गरेको छ । राष्ट्रिय गानका रचयिता, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, यो समयका अब्बल साहित्यिक हस्ती राजन मुकारुङसम्मका देखि देशका नाम चलेका कवि साहित्यकारलाई स्वर्णिम साहित्य समाजले आतिथ्यता गराइसकेको छ ।